संगम शुभकामना कपबाट बाहिरियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ४ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पाँचौ शुभकामना कपबाट संगम एफसी बाहिरिएको छ । हेमजा युनाईटेडको आयोजनामा मंगलबार पहिलो खेल विश्वास श्रेष्ठले ह्याट्रिक गरेपछि पाहुना टोली स्याङजा युनाईटेडले क्वाईटरफाईनलको यात्रा तय गर्दा संगमले नसोचेको परिणाम आत्मसात गर्न बाध्य बन्यो । संगम एफसीलाई ४—० ले पराजित गर्दै स्याङजा अन्तिम आठमा सुरक्षित हुदाँ एलजी एशोसियसन र नवआदर्श सामुदायिक विकास समाज बीचको खेल स्थगित भएको थियो ।

हेमजा युनाईटेडको आयोजनामा सञ्चालित गौरीशंकर खेलमैदानमा भएको प्रतियोगितामा विश्वास श्रेष्ठले प्रतियोगिताको दोस्रो ह्याट्रिक गर्ने क्रममा ३५, ४१ र ४८ औं मिनेटमा गोल गरे । अर्को गोल भने ६५ औं मिनेटमा टिकाराज गुरुङले गर्दै टोलीलाई फराकिलो जित दिलाउने भूमिका खेले । श्रेष्ठले म्यान अफ दि म्याचको पुरस्कार स्वरुप ट्रफी र नगद १५ सय रुपैयाँ थापे ।

पाँचौ सस्करणको शुभकामना कपको अन्तिम प्रिक्र्वाटर फाईनल खेल भने बुधबार विहान खेलाईने आयोजक हेमजा युनाईटेड क्लबका अध्यक्ष ईन्द्रप्रसाद त्रिपाठीले जानकारी दिए । खेल विहान खेलाईने छ भने दिउँसो पहिलो क्र्वाटरफाईनल हेमजा ११ एले इन्द्रेणी एकीकृत विकास केन्द्रसँग खेल्ने छ । दोस्रो क्र्वाटरफाईनल खेल भने अमरसिंह व्वाईज क्लबले सहारा क्लबसित प्रतिस्पर्धा गर्ने छ ।

आगामी ८ गते समापन हुने प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैय सहित ट्रफी उचाल्ने छ । उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैया ट्रफि, पदक र प्रमाण पत्रमा चिक्त बुझाउने छ । प्रत्योगितामा सर्वोकृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फिल्डर, स्ट्राईगर, उच्च गोलकर्ता खेलाडीलाई पुरस्कार प्रदान गरिने छ । सर्वोकृष्ट खेलाडीलाई सात हजार ट्रफी र अरुलाई पाँच÷पाँच हजार र ट्रफीको व्यवस्था गरिएको छ। त्यस्तै अनुशाशित टिमलाई नगद १० हजार र ट्रफि प्रदान गरिने आयोजक हेमजा युनाईटेडले जनाएको छ ।