प्रदेश सरकार अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन जग्गा खोज्दै जिल्ला भ्रमणमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ६ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशला बनाउन आवश्यक अध्ययन शुरु गरेको छ । क्रिकेटको रंगशाला बनाउन सामाजिक विकास मन्त्रालयले प्रदेशका ११ वटै जिल्ला भ्रमण गर्ने तयारी गरेको छ । मन्त्रालयले केही जिल्ला भ्रमण गरी सम्भावित ठाँउको अवलोकन गरी प्रतिवेदन समेत तयार पारेको छ । तर पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई भने मन्त्रालयले अध्ययनमा समावेश गरेको छैन् ।

‘प्रदेशका ११ वटै जिल्लाका सम्भावित फिल्ड गएर हेरेर रेकर्ड राख्दैछौ ।’ सामाजिक विकास मन्त्रालयका शाखा अधिकृत कृष्ण तिमिल्सिनाले भने–‘सबै जिल्ला हेरिसकेपछि सम्भावित ठाँउको बास्ताविकतासहितको रिपोर्ट मन्त्रालयमा पेश गर्ने छौ । मन्त्रीस्तरीय निर्णयपछि काम अगाडि बढ्ने छ ।’ प्रदेश सरकारले एकसाता अघि सार्वजनिक गरेको बजेटमा प्रदेशमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने योजना सार्वजनिक गरेपछि मन्त्रालयले त्यसको लागि जिल्ला तहमा पुगेर सम्भावित अध्ययन शुरु गरेको हो ।

मन्त्रालयका शाखा अधिकृत तिमिल्सिनाका अनुसार नवलपुर, बाग्लुङ, पर्वत र तनहुँमा फिल्ड भिजिट गरिसकिएको छ । नवलपुरमा १६ वटा ठाँउ हेरिएको जानकारी दिदैं उनले ती मध्ये दुई ठाँउ क्रिकेटको लागि उपयुक्त हुने बताए । ‘नवलपुरमा खुल्ला चौर धेरै छन् । तर पनि दुई ठाँउ सबै हिसाबले उपयुक्त देखिएको छ ।’उनले भने–‘तनहुँमा पनि राम्रो ठाँउ हेरियो । बाग्लुङमा पनि उपयुक्त नै छ ।’

तनहुँको घाँसीकुवाँदेखि केहीभित्र जग्गा हेरिएको उनले बताए । बाग्लुङमा बाग्लुङदेखि १३ किलोमिटर पर सिंगानामा जग्गा हेरिएको सुनाए । बाग्लुङ बजार प्रवेश अगावै रहेको बाङ्गेचौर खेलमैदान, बलेवा विमानस्थलसँगै जोडिएको बलेवा खेल मैदान हेरिएको छ । तर प्राविधिक रुपले बलेवा र बाङ्गैचौर उपयुक्त नदेखिएको अध्ययन टोलीले औंल्याएको छ । टोलीले स्याङजाको विभिन्न ठाँउमा हेर्ने जनाएको छ । स्याङजाको वालिङस्थित लामेबगर खेलमैदान छ । अर्जुनचौतारीमा समेत उपयुक्त जग्गा रहेको स्थानीयले हेर्नको लागि मन्त्रालयलाई सिफारिस गर्दै आएको उनले बताए ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले कास्कीको भरतपोखरीस्थित पशुपति घाट र सिम्पानीस्थित सिंचाईको जग्गा उपयुक्त हुने बताएका छन् । ‘धुर्मुस सुन्तलीले अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन जग्गा खोज्ने क्रममा पोखरा आएको अवस्था ती ठाँउ उत्तम विकल्पको हुने जानकारी दिएका थियौं ।’ उनले भने–‘प्रदेश सरकारलाई पनि ती ठाँउ उपयुक्त हुन्छ भन्ने विश्वास हामीले लिएका छौं ।’

अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमसँगै प्रतियोगिता सञ्चालन गर्दा दुईवटा मैदान अनिवार्य हुन्छ । एउटा मात्रै मैदान भएको ठाँउमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुदैनन् । त्यसैले पोखरा रंगशालाभित्रको क्रिकेट मैदान बाहेक अर्को बैकल्पिक मैदान बनाउनुपर्ने खाँचो कास्की क्रिकेट संघले औल्याउँदै आएको छ ।

पशुपति घाट झण्डै २ सय रोपनी क्षेत्रफलमा छ । पोखरा रंगशालाभित्रको क्रिकेट मैदान निर्माण समितिका पुर्व सदस्य समेत रहेको अशोक पालिखेले पशुपति घाटलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन सकिने बताए । ‘सेती नदी किनारबाट चेक ड्याम लगाई थोरै बजेटबाटै जग्गा सम्याउने काम गरे जग्गा संरक्षण हुने छ ।’ उनले भने–‘भविष्यको लागि त्यो ठाँउ उपयुक्त हुने छ ।’ सार्वजनिक जग्गा अहिलेदेखि नै मैदानको लागि संरक्षण गर्नुपर्नेमा उनको जोड थियो ।

तस्बिर सौजन्य भुवन गुरुङ