पोखरा(खेलाडी न्युज)-गाँउबाट फुटबलकै लागि अब बजारसम्म झर्नुपर्दैन् । अबको वर्षदिनमा मैदान बनेपछि बजारको फुटबल मैदानको विकल्प समेत हुने छ । हुन त महानगरपालिकाकै वडा हो । तर गाँउलाई समट्दै बनाईएको महानगरपालिकाको वडा हो । कास्कीकै दुगर्म मध्येको पोखरा लेखनाथ महानगरपालिकाको वडा नं २० आँटीघर मौजामा फुटबल मैदान निर्माण शुरु गरिएको छ ।
मैदान बनाउन जमिन सम्याउनको लागि बजेट महानगरपालिका र वडा नं २० ले दियो । पोखरा लेखनाथ महानगरपालिका र वडाले उपलब्ध गराएपछि कास्की जिल्ला फटुबल संघले मैदान बनाउने जिम्मेवारीको संयोजन गर्यो । ‘वडाले दिएको बजेटले डाँडा कटान गर्दै सम्याउने काम शुरु गरेका छौं’, कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले भने—‘यो वर्षभित्रमा मैदान निर्माण पुरा गर्ने योजनामा छौं ।’
निर्माण शुरु गरिएको मैदान समुद्री सतहदेखि १७ सय मिटरको उचाईमा पर्छ । यो कास्कीकै अग्लो स्थानको फुटबल मैदान बन्ने छ । एक दशकअघि मेला र महोत्सव गर्ने स्थललाई अन्तराष्ट्रिय मापदण्डको फुटबल मैदान स्थानीयबासी कस्सिएका हुन् । आँटीघर मौजाको थाप्लोमा रहेको सार्वजनिक जग्गामा निर्माण शुरु गरिएको छ । मैदान भन्दा उत्तर तर्फ भने मानवबस्ती छैन् । घनाजंगल छ ।
‘महानगरपालिकाले ७ लाख ५० हजार र वडाले १ लाख गरी ८ लाख ५० हजार रुपैयाँ बजेट दिएका छौं’,पोखरा लेखनाथ महागनरपालिका वडा नं २० का अध्यक्ष सिम गुरुङले भने—‘मैदान निर्माणपछि स्पोर्टस टुरिज्म प्रोमोसनमा जुट्ने छौं ।’ उनले मैदानसँगै अतिथिहरुको लागि होम स्टेको शुरुवात समेत भईसकेको बताए । फुटबल मैदान निर्माण भएपछि होमस्टेलाई प्रभावकारी बनाउन सकिए आँटीघर मौजा खेल मैदानमा राष्ट्रियस्तरकै प्रतियोगिता सञ्चालन गर्न सकिने उनको भनाई थियो । फुटबल मैदान बनाउन एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
खेलकुदको लागि महानगरपालिकालले वर्षेनी २५ लाख रुपैयाँ छुट्टयाउँदै आएको छ । बाग्लुङमा सम्पन्न प्रदेशस्तरीय मेयरकप फुटबल प्रतियोगिता, इहटरीमा सम्पन्न प्रदेशस्तरीय मेयरकप भलिबल प्रतियोगिता र पोखरामा केही दिन अघि मात्रै सम्पन्न वडास्तरीय मेयरकप भलिबल प्रतियोगितालाई २५ लाख मध्येबाटै बजेट छुट्टाएको उपलब्ध गराइएको थियो । हिउँ समेत पर्ने सम्भावना रहने उक्त निर्माणाधिन खेल मैदान निर्माणको लागि महानगरपालिका, वडा तथा स्थानीयबासिन्दाले समेत आर्थिक सहयोग जुटाएका छन् । स्थानीयबासिन्दाले खर्चको १० प्रतिशत रकम व्यहोर्नुपर्ने छ ।
मैदान अन्तराष्ट्रिय मापदण्ड अनुसारकै निर्माण हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले बताए । ‘डाडाँ खारे ११० मिटर लम्बाई ६५ मिटर चौडाईको फुटबल मैदान बन्छ’ उनले भने—‘नेचुरल(प्राकृतिक) प्यारापिट समेत बनाउन सकिने सम्भावना छ ।’ दुई मिटर डाडाँ कटान गरेर खार्नुपर्ने उनको भनाई थियो । सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एक खेल मैदान बनाउने निर्णय गरेको छ । त्यसै अनुरुप पनि गाँउ गाउँमा खेलकुदको पुर्वाधार धमाधम बन्दै गएका छन् ।
महानगरपालिकाभित्र ५ वटा फुटबल मैदान छन् । एउटा अन्नपुर्ण गाँउपालिकाको ढिकुरपोखरी वडा नं २ मा छ । ढिकुरपोखरीको खेल मैदानमालाई गतवर्षमात्रै स्तरोन्नति गरिएको थियो । पोखरा रंगशालाभित्र दुईवटा मैदान छन् । भण्डारढीकमा फुटबल मैदान निर्माण भईसकेको छ । लामाचौरमा राष्ट्रिय खेलकुद परिषद तथा स्थानीयको सक्रियतामा र आर्थिक सहयोगमा गोस्तेघाटमा फुटबल मैदान बनाईएको छ । हेमजाको गौरीशंकर खेल मैदान पनि फुटबल प्रतियोगिताको लागि प्रयोग गर्न सकिन्छ ।