अरण्यज्योतिमाथि सांग्रिलाको जित, फाईनलको सम्भावना कायमै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     जेठ १ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-सधै ओझेलमा रहने बलरले एकएक रन बटुल्दै चम्किएपछि सांग्रिला क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबमाथि ४३ रनको जित निकाल्दै फाईनलको सम्भावनालाई जोगाएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा सञ्चालित क्लबस्तरीय राउण्ड रोविन क्रिकेट लिगको सांग्रिलाले दुई जित र दुई हारसँगै ४ अंक जोडेर लिगको शीर्षस्थानमा उक्लिदाँ अरण्यज्योति भने प्रतियोगिताबाट बाहिरिने सम्भावना बढेको छ ।

ओम डेभलपमेन्ट बैंकको मुख्य प्रायोजन तथा पोखरा राईनोजको सह प्रायोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा मंगलबार टस जित्दै व्याटिङको लागि क्रिजमा उत्रिएको सांग्रिलाले प्रतियोगिताकै सर्वाधिक ३०.४ ओभर खेल्दै ११९ रनको योगफल तयार पार्यो । नवौं नम्बरमा गएका कप्तान विपिन खत्रीले विष्फोटक व्याटिङ गर्दै ६० रन जोडे । उनले ७० बल खेल्दै दुईचौका र ४ छक्का हान्दै सांग्रिलाको इनिङ सम्हाले ।

उनीभन्दा अघि सुदिप पौडेलले १६ रनमा पेभिलियन फर्किए । उनले २१ बल खेल्दै दुई चौका हिर्काए । राजु खनालले भने ११ रनको योगदान दिए । अरण्यज्योतिका हरि चौहानले २.४ ओभर बलिङ गर्दै ३ विकेट लिए । अब्दुल खालिदले पनि ८ ओभर बल फाल्दै २८ रन दिएर दुई विकेट आफनो नाममा लेखाए । प्रतियोगिता अन्तर्गत मंगलबार मौसम राम्रो हुदाँ ४० ओभरमा खेल खेलाईएपनि दुवैटोलीले भने पुरै ओभर खेलेनन् ।

१२० रनको लक्ष्य पछ्याएको अरण्यज्योति क्रिकेट क्लब भने ७५ रनमै समेटियो । कप्तान विधान श्रेष्ठ र हरि चौहानले समान २३ रन बनाए । चौहान नटआउट रहदाँ अन्य व्याट्सम्यान भने सस्तैमा क्रिजबाट बाहिरिए । ७ ओभर बलिङ गर्दै विपिन खत्रीले २ मेडन राखेर १२ रन मात्रै दिई ५ विकेट लिए । उनी पोखरा राईनोज म्यान अफ दि म्याच घोषित भए । उनलाई जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले म्यान अफ दि म्याचको पुरस्कार प्रदान गरे । अर्का खेलाडी मेघबहादुर सेनले ३ विकेट लिए । लिग अन्तर्गत आज बुधबार पोखरा क्रिकेट एकेडेमीले माछापुच्छ« क्रिकेट क्लबसँग खेल्ने छ । लिगको अन्तिम खेल भने पोखरा क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबसँग खेल्ने छ ।