पोखरा, (खेलाडी न्युज)—युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले युवालाई खेलकुदको दिशातर्फ उन्मुख बनाउने कार्यक्रम ल्याउने तर्फ सरकारको ध्यान केन्द्रीत भएको बताएका छन् । पोखरा रंगशालामा बुधबार आयोजित स्वागत, बधाई एवं सम्मान कार्यक्रममा बोल्दै पदकको आशा गरिएको खेललाई सरकारले बजेट मार्फत सम्बोधन गर्दै युवालाई खेलकुद तर्फ प्रेरित गरिने उनले सुनाए ।
‘खेलकुदलाई उत्साह बदल्ने गरी बजेटमा सम्बोधन हुने छ ।’ उनले भने— ‘एक अंकको बजेटलाई अब दोहोरो अंकमा पुर्याउने पहलकदमी गर्ने छु ।’ बजेट मार्फत नै युवा लक्षित कार्यक्रम तथा भौतिक पुर्वाधारमा लगानी गर्ने लक्ष्य केन्द्रीय सरकारले लिएको बताए । साग खेलकुद नजिकै आएको भन्दै पदक जित्ने लक्ष्य र अभिभारा खेलाडी लिनुपर्ने भन्दै सरकारले खेलाडीलाई जिविकोपार्जन हुने बातावरण सृजना गर्ने स्पष्ट पारे ।
‘खेलाडीले खेल खेलेर जिविकोपार्जन गर्न सकिरहेका छैनन् ।’ मन्त्री विश्वकर्माले भने—‘खेलाडीको सुदुर भविष्य सुनिश्चितता गर्ने दायित्व सरकारको हो । त्यसै अनुरुप काम गर्ने संकल्प लिएको छु ।’ उनले १३ औं साग खेलकुद र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आवश्यक पुर्वाधार निर्माणलाई समयमै टुग्याउने प्रतिबद्धता दोहोर्याएका छन् ।
‘साग र राष्ट्रिय खेलकुदलाई लक्षित गरी शुरु गरिएको भौतिक पुर्वाधार निर्माण कार्य समयमै टुग्याउने छौं ।’ उनले भने—‘चालु आर्थिक वर्षभित्रै सक्ने लक्ष्यमा छौ ।’ पोखरा रंगशालाभित्र संघसंस्था तथा स्थानीयको सहयोगमा भौतिक पुर्वाधार बनिरहेकोप्रति प्रशंसा समेत गरे । पोखरा रंगशालामा राष्ट्रिय खेलकुद परिषद र स्थानीयको सहयोगमा चारवटा कोर्टसहितको अन्तराष्ट्रियस्तरको व्याडमिन्टन कभर्ड हल, संघकै पहलमा ५ वटा टेनिस कोर्ट निर्माण गरिएको छ । स्केट पार्क पनि स्थानीयकै पहलमा निर्माण गरिएको छ । आर्चरी, भलिबल प्रशिक्षण केन्द्र, बहुउद्देश्यीय कभर्ड हल परिषद मार्फत उपलब्ध गराइएको बजेटले काम अघि बढाईएको छ । पोखरा रंगशालाको फुटबल स्टेडियम, डोम र क्रिकेट मैदान पुर्ननिर्माणको चरणमा छन् ।
सम्मान कार्यक्रममा बोल्दै प्रदेश सांसद एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पुर्व अध्यक्ष दिपक कोईरालाले पोखरालाई खेल पर्यटन शहरको रुपमा विकास गर्ने लक्ष्य अब पुरा हुने विश्वास व्यक्त गरे । संयोगवश खेलकुद र पर्यटन मन्त्री पोखराकै भएको कारणले पनि अब पोखरालाई विगतदेखि भनिदै आएको स्पोर्टस टुरिज्म सिटीको रुपमा विकास हुनेमा आशावादी भएको बताए ।
पश्चिमाञ्चल क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा गरिएको कार्यक्रममा क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, बास्केटल संघका अध्यक्ष धोजकुमार गुरुङ, र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल लगायतले पोखराको खेलकुद र भौतिक पुर्वाधार विकासको बारेमा चर्चा गरेका थिए । मन्त्री विश्वकर्मालाई विभिन्न संघसंस्थाले माला एवं खादा लगाई स्वागत गरेका थिए । स्वागत पछि मन्त्री विश्वकर्माले पोखरा रंगशालाको बस्तुस्थितिको बारेमा जानकारी लिन रंगशाला परिसर घुमेका थिए ।