जुडो टोली लेबनन् प्रस्थान

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २४ गते २०७५ मा प्रकाशित


काठमाडौं(खेलाडी न्युज)बाह्रौं एसियाली क्याडेट तथा १९ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपमा सहभागी हुन दुई सदस्यीय नेपाली टोली सोमबार लेबनन् प्रस्थान गरेको छ । मे ९ देखि १३ तारिखसम्म हुने प्रतियोगिताको महिला ४४ केजीमुनि सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछिन् । प्रशिक्षकमा राजनकुमार श्रेष्ठ छन् ।

उनीहरु ओलम्पिक सोलिडारिटी कोर्सअन्तर्गत प्रतियोगितामा सहभागी हुन लागेको नेपाल जुडो संघले जनाएको छ । उनीहरुको सम्पूर्ण खर्च नेपाल ओलम्पिक कमिटीले व्यहोरेको जुडो संघले जनाएको छ । टोलीलाई सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच बिदाइ गरे ।
अर्को टोली भोलि जाँदै
सोही प्रतियोगितामा सहभागी हुने ४ खेलाडीसहित ७ सदस्यीय अर्को जुडो टोली मंगलबार लेबनन् जाँदैछ । पुरुषको ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ६० केजीमुनि रोशनबहादुर दोङले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ७८ केजीमुनि पुनम श्रेष्ठले भाग लिने छन् ।

प्रशिक्षकमा रोमानियाका डान टेलेकेका तथा व्यवस्थापकमा राजेश श्रेष्ठ रहेका छन् । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य पनि मंगलबारै लेबनन् जाने कार्यक्रम छ । वज्राचार्य एसियाली जुडो महासंघ ९जेयुए० का एजुकेसन तथा काता निर्देशक हुन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच बिदाइ गरे ।