हरिश्वर— ‘अनुशासित—गुरुप्रति समर्पित’

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १५ गते २०७४ मा प्रकाशित


राजन पौडेल—आत्मरक्षाको लागि धेरै खेल छन् । धेरै मार्शल आर्ट मध्ये अधिकांशको रोजाईमा पर्ने गरेको छ तेक्वान्दो । तेक्वान्दोले कुनै समय नेपाली खेलकुदलाई अन्तराष्ट्रिय छविमाझ चिनाएको थियो । आठौं साग नेपालमा हुदाँ तेक्वान्दोमा अधिकांश पदक जित्दै साफ च्याम्पियनसिपमा नेपाल दोस्रो स्थानमा उक्लिएको थियो ।

साग गेम्समा पदक जित्ने आशा गरिएको खेल नै तेक्वन्दो हो । तेक्वान्दोसँगै अन्य विधाका खेलहरु पनि छन् । त्यसैले पनि धेरैको रोजाईमा तेक्वान्दो नै पर्छ । मोफसलमा तेक्वान्दो सिकेर राष्ट्रिय छवि बनाउन भने निकै कठिन छ । मोफसलमा रहेर प्रशिक्षण लिई राष्ट्रिय र अन्तराष्ट्रिय एरिनामा उत्रिनु कुनै जोक थिएन् । आफनै बलबुतामा राष्ट्रियस्तरमा पदक ल्याउनु चानचुने कुरा थिएन् । सहभागि हुन पाउनु नै उपलब्धी ठानिथ्यो । तर पदक नै जितेर फर्किनु त सम्भवप्राय थिएन् ।

लामो समय तेक्वान्दोमा विताएका पोखराका हरिश्वर पोखरेल पनि उस्तै हस्ती हुन् । जसले मोफसलमा रहेर पनि राष्ट्रियस्तरमा तेक्वान्दोमा आफनो पहिचान बनाएका छन् । हुन त उनको पदकको हिसाबले हेर्ने हो भने सबैभन्दा ठूलो उपलब्धी काठमाडौंमा आयोजित राष्ट्रिय बर्थ डे कपमा तेक्वान्दोमा स्वर्ण जित्नु हो । मोसफलमा रहेर तेक्वान्दोमा त्यो पदक जित्नु उनको लागि निकै गर्विलो क्षण भएको सुनाउँछन् ।

तर उनी आफनै गृह जिल्लामा आयोजित दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा केवल सहभागितामा मात्रै चिक्त बुझाउनु सबैभन्दा खराब क्षण थियो । पदकको आशा गरेपनि निराशामा परिणत हुन पुग्यो । २०४१ सालमा धनगढीमा आयोजित तेक्वान्दो राष्ट्रिय प्रतियोगितामा भने उनले कास्य पदक जितेका थिए । जुन उनको राष्ट्रिय प्रतियोगितामा पाएको ठूलो उपलब्धी थियो । २०४४ सालमा पनि उनले बीरगन्जमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगितामै तेस्रो पदकमै चिक्त बुझाउँदै पोखरा फर्किए ।

सन १९८९ मा अन्तराष्ट्रिय मैत्रीपूर्ण तेक्वान्दो खेलमा उनले सहभागि हुदैं दोस्रो स्थान पाउनु जीवनकै सबैभन्दा ठूलो उपलब्धीको रुपमा रह्यो । अन्तराष्ट्रिय एरिनामा आफनो उपस्थितिलाई दरिलो नबनाएका होईनन् उनले । तर उपलब्धी भने खासै प्राप्त गर्न भने सकेनन् । सन १९८६ मा कोरियामा भएको एशियन गेम्समा तेक्वान्दोमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाए । जुन उनको लागि अनुभव प्राप्त गर्ने अवसरको रुपमा परिणत हुन पुग्यो ।

वि.सं २०२० श्रावण् २३ गते जन्मिएका पोखरेल पोखराको तेक्वान्दो खेलका लेजेण्ड हुन् । खेलकुदप्रतिको रुचीलाई उनलाई तेक्वान्दोमा प्रेरित गर्यो । तेक्वान्दो प्रशिक्षणसँगै उनी अहिले आफनो व्यवसायिक प्रतिष्ठानमा संलग्न हुदैं जीवनको गोरेटोलाई अगाडि बढाईरहेका छन् ।

सन १९८६ मा कोरियामै तेक्वान्दो दुई महिने डिप्लोमा कोर्ष गरी फर्किएका पोखरेल अहिले पनि युवापुस्तालाई तेक्वान्दो प्रशिक्षणमा व्यस्त रहन्छन् । आफना गुरु स्व. अर्जुन गुरुङबाट प्रेरित हुदैं तेक्वान्दो प्रशिक्षण लिदैं खेलमा होमिएका पोखरेलले काठमाडौंमा गुरुकै नाममा अर्जुन फिटनेस सेन्टर सञ्चालन गरेका छन् । आफनै फिटनेसमा युवापुस्तलाई तेक्वान्दो प्रशिक्षण गराउँदै आएका छन् ।

पोखरास्थित गण्डकी टायर एण्ड ट्रेडका निर्देशक, आमा भेञ्चर कम्पनीका अध्यक्ष समेत रहेको पोखरेल नेपाल तेक्वान्दो संघका उपाध्यक्ष समेत हुन् । तत्कालिन छिनेडाडाँ गाविस हालको पोखरा लेखनाथ महानगरपालिका १४ मा पिता बिन्देश्वर पोखरेल र माता मिठु कुमारीको कोखबाट जन्मिएका हरिश्वर नेपाली तेक्वान्दो खेल क्षेत्रमा निकै शालिन र भद्र स्वभावका खेलाडी तथा प्रशिक्षको रुपमा लिईन्छ ।