टुडिखेलामा ३५ उमेर समूहको माईटी शेर्पा फुटबल प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ९ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—चारदिनपछि पोखराको टुडिखेलमा ३५ वर्षमाथिको उमेर समूहको फुटबल प्रतिस्पर्धा हुदैं छ । टुँडिखेल युथ क्लव, पोलेमनपा–१ को आयोजनामा चैत १३ देखि १६ गतेसम्म माइटी शेर्पा ३५ प्लस सेभेन ए साइड फुटबल प्रतियोगिता–२०७४ हुने छ ।

नेपाल बु्रअरी प्रा.लि.ले आगामी तीन वर्षसम्म प्रतियोगिताको मुख्य प्रायोजन गर्ने छ । प्रालिका पोखरा डिलर प्रमुख राजु लुइटेलले प्रायोजन स्वरुप पहिलो वर्ष २ लाख र हरेक वर्ष रकम बढाउँदै लगिने पत्रकार सम्मेलनमा बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५५,५५५ कप, मेडल, प्रमाणपत्र, द्वितिय हुने टिमले ३३,३३३ कप, मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट गोलकिपरलाई ट्रफि तथा प्रमाणपत्रले पुरस्कृत हुनेछन् । क्वाटरफाइनलका खेलहरुबाट हरेक खेलमा म्यान अफ द म्याचलाई पनि पुरस्कृत गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

६ लाख खर्च तथा ३ लाख बचतको अनुमान रहेको प्रतियोगितामा झण्डै १५ टिमले सहभागिता जनाउने आयोजनकको अपेक्षा छ । प्रतियोगिताबाट बचेको रकम टुँडिखेलमा सञ्चालन भइरहेको इन्द्रेणी फुटबल एकेडेमीको विकासमा खर्चिने पनि सो अवसरमा जानकारी दिइयो । प्रतियोगितामा सहभागि हरेक टिमले बढिमा २ जना ३३ वर्षका खेलाडीपनि सामेल गर्न सक्ने जनाइएको छ । क्लवका उपाध्यक्ष दिलिप गुरुङ्गको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठक, प्रतियोगिता संयोजक अर्जुन गुरुङ्ग, क्लवका सल्लाहकार हिटलर घले लगायत, तथा पत्रकार मन्च कास्कीका पुर्व अध्यक्ष विनोद लामिछानेले प्रतियोगिताका बारेमा चर्चा गरेका थिए ।