एक महिनाको बीचमा चार शारीरिक सुगठन प्रतियोगिता

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असार २४ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) पोखरामा एक महिनाको फरकमा तीन वटा शारीरिक सुगठन प्रतियोगिता हुदैै छ । साउन १९ गतेदेखि भदौको १६ सम्म पोखरामा तीन प्रतियोगिता हुदैै छन्।

अन्तराष्टिर्य फेडेरेसन अफ बडिल्डिंग (आईएफबीबी) अन्तर्गतको कास्की बडिविल्डिङ तथा फिटनेस संघले मध्य साउनमा ‘प्रथम मिस्टर पोखरा शारिरीक सुगठन प्रतियोगिता २०७५’ गर्ने भएको छ । प्रतियोगिता पश्चिमाञ्चल स्तरीय हुने छ । पश्चिमाञ्चलका १६ जिल्लाका खेलाडीहरुले मिस्टर पोखरा बन्न प्रतिस्पर्धा गर्ने कास्की बडिविल्डिङ तथा फिटनेस संघका अध्यक्ष राजुकुमार थापाले जानकारी दिए ।

युवाहरुलाई लागुपदार्थको कुलतबाट मुक्त राख्दै फिटनेसको माध्यमबाट स्वाथ्य समाज निर्माण गर्ने उद्देश्यसहित संघले विभिन्न कार्यक्रम गर्दैआएको छ । संघले पोखरामै पहिलो पटक शारिरीक सुगठनका खेलाडीहरुलाई स्पोर्टस मेडिसिन सम्बन्धी आवश्यक परामर्श समेत दिएको थियो ।

साउन १९ गते हुने प्रतियोगितामा १२५ खेलाडीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गराईने छ । प्रत्येक तौल समूहको विजेताले ओभरअलमा प्रतिस्पर्धा गर्ने छन् । ओभर अलमा विजेता हुने खेलाडीले नगद ५० हजार रुपैयाँसहितको ट्रफी पाउने उनले बताए । प्रत्येक तौल समूहको विजेताले नगद १० हजार, दोस्रोले ७ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउने छ । प्रतियोगिताको लागि संघले ५ लाख खर्च हुने अनुमान गरेको छ ।

त्यसपछि नेपाल बडिविल्डिंग तथा फिटनेस संघको शाखा कास्की जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघले प्रदेशस्तरीय चौथो माछापुच्छ्रे बडिविल्डिङ तथा फिटनेस च्याम्पियनसिप पोखरामै गर्दै छ । अर्को प्रतियोगिता भदौको १ र २ मा दोस्रो राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुदैै छ । त्यसपछि पोखराको बुल्समेन क्लबले तीन लाख पुरस्कार राशीको च्याम्पियनसिप गर्दै छ ।