एशियाली खेलमा पहिलो पटक प्याराग्लाइडिङ समावेश

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १२ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) — १८ औं एशीयाली खेलकुद इण्डोनेशियामा हुदैं छ । एशियाली खेलमा पहिलो पटक प्याराग्लाईडिङलाई पनि समावेश गरिएको छ । प्याराग्लाइडिङलाई पनि खेल प्रतियोगिताको रुपमा समावेश गरिएपछि पोखराका प्यारा पाईलटहरु उत्साहित भएका छन् ।

नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार एशियाली खेलमा नेपालबाट प्याराग्लाइडिङमा २ इभेन्टमा १० जना खेलाडीको सहभागिता रहने छ । प्याराग्लाइडिङको इन्डिभिजुअल एकुरेसी, टिम एकुरेसी र टिम क्रस कन्ट्री प्रतिष्पर्धाका लागि कुल १० जना खेलाडीले एशियाली खेलमा सहभागिता जनाउने छन ।

अन्तिम खेलाडी छनौटका लागि चैत १३ र १४ गते टिम एक्युरेसी इभेन्टमा प्रतिष्पर्धा गराइन लागिएको समेत उनले बताएका छन । टिम क्रस कन्ट्रीमा विश्वमा टप टेन भित्र नेपालमा नै ६ जना खेलाडी समेत रहेको उनको भनाई थियो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले एशियाली खेलमा प्याराग्लाइडिङ खेलमा नेपालले सहभागिता जनाउने बताए । “हामीले कम्तिमा १७ र वढीमा २१ खेलमा सहभागिता जनाउने बारे नेपाल ओलोम्पिक कमिटीमा पत्राचार गरेका छौ” उनले भने–“हामी अनावश्यक खर्च हुने गरी भन्दा पनि प्रदर्शनी आधारमा सकेसम्म मेडल ल्याउने नभए टप टेन भित्र पर्ने गरि तयारी गरेका छौं ।”

एशियाली खेलमा ४५ देशले सहभागिता जनाउने भए पनि प्याराग्लाइडिङ तर्फ ३० भन्दा वढी देशको सहभागिता रहने अपेक्षा गरिएको छ । हाल प्याराग्लाइडिङ खेल पोखरा, स्याङजा, धरान र सुर्खेत हुने गरेको छ । पोखरामा मात्रै ६० भन्दा वढी प्याराग्लाइडिङका व्यवसायिक कम्पनीहरु रहेका छन ।