सर्वाधिक राशीको सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ६ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखराको अमरसिंह चौरमा पोखराकै सर्वाधिक पुरस्कार राशीको सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ । गत साता मात्रै त्यही मैदानमा एलजी सेभेन ए साईड फुटबल प्रतियोगिता समापन गरिएको थियो ।

बौद्ध शान्ति क्लव, पोेखरा–१०, रामघाटको आयोजनामा बिहीबारदेखि शुरु भएको प्रतियोगितामा सेती ब्वाईजलाई मसिना क्लबले पेनाल्टीमा ३—२ गोल अन्तरले पराजित गर्दै सुखद शुरुवात गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा भएको थियो ।

‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वास्थ्य र अनुशासित समाज निर्माण गरौं’ भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा ४२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी विजेता टिमले हाल सम्मकै सर्वाधिक ठूलो धनराशीको पुरस्कार नगद २ लाख २५ हजार सहित शिल्ड पदक तथा प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छ । दोश्रो स्थान हाँसिल गर्ने टिमले नगद १ लाख १ हजार १ सय ११ रुपैया सहित शिल्ड पदक प्रमाण पत्र पुरस्कार प्राप्त गर्ने क्लबले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेण्डर, सर्वाधिक गोलकर्तालाई नगद ५ हजार सहित ट्रफि तथा अनुशासित टोलीलाई ट्रफि प्रमाणपत्रले पुरस्कृत गरिने क्लबका अध्यक्ष रोशन गुरुङले बताए । हजुरआमा स्व.विष्णुकुमारी गुरुङ्गको स्मृतीमा उनैको नामबाट यो प्रतियोगिता आयोजना गरिएको छ ।

प्रतियोगिताको बचत रकमबाट रामघाट फुटबल एकेडेमी शुरु गर्ने लक्ष्य राखिएको छ । प्रतियोगिताबाट करिब २ लाख बचत हुने अनुमान गर्दै बचत रकमबाट रामघाटमा फुटबल एकेडेमिको शुरुवात गर्ने क्लबको लक्ष्य छ । पोखरामा विभिन्न संघसंस्थाले फुटबल एकेडेमी सञ्चालन गर्दै आएका छन् । फुटबल विकासमा टेवा पु¥याउने उद्देश्यसहित आयोजित प्रतियोगिताको जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बैनबहादुर क्षत्रीले उदघाटन गरे ।

प्रतियोगिता उद्घाटन गर्दै क्षत्रीले स्वास्थ्य र कुलतमुक्त समाज निर्माणका लागि खेलकुदको महत्व हुने बताए । खेलुकदसंगै सभ्य समाज निर्माणमा युवाहरुको भूमिंका रहने बताउँदै रोजगारीका लागि विदेशीने हजारौं युवालाई देशमै रोजगार दिन सकिए युवा शक्ति नेपालमै बसेर राष्ट्रनिर्माणमा लाग्ने उनको भनाई थियो ।

समारोहमा बोल्दै नेपाल सेभेन ए साइड फुटबल महासंघका अध्यक्ष नविन पुनले सेभेन ए साइड फुटबलले खेलाडी तथा रेफ्रीहरुलाई व्यवसायिक बनाउँदै लगेको बताए । उनले सेभेन ए साइड फुटबलको विकासका लागि संस्थागत सहयोग गर्ने प्रतिबता जाहेर गरे । त्यस्तै कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ्गले खेलाडीलाई व्यवसायिक र दक्ष बनाउनका लागि कास्कीले छुट्टै फुटबल टिम निर्माण गर्ने तयारीमा रहेको बताए ।

आयोजक क्लवका अध्यक्ष रोशन गुरुङ्गको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा स्व.विष्णु गुरुङ्गका परिवारको तर्फबाट जंगबहादुर गुरुङ्ग, क्लवका उपाध्यक्ष सागर गुरुङ्ग, सदस्य अशोक न्यौपाने लगायतले बोेलेका थिए ।