‘माउण्टेन क्रस कन्ट्री च्यालेन्ज’को रुट अवलोकन सम्झौता भोलि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ११ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरामा आयोजनाको तयारी गरिएको ‘फष्ट पोखरा इन्टरनेशनल माउण्टेन क्रस कन्ट्री च्यालेन्ज’ को आवश्यक रुटको रेखांकन शुरु गरिएको छ । अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री च्यालेन्ज पोखराको फेवाताल किनार बाराही घाट खेल मैदानबाट शुरु गर्ने निर्णयसहित चीनिया टोलीले रुटमा पर्ने ठाँउको स्थलगत अध्ययन गरेको छ । शुक्रबार विहान स्थलगत अवलोकन गरेको थियो ।

‘माउण्टेन क्रस कन्ट्री च्यालेन्ज’ रुटको लागि चीनिया टोलीले स्थलगत अध्ययन गरिसकेको छ ।’ जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले भने–‘सबै अध्ययन भईसकेको छ । टोलीसँग अब सम्झौता मात्रै बाँकी छ ।’ उनका अनुसार ड्यामसाईड, छोरेपाटन, मट्टीखान, कुभिण्डे, उल्लेरी ढवा हुदैं भुम्दी, कालाबाङ, स्वाँरा, लुकुनस्वाँरा, ट्रायथोलन भेन्युबाट डुंगाबाट फेवातालमा तैरिदै खपौदी पुग्ने छ ।

कुनमिङमा आयोजना हुदैं आएको अल्ट्रा रेसको यो वर्षको संस्करण पोखरामा गर्ने निश्चित भईसकेको पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । ‘आवश्यक तयारी भईसकेको छ । अध्ययन टोलीले स्थलगत अध्ययनसँगै भिज्योल(छायाँकन) समेत खिचेका छन् ।’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेलेले भने–‘शनिबार हामी दुईपक्ष बीच सम्झौता गर्ने तय गरेका छौं । पोखरा र चीनको कुनमिङ शहर बीच भगिनीसम्बन्धलाई अझ प्रगाढ बनाउन कुनमिङस्थित माउण्टेनरिङ्ग एक्सप्लोरेसन एशोसियनले पोखरामा अल्ट्रा रेसको आयोजना गर्ने जनाएको छ । टोलीले आगामी सेप्टेम्टबरमा आयोजना गर्ने तय गरेको छ ।

एक्प्लोरेसन एशोसियनका महासचिव झाङ सीको नेतृत्वमा दश सदस्यीय टोली पोखरा आएको हो । टोलीले पोखरामा चरणबद्ध अध्ययन समेत गरिसकेपछि माउण्टेन क्रस कन्ट्री च्यालेन्ज गर्ने निर्णयमा पुगेको संघका अध्यक्ष पालिखेले सुनाए । टोलीले गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालसँग भेटघाट समेत गरेका थिए । ‘कुनमिङ टोलीले स्थलगत अध्ययनसँगै बनाएको भिज्योल(छायाँकन)लाई चीनको बजारमा पर्यटन प्रवद्र्धनको लागि बजारीकरण गर्ने लक्ष्य हाम्रो छ ।’ उद्योग वाणिज्य संघका अध्यक्ष पालिेखले भने–‘यसले पोखरामा चीनिया पर्यटक तान्ने महत्वपूर्ण आधार बन्न सक्छ ।’

दौड उकाली ओराली गरी ४२ किलोमिटरको हुने छ । १५ सय मिटर फेवाताल क्रस गर्नुपर्ने हुन्छ । माउण्टेन क्रस कन्ट्री च्यालेन्जको लागि जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा उद्योग वाणिज्य संघ, पोखरा लेखनाथ महानगरपालिका तथा पश्चिमाञ्चल होटल संघले सहकार्य गरेका छन् । माउण्टेन क्रस कन्ट्री च्यालेन्जलाई कास्की जिल्ला एथेटिक्स संघले प्राविधिक रुपमा सहयोगी भूमिका खेल्ने जिल्ला पखेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले बताए । उनका अनुसार माउण्टेन क्रस कन्ट्री च्यालेन्ज’को लागि एथलेटिक्स संघ कास्कीका पदाधिकारीसँग छलफल गर्दै सहयोगको प्रतिबद्धता जनाईसकेका छन् ।

पछिल्लो समय नेपाल भित्रिने चीनिया पर्यटक अन्य देशको तुलनामा बढी छन् । नेपालमा ५४ हजार चीनिया पर्यटक आगमन भईसकेको तथ्यांक छ । फ्रि भिसाले चीनिया पर्यटकका आकर्षण बढीरहँदा पोखरामा पनि उल्लेख्य आगमन देखिएको छ । साहसिक खेल पर्यटनको लागि चीनियाँ पर्यटक पोखरा आउने गरेका छन् । विशेष गरी प्याराग्लाइडिङ प्रति चीनिया पर्यटकको चासो बढ्दै गएको छ ।