एकेडेमी—फुटबल विकासमा नयाँ आयाम

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ८ गते २०७५ मा प्रकाशित


धन बस्नेत, पोखरा(खेलाडी न्युज)-फुटबलको विकास ग्रासरुटबाटै शुरु गर्नुपर्छ । ग्रासरुटबाटै फुटबलको प्रशिक्षण शुरु गरे दीर्घकालमा नजिता निस्कन सक्छ । यही हेतुले कास्कीमा विभिन्न क्लबले आफनै फुटबल एकेडेमी शुरु गरेका छन् । मोसफलकै चर्चित एवं प्रतिष्ठित क्लब सहाराले लामो समयदेखि आवासहितको फुटबल एकेडेमी चलाईरहेको छ । दोस्रो चरणको एकेडेमी पनि झण्डै दशवर्ष वितिसकेको छ । एकेडेमीमा २८ जना खेलाडीहरुले फुटबलमा आफनो भविष्य कोर्ने लक्ष्यमा छन् । पढाईपनि सँगै बढाईरहेका छन् ।

विभिन्न जिल्लाबाट ती बालखेलाडीलाई ल्याई सहाराले एकेडेमीमा राखेको छ । वर्षेनी आयोजना गर्ने आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको बचत रकम एकेडेमीलाई खर्चिदैं आएको छ । त्यसबाहेक विभिन्न संघसंस्थाले समेत एकेडेमीको लागि सहयोग गर्दै आएका छन् । सहारा एकेडेमी बाहेक अन्य भने आवासिय होईनन् ।

सहारा क्लबसँगै पश्चिमाञ्चल फुटबल टे«निङ सेन्टर, ईन्द्रेणी एकिकृत विकास केन्द्र, एलजी एशोसियसन, विष्णुपादुका क्लब हेमजा, हेमजा युनाईटेडको आफनै एकेडेमी छ । नयाँ वर्षसँगै कास्की जिल्ला फुटबल संघले पनि फुटबल एकेडेमी शुरु गरेको छ । एकेडेमीमा यु—१० देखि १६ वर्षसम्म उमेर समूहको खेलाडी छन् । अधिकांश एकेडेमीमा यु—१०, १२ र १४ वर्ष उमेर समूहका छन् ।

सहारा एकेडेमीलाई एक वर्ष राजेन्द्र तामाङले फुटबल प्रशिक्षण गराए । उनी ए लाईसेन्स प्राप्त प्रशिक्षक हुन् । उनले प्रशिक्षण गराउनु अघि एकेडेमीलाई प्रशिक्षक किरण श्रेष्ठले प्रशिक्षण गराउँथे । एकेडेमीको शुरुवातको चरणमा नेपाली फुटबलका पुर्व राष्ट्रिय खेलाडी एवं क्लब प्रशिक्षकको जिम्मेवारी समेत सम्हालिसकेका डम्बरसिंह गुरुङले प्रशिक्षण गराएका थिए ।

प्रशिक्षक तामाङले अहिले कास्की जिल्ला फुटबल संघले शुरु गरेको एकेडेमीमा प्रशिक्षण गराउँदै आएका छन् । आफनै पश्चिमाञ्चल फुटबल टे«निङ समेत सञ्चालन गर्दै आएका छन् । उनीको टे«निङ सेन्टरलाई आफनै भाइ दिपेन्द्र तामाङले प्रशिक्षण गराउँछन् । दिपेन्द्र पनि नेपाली फुटबलका पुर्व राष्ट्रिय खेलाडी हुन् । ‘एकेडेमीलाई दीर्घकालसम्म निरन्तरता दिन सकिए फुटबलमा नयाँ आयामसँगै फट्को मार्न सक्छ ।’ प्रशिक्षक राजेन्द्र तामाङले भने—‘तर क्षणीक रुपमा गर्ने एकेडेमीले फुटबलको विकास भने हुदैन् ।’ प्रत्येक एकेडेमीमा विभिन्न उमेर समूहका ४५ भन्दा बढी खेलाडीहरु आवद्ध छन् ।

