अमेरिकन गल्फर प्याट्रिक रिड माष्टर्स गल्फ च्याम्पियन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २६ गते २०७४ मा प्रकाशित


एजेन्सी—अन्तिम दिन एक अण्डर ७१ को पार खेल्दै अमेरिकन गल्फर प्याट्रिक रिडले एक स्ट्रोकको लीड राख्दै माष्टर्स कपको उपाधि जितेका छन् । ७२ होलको समाप्तीमा उनले समग्रमा १५ अण्डर २७३ को कार्ड बनाउँदै च्याम्पियन बनेका हुन् ।

अन्तिम दिन बोगीबाट शुरु गरेको उनले फ्रन्ट नाईन लेभल पार खेले । व्याक नाईनमा पनि बोगी नै खेप्दै टुग्याउँदा अन्तिममा दुई होलमा बर्डि हिर्काउँदै एक अण्डर ७१ को स्कोरमा टुग्याउँदा उपाधि निश्चित बनिदियो । अघिल्लो दिन तीन स्ट्रोकले लीड गरेका थिए ।

अमेरिकाको अगष्ट पार्कमा सम्पन्न माष्टर्स गल्फको दोस्रो स्थानमा भने अर्का अमेरिकन गल्फर रिकी फाउलेर आईपुगे । उनले १४ अण्डर २७४ को कार्ड बनाउँदै दोस्रो स्थानमा रहेर माष्टर्स गल्फ टुग्याए । अन्तिम दिन उनले भने फ्रण्ट नाईनमा पाँचौ होलमा बोगी खेप्दा आठौं र नवौंहोलमा बर्डि हिर्काइ एक अण्डर र व्याक नाईनमा भने चार होलमा बर्डि हिर्काउँदै चार अण्डर खेले । ७२ पार टुग्याउँदा पाँच अण्डर ६७ मा रहेर दोस्रो स्थानमा उक्लिदैं रिड भन्दा एक स्ट्रोकले पछि परे ।

तेस्रो स्थानमा पनि अमेरिकन गल्फर जोर्डन स्पिथ आईपुगे । दोस्रो र तेस्रो दिन लय गुमाएका उनले अन्तिम दिन निकै सुधारिएको खेल खेले । उनीले फ्रण्ट नाईटमा पाँच अण्डर रहँदा व्याक नाईनमा भने अन्तिम होलमा बोगी खेपे । यद्यपी ८ अण्ड ६४ को अवस्थाले समग्रमा १३ अण्डर २७५ को कार्डमा रहदैं तेस्रो स्थानमा चिक्त बुझाए । स्पेनका जोन राहम ११ अण्डर २७७ को कार्ड बनाई चौथो स्थानमा रहन सफल भए ।

अष्टेलियाका क्यामरोन स्मिथ र अमेरिकाका बुब्बा वाट्सन, स्वीडिस हेनरिक स्टेन्सन र नर्दन आईरिसका रोरे म्याकरोय समान ९ अण्डर २७९ को कार्डमा रहँदै समान पाँचौ स्थानमा रहे । पुर्व च्याम्पियन अमेरिक गल्फर टाईगर उड भने ३२ औं स्थानमा रहे । उनले प्रतियोगितामा एक ओभर २८९ को कार्ड बनाई प्रतियोगिता टुग्याए ।