रुपन्देहीको चौथो हार, महेन्द्रनगर युनाईटेडको दोस्रो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २२ गते २०७४ मा प्रकाशित


won by 4 wicket

धनगढी(खेलाडी न्युज) महेन्द्रनगर युनाइटेडले रुस्लान धनगढी प्रिमियर लिगको दोस्रो सिजनको आजका खेलमा दोस्रो जित हात पार्ने क्रममा रुपन्देही च्यालेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । रुपन्देहीको यो लगातार चौथो हार हो ।

दोस्रो जित निकालेको महेन्द्रनगर युनाईटेड भने दोस्रो स्थानमा छ । काठमाडौं गोल्डेन्स भने तीन खेल जित्दै लिगको शीर्ष स्थानमा छ । म्यान अफ दि म्याच महेन्द्रनगरका पुनित विष्ट भए । महेन्द्रनगर युनाइटेड, विराटनगर किङ्स र र टिम चौराहा धनगढ़ीको समान ४ अंक भएपनि नेट रन रेटको आधारमा महेन्द्रनगर दोस्रो स्थानमा उक्लेको छ भने अहिलेसम्म ४ खेल खेल्ने क्रममा कुनै खेल जित्न नसकेको रुपन्देही अंक तालिकाको पुछारमा छ । अब एक खेलमात्र खेल्न बाँकी रहेको रुपन्देहीको प्ले(अफमा पुग्ने गणितीय सम्भावना सकिएको छ ।

रुपन्देही च्यालेंजर्सले दिएको १ सय ४५ रनको लक्ष्य महेन्द्रनगर युनाइटेडले १८.५ ओभरमा ६ विकेट पुरा गरेको थियो । महेन्द्रनगरका ओपनर आसिफ शेख ५ र तेस्रो नम्बरमा ब्याटिङ् गर्न आएका करण केसी शुन्यमै आउट भएपनि अर्का ओपनर पुनित बिष्ट र कप्तान बिनोद भण्डारीले ३१ बलमै ५७ रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई जित तर्फ उकासे । बिष्टले २२ बलमा ४५ रन बनाउदै सुसन भारीको बलमा बोल्ड भएका थिए ।

महेन्द्रनगरका हरिशंखर साह शुन्य र आरिफ शेख ४ रन बनाउदै आउट भए । १६ रन प्रहार गरेका पुनित मेहरा र ७ प्रहार गरेका रोहित कुमार पौडेल नट आउट रहे । महेन्द्रनगरका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ६१ रन प्रहार गरेका थिए । बलिङ्तर्फ रुपन्देही च्यालेंजर्सका लागि सुसन भारी श्रेष्ठ र दिपेश श्रेष्ठले २-२ विकेट लिए भने सागर पुनले एक विकेट लिए ।

टस जितेर ब्याटिङ गर्न उत्रेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४४ रनको सम्मानजनक स्कोर बनाएको थियो । इनिंगको चौथो ओभरमै ११ रनको स्थितिमा सोनु अन्सारीलाई व्यक्तिगत २ रनमै गुमाएको रुपन्देहीका अर्का ओपनर प्रदिप एरी र यु-१६का खेलाडी कुशल मल्लले ५१ रनको साझेदारी गर्दै टोलीको स्कोर ६२ रनको स्थितमा पुर्याएका थिए ।

प्रदिपले ३२ बलमा ३९ तथा कुशलले २२ बलमा १५ रन प्रहार गरेका थिए । अगिल्लो खेलहरुमा ठुलो स्कोर बनाउन नसकेका सागर पुन पुनस् १६ बलमा २८ रन बनाउदै आउट भए । उनले २ छक्का र १ चौका प्रहार गरेका थिए। अन्य ब्याट्सम्यानहरु दिपक प्रशादले १७, सुफ्याँन महमुद, सुसन भारी र अमर सिंह राउटेलाले ९-९ रन प्रहार गरे भने शक्ति गौचन ३ रन प्रहार गर्दै नट आउट खेले । महेन्द्रनगर युनाइटेडका लागि पुनित बिष्टले ४ ओभर बलिङ् गर्दै ११ रन खर्चेर ४ विकेट लिएका थिए । महेन्द्रनगरका पुनित म्यान अफ दि म्याच घोषित भए ।