पोखरा क्रिकेट क्लबको महत्वपूर्ण जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २६ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला क्रिकेट लिग चौथो दिनमा आईपुग्दा रोमाञ्चक मोडमा पुगेको छ । चार क्लब समान २—२ अंकमा छन् । तीन क्लबले दुई— दुई खेल खेलिसकेका छन् । अरण्यज्योति क्रिकेट क्लब भने एक खेल कम खेलेको छ ।

दोस्रो खेलमा पहिलो जित दर्ता गर्दै पोखरा क्रिकेट क्लबले ओम डेभलपमेन्ट बैंक के.सि.एलको फाईनल पुग्ने सम्भावनालाई भने जिवितै राखेको छ । दुई अंक जोड्ने क्रममा पोखरा क्रिकेट क्लबले बुधबार पोखरा रंगशाला क्रिकेट मैदानमा सांग्रिला क्रिकेट क्लबलाई ५० रनले पराजित गरेको हो । जितसँगै पोखरा क्रिकेट क्लबको आशा पलाएको छ । हारसँगै बाहिरिने खतरालाई भने टार्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगको शीर्षस्थानमा सांग्रिला क्रिकेट क्लब रहँदा अरण्यज्योति र माछापुच्छ«े क्रिकेट क्लब भने तेस्रो र चौथो स्थानमा छन् । अन्तिममा भने पोखरा क्रिकेट एकेडेमी रहेको छ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजना, ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन तथा पोखरा राईनोजको सहप्रायोजन र पोखरा लेखनाथ महानगरपालिकाको संरक्षकत्वमा आयोजित प्रतियोगितामा चौथो दिन बुधबार टस जितेर पहिलो इनिङ शुरु गरेको पोखरा क्रिकेट क्लबले २४.५ ओभर खेल्दै १४० रनको योगफल तयार पार्यो । आकाश थापाले ४४ बलको सामना गर्दै ३ चौका र २ छक्काको मद्दतमा ३७ रन बनाए । कप्तान अनिल गुरुङले व्यक्तिगत २३ रनमा पेभिलियन फर्किएपछि इनिङलाई सुमन घिमिरेले सम्हाले । तर उनी पनि २ चौका र एक छक्का हान्दै ३९ बल खेलेर ३७ रनमै आउट भए । गोविन्द प्रधानले १९ र साहिल कार्कीको खातामा १२ रन लेखियो ।

१७ ओभरको समाप्तीमा पोखरा क्रिकेट क्लब ११४ रनको स्थितिमा केवल तीन विकेट मात्रै गुमाएको थियो । थप २६ रन बनाउने क्रममा बाँकी सात विकेट गुमाउन पुग्यो । प्रत्येक ओभरमा एकपछि अर्को विकेट गुमाएपछि पोखरा क्रिकेट क्लब ४० ओभरको खेलमा केवल २४.५ ओभरमात्रै खेल्दै अलआउट भएको थियो ।

सांग्रिला क्रिकेट क्लबका यु—१६ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य समेत रहेका मेघबहादुर सेनले महत्वपूर्ण ५ विकेट लिदाँ २९ रन खर्चिन आठओभर बल फ्याँके । शिव सुवेदीले पनि ५ओभरमा ३० रन दिएर ३ विकेट लिदैं सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रोस्थानमा छन् । कप्तान विपिन खत्रीले ६.५ ओभरमा एक मेडन राख्दै २९ रन खर्चिएर २ विकेट लिए । १४१ रनको मध्यमस्कोरको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लब भने ९० रनमै समेटियो । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा रहेको पोखरा क्रिकेट क्लबका बलर विजय राउतले सांग्रिलाका व्याट्सम्यानलाई भने क्रिजमा कुनैपनि समय खासै टिक्न दिएनन् ।

उनले आठ ओभर बलिङ गर्दा २९ रन दिदैं सर्वाधिक ६ विकेट लिए । उनी खेलको पोखरा राईनोज म्यान अफ दि म्याच घोषित भए । म्यान अफ दि म्याचको ट्रफी प्रदान गर्दै कास्की जिल्ला क्रिकेट संघका पुर्व कोषाध्यक्ष निकेश श्रेष्ठले प्रदान गरेका थिए । वाईड बलमा चौका गएपछि उनीमाथि दबाव भने परेको थियो । उनले दुई खेलमा ९ विकेट लिईसकेका छन् । तेस्रो नम्बरमा आएका मिलन थापाले सांग्रिलाको इनिङ अन्तिमसम्म सम्हाले । विष्णुको बलमा सुमन घिमिरेको हातबाट क्याच आउट हुनु अघि उनले विकेट जोगाँउदै लक्ष्यमा अग्रसर देखिएपनि सम्भव भने बनाउन सकेनन् ।

थापाले ५४ बल खेल्दै २३ रन मात्रै खेलेर आउट हुदाँ जय शर्माले १३ रनको योगदान मात्रै दिए । अन्य व्याट्सम्यानको व्याटबाट दोहोरो अंकको रन बुटल्न सकेनन् । अतिरिक्त भने अधिक नै थियो । बिहीबार खेल हुने छैन् । शुक्रबार अरण्ययोति क्रिकेट क्लबले पोखरा क्रिकेट एकेडेमीसँग खेल्ने छ ।