पोखरा रंगशालाभित्रको क्रिकेट मैदानको विस्तृत अध्ययन प्रतिवेदन तयार, परिषदमा पेश

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ४ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाभित्रको क्रिकेट मैदान अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउन विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) पेश भएको छ । अध्ययनको जिम्मेवारी पाएको कम्पनीले लामो समय लगाएर बनाईएको प्रतिवेदनलाई राष्ट्रिय खेलकुद परिषदमा डेढमहिना अघि मात्रै बुझाएको छ । परिषदले पोखरालाई अन्तर्राष्ट्रिय क्रिकेटको न्युट्रल भेन्यु बनाउने उद्देश्यसहित काठमाडौंको कम्पनीलाई अध्ययन प्रतिवेदनको लागि जिम्मेवारी दिएको थियो । टेक स्टुडियो अफ इन्जिनियरिङ र जिओ कम इन्टरनेशनल प्रालिको संयुक्तमा क्रिकेट मैदानको डिपिआर तयार गरी परिषदमा पेश भएको हो ।

कम्पनीद्वयले डेढवर्ष अघि डिपिआरको जिम्मेवारी लिदै काम शुरु गरेका थिए । माटो परीक्षण गरेपछि पुर्वाधार बनाउन फिल्ड सर्भे गरी प्रतिवेदन बुझाएका छन् । ‘डेढदुई महिना मात्रै भयो प्रतिवेदन पेश भएको ।’ राष्ट्रिय खेलकुद परिषदको आर्किटेक्ट तिलोत्तमा बस्यालले भनिन–‘डिपिआर भएपछि कोही दाताले क्रिकेट मैदान बनाउन चाहेमा पोखरा रंगशालाको क्रिकेट मैदान छ भनेर दिनसक्छौ ।’

कम्पनीले अस्थायी प्रतिवेदन भने छिटै पेश गरेका थिए । उनले फाईनल भन्दा अघि नै एक सेट प्रतिवेदन भने पेश गरिसकेका थिए । यद्यपी क्रिकेटका विज्ञ एवं प्रशिक्षकहरुको छलफलबाट पूर्ण निष्कर्षसहितको फाईनल डिपिआर पेश भएको उनले बताईन् । डिपिआरको लागि परिषदले अनुमानित ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

परिषदमा क्रिकेट मैदानको विस्तृत अध्ययन प्रतिवेदन पेश भएपनि दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग गेम्स) पछि मात्रै अगाडि बढ्ने सम्भावना छ । परिषदले त्यसभन्दा अघि महिला सागलाई लक्षित गर्दै फुटबल स्टेडियम बनाउने अभियानमा छ । फुटबल स्टेडियम बनाउन दोस्रो पटक ग्लोबल टेण्डर आह्वान गरेको छ । दोस्रो पटक आह्वान गरेको टेण्डरको डेढसाता पुगेको छ । प्रतिवेदन अनुसार पेभेलियनसहित चारै दिशमा प्यारापिट, चेन्जिङ रुम, शौचालयसहितको पुर्वाधार निर्माण गर्ने उल्लेख छ । ‘अन्तर्राष्ट्रिय मापदण्ड अनुसारकै डिजाईनसहितको प्रतिवेदन बुझाएका छन् ।’ उनले भनिन–‘पाँचवटा पिच र पिचदेखि ७५ मिटरको बाउण्ड्रीसहितको मैदान बन्ने छ ।’ एक दिशमा पुर्वाधार निर्माणको लागि केही असजिलो अवस्था भने सृजना देखिएको छ ।

फुटबल स्टेडियम बनाउँदा क्रिकेट मैदानको उत्तर पश्चिम तर्फ बनाइने प्यारापिटसँग जोडिने सम्भावना छ । ७ मिटर बाटो छोड्दा पनि उचाईमा जोडिने सम्भावना भने परिषदले प्रष्टयाएको छ । प्रतिवेदनमा समेत यो कुरा उल्लेख गरिएको छ । त्यस ठाँउमा साँघुरो हुदाँ त्यस बाहेकको भागमा पेभेलियन बनाउन सकिने परिषदले जनाएको छ । ‘साँघुरो हुने ठाँउमा । प्राविधिक अध्ययन गरेर मात्रै पुर्वाधारको काम गर्ने छौ ।’ आर्किटेक्ट बस्यालले बताईन् । फुटबल स्टेडियमको प्यारापिट निर्माणले क्रिकेट मैदान केही दक्षिण पश्चिम तर्फ धकेलिने सम्भावना रहेको छ । दक्षिण पश्चिम तर्फ खाली जग्गा छ । त्यसो त आर्चरी मैदानसँगै जोडिएको फराकिलो बाटोलाई केही सानो बनाई मैदान विस्तार गर्न सकिने अवस्था छ ।

भौतिक पुर्वाधारयुक्त क्रिकेट मैदान बने पोखरा क्रिकेटको लागि अन्तर्राष्ट्रिय न्युट्रल भेन्यु बन्ने विश्वास धेरैले गरेका छन् । कास्की जिल्ल क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले चारैतिर पेभेलियन बनाउने प्रस्तावसहितको प्रतिवेदन रहेको बताए । झण्डै २० हजार दर्शक क्षमताको छ । बजेट १ अर्ब २९ करोडको अनुमान गरिएको उनले जानकारी दिए । ‘मैले फाईनल रिपोर्ट हेर्न पाएको छैन् । कास्की जिल्ला क्रिकेट संघलाई पठाईसकेको छैन् । तर अस्थायी प्रतिवेदनमा उल्लेख थियो ।’ उनले भने ।

उनका अनुसार साँघुरो हुने ठाँउमा शौलालयसहितको प्यारापिटको ब्लक नै हटाउने सम्भावना देखिएको छ । २५ मिटर लम्बाईको प्यारापिट र शौचालय समेतको ब्लक हट्ने सम्भावना रहेको उनले जानकारी दिए । उनका अनुसार २०१९ मा नेपालमा हुने साग खेलकुद भन्दा अघि क्रिकेट मैदानको पुर्वाधार निर्माणको काम अगाडि बढ्ने सम्भावना देखिदैन् । ‘साग गेम्स भन्दा अघि पुर्वाधारमा चासो दिने अवस्था परिषदले देखाएको छैन् । त्यसैले हामीले पनि दबाव दिने अवस्थामा छैनौं ।’ उनको भनाई थियो ।

पोखरामा क्रिकेट मैदान बनाउन नेपाल क्रिकेट संघ(क्यान)ले डेढकरोड भन्दा बढी लगानी गरिसकेको छ । मैदान सम्याउनेदेखि पीच निर्माण तथा फेन्सिङ लगाउने कामको लागि खर्च गरेको छ । पोखराकै निजीस्तरबाट समेत मैदान निर्माणको लागि विशेष भूमिका छ । जसले गर्दा अहिले रंगशालाभित्र राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन समेत हुदैं आएको छ । प्रा. डा विरेन्द्रसिंह गुरुङ र पोखरा उद्योव वाणिज्य संघका पुर्व अध्यक्ष अशोक पालिखेको पहलमा क्रिकेट मैदान निर्माण गरिएको हो । प्रदेश सरकारले पनि क्रिकेट मैदानको लागि आवश्यक अध्ययन प्रतिवेदन तयार गरिरहेको छ ।