विराटनगर ३३ रनले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र १८ गते २०७४ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)—विराटनगर किग्सलाई १३५ रनमा समेट्दै मेहन्न्द्रनगर युनाईटेडले ३३ रनको जित निकालेको छ । अभिानस कर्णले तीन ओभरमा तीन विकेट र पी मेहरा, भुवन कार्की र आर क्षत्रीले समान दुई दुई विकेट लिएपछि विराटनगरलाई सस्तैमा समेटिएको थियो ।

१६९ लक्ष्य पछ्याएको विराटनगर किंग्सको पारीमा उत्कृष्ठ प्रदर्शन पृथु बास्कोटाको रह्यो । उनले ३५ रन बनाउने क्रममा ३९ बल खेले । त्यसपछि हङकङका कप्तान बावर हायातले पनि ३२ रन बनाउँदै उत्कृष्ठ शुरुवात गर्ने संकेत देखाएका थिए । दिलिप नाथ र ए.के साह १० र २३ रनमा पवेलियन फर्किएपछि बाबवर र पृथुले इनिङ सम्हाल्दै अगाडि बढाएका थिए ।
पी सरार्फ र बसन्त रेग्मी शून्यमै पवेलियको बाटो समाए । कप्तान पारस खड्काले पनि १६ रनको योगदान भन्दा बढी दिन सकेनन् । उनी मेहराको बलमा भुवन कार्कीद्वारा क्याचको शिकार हुदैं पवेलियन फर्किए ।

धनगढी प्रिमियर लिग क्रिकेटको आजको दोस्रो दिन टस जितेर महेन्द्रनगर युनाईटेडले विराटनगरलाई जितको लागि १६९ रनको लक्ष्य दिएको थियो । महेन्द्रनगर युनाईटेडले पुनित मेहराको महत्वपूर्ण इनिङ्समा पाँच विकेटको क्षतिमा १६८ रन बनायो । मेहराले १८ बल खेल्दै दुई चौका र तीन छक्का हान्दै ३८ रनमा नटआउट रहे । म्यान अफ दि म्याचको हकदार समेत भए ।

ओपनर विनोद भण्डारीले महत्वपूर्ण इनिङमा खेल्ने क्रममा ३५ रन जोडे । ३५ रन बनाई कमतको बलमा आउट हुनु अघि भण्डारीले पाँच चौका र एक छक्का हान्न २९ बल सदुपयोग गरे । उनलाई नेपाली क्रिकेट जगतमा हिटरको उपनामले समेत चिनिन्छन् । पी.विष्टले पनि २४ रन बनाउन १४ बल खेले । विराटनगरका कप्तान पारस खड्काको बलिङको शिकार हुने क्रममा उनी पी बास्कोटाको हातबाट क्याच आउट भए ।

आसिफ शेखलाई उनीभन्दा अघि ९ रनमा गुमाएको थियो । एच. साहले १९ रन बनाई पवेलियन फर्किने क्रममा पारस खड्काले क्याच गरिदिए । आरिफ शेख पनि २० रनमा पवेलियनको बाटो लिदैं क्रिजबाट बाहिरिए । उनको व्याटबाट फुत्किएको बल विकेट किपर दिलिपनाथको हातमा पुग्यो । रोहितकुमार पौडेलले साथ दिने क्रममा ९ रनमा नटआउट रहे । एम श्रेष्ठले दुई विकेट लिए भने पारस खड्का, एस कामतले एक एक विकेट लिए ।