हेमजा युनाईटेडको एकेडेमीलाई रेफ्री संघमा आवद्ध राजु कुँवरले प्रशिक्षण गराउँदै आएका छन् । उनी सी लाईसेन्स प्राप्त प्रशिक्षक हुन् । विष्णु पादुका क्लब तल्लो हेमजाको एकेडेमीमा सविन श्रेष्ठले प्रशिक्षण गराउँछन् । ईन्द्रेणी एकिकृत विकास केन्द्रको एकेडेमीलाई पोखराबाट खेल्दै आएका अन्जन देवकोटा र दिलिप गुरुङले प्रशिक्षण दिदैं आएका छन् । एकेडेमीमा ४५ जना खेलाडी रहेको कास्की जिल्ला फुटबल संघका सदस्य समेत रहेको केन्द्रका साधारण सदस्य हिटलर घलले बताए ।

एलजी एशोसियनसनको एकेडेमीलाई भने सिनियर खेलाडी विश्व गुरुङले प्रशिक्षण दिदैं आएका छन् । रुस्लान थ्री स्टारका खेलाडी विष्ण गुरुङले समेत एकेडेमी शुरु गरेका थिए । तर अहिले बन्द गरे । उनी अहिले कास्की जिल्ला फुटबल संघकै एकेडेमीमा प्रशिक्षण गराउँदै आएका छन् । पुर्व राष्ट्रिय खेलाडी पुष्प केसीले समेत पोखराको मालेपाटनमा एकेडेमी सञ्चालन गरेका छन् । क्यानडा बस्ने उनले पोखरा आएको अवस्थामा प्रशिक्षण गराउने गरेका छन् ।

लक्ष्य राष्ट्रिय खेलाडी, स्तरीय टिम
सबैलाई फुटबल खेल्ने रहर भने पक्कै हुन्छ । रहरले मात्रै फुटबल खेलाडी भने भईदैन् । त्यसको लागि नियमित प्रशिक्षणको खाँचो छ । नियमित प्रशिक्षणले खेलाडीको क्षमतामा निखारता ल्याउँछ । प्रशिक्षण गराउँदै आएको एकेडेमीबाट पोखराको गतिलो टिम बनाउन समेत सकिने प्रशिक्षकहरुको भनाई छ ।

खेलाडीको लागि राष्ट्रिय लिग महत्वपूर्ण हो । तर लिग नभएको लामो समय भयो । कुनै समय लिगमा पोखराको खेलाडीको उपस्थिति निकै बाक्लो थियो । तर लिग नहुदाँ खेलाडीको स्तर कमजोर बन्दै गएको छ । मोसफलमा आयोजना हुने फुटबल प्रतियोगिताले खेलाडीलाई फुटबलमा जोडिराखेको छ । ‘एकेडेमी सञ्चालन मात्रै होईन पोखरामा स्तरीय प्रतियोगिता नियमित रुपमा गर्नुपर्छ । समय तालिका मिलाई आयोजना गरिने प्रतियोगिताले खेलाडीलाई फुटबलमै ‘इन्भल्व’ गराईराख्छ ।’ कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले भने ।

उनले फुटबल संघले शुरु गरेको एकेडेमीबाट स्तरीय खेलाडी निकाल्दै संघकै छुट्टै टिम नै बनाउने योजना रहेको सुनाए । ‘खेलाडीलाई संघमा आवद्ध गराई निश्चित पारिश्रमिक दिएर संघको टिम बनाउने लक्ष्य छ’ उनले भने—‘त्यसै अनुरुप हामीले नयाँ वर्षदेखि नै एकेडेमी शुरु गरेका हौं ।’ नेपाली फुटबलको राष्ट्रिय टोलीमा पोखराबाट धेरैले नाम लेखाईसकेका छन् । अबको पुस्ताले पनि एकेडेमी मार्फत फेरी पुरानो छविलाई उकास्ने लक्ष्य लिइएको छ ।

एकेडेमी बीच मैत्रीपूर्ण खेल
एकेडेमीमा केवल निरन्तर प्रशिक्षण मात्रै होईन् । खेलाडीको प्रतिभालाई निखार्न एकेडेमी बीच मैत्रीपूर्ण प्रतियोगिता गर्ने अवसर सृजना गर्नुपर्छ । एकले अर्कोसँग खेल्दा खेलाडीको आफनो क्षमतासँगै कमजोरी पक्ष समेत केलाउन सकिन्छ । सहारा एकेडेमी गतवर्ष पोखरा रंगशालामा आयोजित विद्यालयस्तरीय फुटबल प्रतियोगितामा संलग्न भएको थियो । आफैं पढ्ने विद्यालयबाट एकेडेमीले आफनो स्तरीयता परीक्षण गरेको थियो ।

