एकमहिनापछि हाईअल्टिच्युड अन्नपूर्ण म्याराथन

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १६ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-जुन ३ अर्थात अन्नपुर्ण दिवस । अन्नपुर्ण हिमाल आरोहण गरेको दिन । त्यही आरोहणको दिनमा अन्नपुर्ण सेन्चुरी पर्यटन महोत्सव मुल आयोजक समितिले ‘अन्नपुर्ण म्याराथन’ प्रतियिोगिता गर्ने तयारी गरेको छ । एक महिनापछि हुने म्याराथनको लागि ट्रयाक सरसफाई अभियान थालिएको छ ।

पुर्वमा एभरेष्ट म्याराथन हुदैं आएको छ । त्यसैको सिको गर्दै अन्नपुर्ण संरक्षण क्षेत्रको अन्नपुर्ण आधार शिविरदेखि घान्द्रुकसम्म ‘अन्नपुर्ण म्याराथन’ गरिने समितिका अध्यक्ष एवं संयोजक ललित गुरुङले जानकारी दिए । ‘दौड ४१३० मिटर उचाईको आधार शिविरबाट शुरु हुन्छ’ उनले आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदै भने—‘घान्द्रुकमा पुगेर समापन हुने छ ।’ म्याराथनको लागि आवश्यक प्राविधिक अध्ययन समेत भईसकेको छ । भुतपुर्व खेलाडी मन्च नेपालका पुर्व अध्यक्ष खड्ग रानाभाटले प्राविधिक अध्ययन सकिएको जनाउँदै ट्रयाक(दौड रुट) एभरेष्टको भन्दा सहज भएको बताए ।

म्याराथनमा सहभागि खेलाडीहरुलाई नयाँपुलहुदैं घान्द्रुक र घान्द्रुकदेखि माथि आधार शिविरसम्म पुग्ने सम्पूर्ण खर्च स्थानीय आयोजकले नै व्यहोर्ने उनको भनाई थियो । सन २०११ मा अन्नपुर्ण म्याराथन आयोजना गरिएको थियो । तर त्यति प्रभावकारी नभएपछि सातवर्षपछि स्थानीय पर्यटन व्यवसायीको सहकार्यमा दोस्रो सस्करणको म्याराथन आयोजना गरिएको हो ।

‘माछापुच्छ«े बेसक्याम्पदेखि देउराली झर्ने बाटोमा हिमपहिरो खसेको छ’ प्राविधिक अध्ययन गरेर फर्किएका रानाभाटले भने—‘सरसफाई गरिएको छ । धावकलाई बाटोको समस्या भने हुदैन् ।’ अन्नपुर्ण क्षेत्रमा हाईअल्टिच्युडको म्याराथनको अनुभव हुने भन्दै सहभागिता उल्लेख्य नहुने बताए । ‘धेरै खेलाडी(स्वदेशी तथा विदेशी)को सहभागिता रहन्छ भन्ने आशा गरेका छैनौं’ रानाभाटले भने—‘५०—५५ जना खेलाडीले दौडिने आशा छ ।’ दौडमा विभागिय क्लबका खेलाडीहरुसँगै अन्य विभिन्न स्थानका खेलाडीले उपस्थिति जनाउने छन् ।

अन्नपुर्ण आधार शिविरबाट शुरु हुने दौड माछापुच्छ«े आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, बुर्जुङ, चुँईले, टाडापानी, भैंसीखर्क हुदैं घान्द्रुकमा पुगेर टुंगिने छ । म्याराथनसँगै अन्नपुर्ण गाँउपालिक अन्तरवडास्तरीय भलिबल प्रतियोगिता, क्लबस्तरीय महिला भलिबल प्रतियोगिता र क्लबस्तरीय पुरुष बास्केटबल प्रतियोगिता समेत आयोजना गरिने छ ।

म्याराथन विजेता धावकले नगद १ लाखसहितको पुरस्कार थाप्ने छन् । दोस्रो स्थानमा आउने धावकले ७० हजार र तृतीय हुने धावकको पोल्टामा भने ५० हजार रुपैयाँ नगदराशी पर्ने छ । दशौं स्थानसम्म आउने धावकले पनि नगद पुरस्कार पाउने छन् । नगद पुरस्कारको प्रायोजन भने घान्द्रुक पर्यटन व्यवसायी समितिले गरेको छ । ‘म्याराथनको पुरस्कार राशी घान्द्रुकले प्रायोजन गरेको छ ।’ समितिका अध्यक्ष किशम गुरुङले भने ।

त्यस्तै अन्तर वडास्तरीय भलिबलले विजेताले ६० हजार, दोस्रोले ४० हजार नगद पाउने छ । महिला भलिबल विजेताको हकमा भने ८० हजार र उपविजेताले ५० हजार राशीको पुरस्कार पाउने छन् । बास्केटबल विजेता क्लबले ८० र उपविजेताले नगद ५० हजार रुपैयाँको पुरस्कार प्राप्त गर्ने छन् । दौडको समयमा धावकलाई रेस्क्यु गर्न हेलिकप्टर तथा घान्द्रुकमा दुई वटा एम्बुलेन्सको व्यवस्था गरिने समेत पत्रकार सम्मेलनमा जानकारी दिईयो ।