गोपी र धरम टेनिसको उपाधीका लागि भिड्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १० गते २०७४ मा प्रकाशित


पोखरा (खेलाडी न्युज)—कास्की जिल्ला टेनिस संघको आयोजना तथा मेसुका स्पोर्टको संयोजनमा पोखरा रंगशालामा जारी मेसुका कप मन्थ्ली टेनिस प्रतियोगिताको उपाधीका लागि गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछाने भिड्ने भएका छन् । शनिबार भएको सेमिफाइनल खेलहरुमा जित हाँसिल गर्दै भट्टराई र लामिछानेले फाइनलको भेट पक्का गरेका हुन् ।

गोपीले विकास गुरुङ्गको चुनौती ६–३ र ६–४ ले पार लगाएका थिए भने लामिछानेले आयोजक संघका अध्यक्ष समेत रहेका विनोद कायस्थलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गरे । पहिलो सेट कायस्थले ६–४ ले आफ्नों पोल्टामा पारेका थिए । तर त्यसपछि खेलमा फर्किएका लामिछानेले दोश्रो सेट ६–२ ले तथा तेश्रो सेट सुपरटाईमा १०–३ ले जित्दै फाइनलमा स्थान बनाएका हुन् ।

प्रतियोगिताको फाइनल खेल आइतबार हुने छ । मन्थ्ली टेनिसको पहिलो संस्करणमा पनि भट्टराई र लामिछाने बीच नै उपाधी भिडन्त भएको थियो । भट्टराई प्रतियोगिताको डिफेण्डिङ्ग च्याम्पियन हुन् ।