पश्चिमाञ्चल फुटबल टे«निङ सेन्टरले पनि हेमजामा आयोजित शुभकामना कप नकाउट फुटबल प्रतियोगितामा उपस्थिति जनायो । प्रतियोगितामा एकेडेमीका यु १६ का खेलाडीहरु संलग्न थिए । गौरी शंकर खेलमैदानमै सेन्टरले केही महिना अघि काठमाडौंबाट आएको एकेडेमीसँग समेत फुटबल प्रतियोगिता खेल्यो ।

एकेडेमी बीच वर्षेनी मैत्रीपूर्ण खेल खेलाउनुपर्छ । भातृत्वको लागि खेलाउन जरुरी छ । ‘सिकाउने मात्रै नभई खेलाडीको कमजोरी के छ भन्ने पत्ता लगाउन मैत्रीपूर्ण खेल खेलाउन जरुरी हुन्छ ।’ प्रशिक्षक राजेन्द्र तामाङले भने—‘ एकोहोरो सिकाई भन्दा पनि ‘फ्रेण्ड्ली म्याच’ ले अझ बढी सिकाउँछ ।’ पोखरामा भईरहेको एकेडेमी बीच मैत्रीपूर्ण खेलको विकास भईसकेको छैन् ।

फुटबल प्रतियोगिताको खाँचो
पछिल्लो समय पोखरामा फुटबल खेलाडी तथा अफिसियल निकै व्यस्त बनेका छन् । सेभेन ए साईड फुटबल प्रतियोगिता भईरहेका छन् । जसले खेलाडीलाई व्यस्त बनाई रहेको छ । २०७४ सालको आँकडलाई नियाल्ने हो भने पोखरामा चार ठूला प्रतियोगिता भए । सेभेन ए साईड फुटबल प्रतियोगिता २० वटा भए । क्लबस्तरीयसँगै भेट्रान्स सेभेन ए साईड फुटबल प्रतियोगिताले समेत गतवर्ष प्राथमिकतामा प¥यो । पोखराको बगर भाईखलकले ८ ए साईड गर्दै आएको छ । गत वर्ष नै पोखरामा १२ औं दक्षिण एशियाली सेभेन ए साईड फुटबल प्रतियोगिता समेत आयोजना गरिएको थियो ।

‘सेभेन ए साईड फुटबल प्रतियोगिताले खेलाडीलाई व्यस्त बनाएको छ’ कास्की जिल्ला रेफ्री संघका अध्यक्ष शुशिल केसीले भने—‘खेलाडी व्यस्त हुदाँ आफनो क्षमतासँगै फिजिकल फिटनेस समेत रहन्छ ।’ सेभेन ए साईड फुटबल पछिल्लो समय मनोरन्जनको लागि खेलिने प्रतियोगिताको रुपमा विकास हुदैं गएको ठम्याई समेत फुटबलप्रेमीले गरेका छन् ।

नयाँ वर्षको शुरुवातमै हेमजा युनाईडको शुभकामना कप नकाउट फुटबल प्रतियोगिताबाट शुरु भएको फुटबल गतिविधि माघमा सहारा क्लबले आयोजना गरेको आहा रारा गोल्डकपको १६ औं सस्करणको प्रतियोगितामा पुगेर टुंगियो । वर्षेनी सेभेन ए साईड फुटबल प्रतियोगिता गर्दै आएको संगमले गत मंसिरमा पोखरा रंगशालामा तेस्रो सस्करणको संगम कप थाल्यो । कास्की जिल्ला फुटबल संघले असारमा बलराम स्मृति जिल्ला लिग आयोजना ग¥यो । अब एलजी एशोसियसनले पनि सेभेन ए साईडबाट माथि उठ्दै क्लबस्तरीय प्रतियोगिता गर्ने जमर्को गरिसकेको छ ।

आजको नागरिक दैनिकमा छापिएको छ ।  photo by sudarshan ranjit