राष्ट्रिय लिग दशैं अगाडि सञ्चालन गर्ने -अध्यक्ष कर्माछिरिङ शेर्पा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २७ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले चार वर्षदेखि स्थगित लिग फुटबल प्रतियोगितालाई दशैं अगाडि नै सञ्चालन गर्ने योजना रहेको सुनाए । ‘चारवर्षदेखि फुटबलको लिग नै भएको छैन्’ उनले बिहीबार शितलज्योति क्लबद्वारा सम्मान कार्यक्रममा बोल्दै भने—‘अब नयाँ टिमले लिगलाई दशैं अगाडि नै सञ्चालन गर्ने योजनासहित अगाडि बढेको छ ।’

उनले फुटवलको शुद्दीकरण सफल भएको बताउदै अब फुटबल विकासको लागि ‘गो फुटबल’ नीति अघि सारिएको बताए । उनले फुटबल अगाडि बढ्छ भन्दै फुटबल विकासको लागि आवश्यक गतिविधिलाई नयाँ शिराबाट शुरु गरिने स्पष्ट पारे ।
शेर्पाले फुटबल क्षेत्रमा अब नौलो आयाम थपिने बताए । उनले सिमित पक्षले एन्फालाई उल्टो दिशा तिर निर्देशित गरेको औल्याउदै फुटबल क्षेत्रमा विकासले गति लिन नसकेको बताए । उनले भने “अब फुटबल क्षेत्रमा परिबर्तनको उज्यालो दियो बल्छ, हामी “गो फुटबल” भन्ने अभियान सहित अगाडी बढ्न सुरु गरिसकेका छौ ।”

अध्यक्ष शेर्पाले एन्फाले पहिलो फुटवल एकेडेमी कास्कीमा बनाउने बताउदै सातओटा प्रदेशमा १४ ओटा फुटबल एकेडेमी बनाउने दावी गरे । ‘सातै प्रदेशमा दुई—दुई एकेडेमी शुरु गर्छौ ।’ उनले भने—‘एकेडेमीबाट फुटबल विकासको शुरुवात हुने छ ।’ पोखरामाा फुटबल ट्रेनिङ सेन्टरको स्थापना गर्न पहल गरेको बताउदै पोखराका बिद्यार्थीहरु फुटबल खेल्नबाट बञ्चित हुन नपर्ने समेत उनको भनाई थियो ।

उनले यथाशिघ्र ए डिभिजन लिग तथा ग्रासरुट लेभलका फुटबल प्रतियोगिताहरु छिट्टै आयोजना बताए । उनले भने “पोखरा आफैमा स्तरीय खेलाडी उन्पादन गर्न सक्ने ठाउँ हो, तर राम्रो एकेडेमीको अभाबका कारण तुलनात्मक रुपमा गुणस्तरीयय खेलाडी बाहिर निस्कन सकेका छैनन् ।” उनका अनुसार पोखरा क्षेत्रमा ५ देखी ७ वटासम्म फुटबल ट्रेनिङ सेन्टर स्थापनाका लागी केन्द्रबाटै पहलकदमी थाल्ने छौं ।

सितल ज्योती युवा क्लवका अध्यक्ष तथा कार्यक्रमका सभापति सन्तोष गुरुङले पोखरामा एन्फा अध्यक्षलाई सम्मान गर्न पाउदा पोखरेलीहरु खुशी भएको वताउदै नेपालको फुटवल खेलको विकासको लागी नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पा वाट ठुलो आशा गरेको वताए । सम्मान कार्यक्रममा एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ उपाध्यक्ष चन्द्र गुरुङ लगाएतले शेर्पाको कार्यकालको सफल्ताको कामना गरेका थिए । कार्यक्रममा एन्फाका नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पालाई सितलादेवी टोल विकास संस्था,सामुदायीक सेवा केन्द्र माटेपानी,हिल प्वाईट उच्च मा.वि माटेपानी, सितलादेवी मन्दिर सेवा समितीका पदाधीकारी तथा वडाका नागरीकहरु तथा विद्यालयका विद्यार्थीहरुले पुष्प गुच्छा तथा खादाले सम्मान तथा स्वागत गरेका थिए ।