दोश्रो अभियान पुरुष भलिबल चैत्रको पहिलो साता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन २८ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)- पोखरा लेखनाथ–५ स्थित मालेपाटन खेल मैदानमा आउँदो चैत्र १, २ र ३ गते दोश्रो अभियान पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । अभियान युवा क्लवको आयोजनामा क्लव तथा संघ संस्थास्तरीय भलिवल प्रतियोगिता हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । कस्की नजिकका विभिन्न जिल्लाबाट पनि सहभागिता रहने प्रतियोगिताका संयोजक जयप्रकाश थापाले जानकारी दिए । क्लबका अध्यक्ष मोहनबहादुर केसीले दोस्रो पटक हुन लागेको क्लब तथा संघ संस्थास्तरीय प्रतियोगिता भव्य रुपमा सम्पन्न गराउन सबैमा आग्रह गरेका थिए । त्यस्तै पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघका सदस्य रमेश श्रेष्ठले प्रतियोगितालाई अनुशासन पूर्वक खेललाई अगाडि बढाउन आफु लागिपर्ने बताए ।

मेट्रोसिटी हस्पिटल प्रालिको मुख्य प्रायोजकमा हुने प्रतियोगिताको बिजेतालाई नगद रु ५० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र, दोश्रो हुनेलाई नगद रु ३० हजार सहित ट्रफी, मेडल, प्रमाणपत्र रहने कुरा आयोजकले बताएको छ । त्यस्तैगरि बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट स्पाईकर, बेस्ट प्लेएर, बेस्ट स्पाईकर, बेस्ट सर्भरको विधालाई ट्रफी, प्रमाणपत्र दिईने र अनुशासित टीमलाई प्रशंसा पत्र दिईने आयोजकले जनाएको छ । विगत ११ वर्षदेखि क्लबले भलिवल, फुटबल, स्वास्थ्य, वातावरण तथा सामाजिक क्षेत्रमा कार्यहरु गर्दै आएको छ । चैत्रमा हुने भलिवल प्रतियोगिताका लागि क्लवले बाराही माविको स्वामित्वमा रहेको मालेपाटन खेल मैदानमा स्थाई भलिवल कोर्ट निमार्ण कार्य गरिरहेको छ ।