पुम्दीमा ट्रायथोलन भेन्युको ल्याण्डस्केप र ग्याबिन जाली भर्दै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार ७ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-यसै वर्ष सुनिश्चितताको विनियोजन बजेटबाट पोखरा पुम्दीभुम्दीमा ट्रायथोलन एकेडेमीको निर्माण कार्य अगाडि बढाइएको छ । राष्ट्रिय खेलकुद परिषदले यसै वर्ष २५ लाख रुपैयाँ ट्रायथोलन भेन्युको लागि सुनिश्चितता मार्फत उपलब्ध गराएको छ ।

ट्रायथोलनको अन्तराष्ट्रिय गन्तव्य बनाउने उद्देश्यसहित कास्की जिल्ला ट्रायथोलन संघले साविक लुकुनस्वाराँ गाविसको ६१५ रोपनी क्षेत्रफलमा एकेडेमीको लागि आवसिय पुर्वाधारसहित साईक्लिङ र रनिङ ट्रयाक, स्वीमिङ पुल लगायतको पुर्वाधार बनाईने लक्ष्य छ । ‘सुनिश्चितताको बजेट अनुसार जग्गाको ल्याण्डस्केप गर्दै छौं ।’ कास्की जिल्ला ट्रायथोलन संघका सचिव प्रकाश बरालले भने–‘खोल्सामा ग्याबिन जाली भरिने छ ।’ पुर्वाधारयुक्त भेन्यु बनाउन सरकारले आगामी वर्ष थप बजेट विनियोजन गर्नुपर्ने खाँचो उनले औल्याएका छन् ।

तत्कालिन लुकुनस्वाँरा वडा नं ८ ले ट्रायथोलनको आवश्यक पुर्वाधार बनाउन वडास्तरीय बैठकबाट जग्गा दिने निर्णय गरेको हो । वडाको बैठक २०७४ साल असार २३ गते बसेर जग्गा भोगचलनको लागि उपलब्ध गराउने निर्णय गरिएको उनले बताए । हाल पुम्दीभुम्दी पोखरा लेखनाथ महानगरपालिका वडा नं २२ अन्तर्गत पर्छ । महानगरपालिकाले पनि २०७५ जेठ १ गते उक्त जग्गालाई हकभोगको लागि आवश्यक व्यवस्था मिलाईदिनुपर्ने परिपत्र समेत गरेको जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख समेत रहेको बरालले बताए ।

संघले खोल्सामा ११० वटा दुईखण्डमा ग्याबिन जाली लगाउने जनाएको छ । एउटा ग्याबिन जाली दुई मिटर लम्बाई, एक मिटर चौडाई र एक मिटर उचाईको हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले बताए । उनका अनुसार अर्को खण्डको ग्याबिन जाली ३ मिटर लम्बाई, एक मिटर उचाई र एक मिटर चौडाईको हालिने छ । दुवै प्रकृतिका ग्याबिन जाली ११० वटा हालिने उनले सुनाए ।

ग्याबिन जालीमा ढुंगा मात्रै ५५० घनमिटर भन्दा बढी लाग्ने अुनमान गरिएको छ । लागत अनुमान अनुसार २६ लाख भन्दा केही बढी आउने देखिन्छ । तथापी परिषदले २५ लाखको बजेट सुनिश्चितता मार्फत पठाएको छ । काम सकिएपछि मात्रै बिल फ्र्यौस्ट गरी बजेट निकासा हुन्छ ।

निर्माण शुरु गरिएको जग्गा सार्वजनिक हो । उक्त भेन्युलाई दक्षिण एशियालीस्तरीय ट्रायथोलन प्रशिक्षण तथा प्रतियोगिता आयोजनास्थलको रुपमा विकास गरिने नेपाल ट्रायथोलन संघ कास्कीको योजना छ । । पुम्दीभुम्दीमा खास गरी प्रशिक्षणमा आउने खेलाडी बस्ने आभाषसहितको भौतिक पुर्वाधार तयार गरिने उनको भनाई थियो । फेवातालसँगै जोडिएको उक्त ठाँउमा ट्रायथोलन गर्न सहज हुने छ । प्राकृतिक सुन्दरताले समेत भरिएको उक्त ठाँउबाट पुम्दीभुम्दीकोट, विश्वशान्ति स्तुपा, उत्तर तर्फ फेवातालसँगै हिमाली दृष्य तथा दक्षिण तर्फ मट्टिखानको रमणीय दृष्य देखिन्छ ।

स्टाण्डर्ड र स्प्रिन्ट दुई विधामा ट्रायथोलन प्रतियोगिता गरिन्छ । स्प्रिन्ट विधामा ७५०मिटर स्वीमिङ, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर रनिङ हुन्छ । स्टाण्र्डड तर्फ १५ सय मिटर स्वीमिङ, ४० किलोमिटर साईक्लिङ र १० किलोमिटर दौड(रनिङ) हुने छ । एकेडेमी निर्माण गरिएको अवस्थामा ट्रायथलोन मार्फत पोखराको स्पोर्टस टुरिज्ममा नयाँ आयाम थपिने विश्वास छ । दक्षिण एशियालीस्तरीय ट्रायथोलन प्रतियोगिता समेत पोखरामा आयोजना गरिसकिएको छ । ट्रायथोलनको आवश्यक पुर्वाधारसहित निर्माण गरिए आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने मात्रै नभई स्थानीयस्तरको आर्थिक समृद्धिलाई पनि टेवा पुर्याउने विश्वास गरिएको छ ।