कार्तिकमा ‘पोखरा प्रिमियर लिग’

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ५ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-चार महिनापछि पोखरामा फ्रेन्चाईजमा आधारित पोखरा प्रिमियर लिग प्रतियोगिता हुदैं छ । क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिले टी–२० पोखरा प्रिमियर लिग कार्तिक ९ गदेखि २० गतेसम्म पोखरा रंगशाला गर्ने सार्वजनिक गरेको छ । विभिन्न शहरमा फ्रेन्चाईजमा आधारित क्रिकेट प्रतियोगिता हुदैं आएको अवस्थामा पोखरामा पनि यसैवर्षदेखि शुरु हुने छ । पोखरा प्रिमियर लिग भन्दा अघि इभेण्ट म्यानेजमेन्टले ती फ्रेन्चाईज शहरको यु–१६ बीच प्रतियोगिता आयोजना गरिने जनाएको छ ।

‘क्रिकेटको ग्रासरुटदेखि नै विकास गर्ने उद्देश्यसहित फ्रेन्चाईज शहरको आफनै यु–१६ टिम बनाई प्रतियोगिता आयोजना गर्ने छौ ।’ क्विन्स इभेण्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले भने–‘शहरले आफनो टोली भने ट्यालेन्ट हन्टबाट छनोट गरी तयार पार्ने छन् ।’ प्रतियोगितापछि पोखरा प्रिमियर लिग गरिने छ । खेलाडीले आफनै फ्रेन्चाईज शहरबाट क्रिकेट भविष्य खोज्न सक्ने छन् ।

कार्तिक दोस्रो साता हुने फ्रेन्चाईजमा आधारित क्रिकेट लिग यो तेस्रो हो । तर पोखरामा आयोजना हुने लिग भने पहिलो हो । पोखरा प्रिमियर लिग भन्दा अघि नै एभरेष्ट प्रिमियर लिगको पहिलो संस्करण र धनगढी प्रिमियर लिगको दोस्रो संस्करण सम्पन्न भईसकेको छ । अन्य शहरले पनि स्थानीयस्तरमा प्रिमियर लिग भने गर्दै आएका छन् ।

कार्तिक दोस्रो साता हुने प्रतियोगिताको लागि नेपालका ठूला शहरका नामबाट फ्रेन्चाईज टिम तयार गरिने छ । टिम एभरेष्ट र धनगढी प्रिमियर लिग बाहेकका अन्य तीन शहरहरुले प्रतियोगितामा सहभागिता पाउने आयोजित पत्रकार सम्मेलनमा क्विन्स इभेण्ट म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामाले बताए । गत वर्ष पोखराको नामबाट पोखरा राईनोसले काठमाडौंमा आयोजित एभरेष्ट प्रिमियर लिगमा सहभागिता जनाएको थियो ।

भर्खरै नेपालले क्रिकेटमा एक दिवसिय क्रिकेटको मान्यता पाएको छ । क्रिकेटको विकास र विस्तारको लागि क्रिकेट प्रतियोगिता नियमित आयोजना हुन थालेका छन् । यसको पछिल्लो उदाहरण हो सर्वाधिक पुरस्कार राशीको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता । पोखरा प्रिमियर लिगमा खेलाडीहरु अन्य प्रिमियर लिगमा झैं अक्सन(खरीद)बाट छनोट गरिने उनले जानकारी दिए ।

प्रतियोगितामा ६ वटा शहर समावेश हुने छन् । काठमाडौं र विराटनगरसँगै नयाँ शहरलाई समावेश गर्ने योजना इभेण्ट म्यानेजमेन्टले जनाएको छ । उनका अनुसार असारको तेस्रो साता भारतबाट क्रिकेट पीच मर्मतको लागि क्युरेटर आउने छन् । ‘क्रिकेटको पिच मर्मत र आउट फिल्ड लेभलिङ गर्नुपर्ने खाँचो छ ।’ लामाले भने–‘आउटफिल्ड लेभलिङ गरेपछि प्रतियोगिता आयोजना गर्न सहज हुने छ ।’ उनले प्रतियोगिताले पोखरामा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । पोखरा प्रिमियर लिग गतवर्ष धनगढीमा आयोजित डिपिएलकै स्तरमा गर्ने सोंच क्विन्स इभेण्ट म्यानेजमेन्टले बनाएको छ । डिपिएलमा विदेशी खेलाडीलाई समेत फ्रेन्चाईज टिममा समावेश गरिएको थियो । पोखरा प्रिमियर लिगमा पनि विदेशी खेलाडी समावेश गर्ने सम्भावना भने उत्तिकै छ ।

कास्की जिल्ला क्रिकेट संघले पनि पोखरा प्रिमियर लिग पोखरा रंगशालामा आयोजना गर्न स्वागतयोग्य भएको जनाएको छ । संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा रंगशालामा आयोजना गरिने पिपिएलले पोखराको क्रिकेटस्तर माथि उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । पोखरा रंगशालाको क्रिकेट मैदानमा क्रिकेट प्रतियोगिता आयोजना गर्दा शुल्क तिर्नुपर्ने प्रावधान छ । उनले प्रतियोगिता आयोजकले मैदान प्रयोग वापतको शुल्क भने तिर्नुपर्ने उल्लेख गरेका छन् । ‘राष्ट्रिय खेलकुद परिषदले मैदान निशुल्क उपलब्ध गराईदिनु भन्ने परिपत्र आएको अवस्थामा निशुल्क उपलब्ध गराउँछौ ।’ उनले भने–‘अन्यथा सबैले शुल्क तिरेर आयोजना गर्दैआएका छन् । पोखरा प्रिमियर लिगसँग पनि शुल्क लिन्छौं ।’