असोज अन्तिम साता पोखरामा ‘अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री दौड’

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १४ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा र चीनियाँ शहर कुनमिङ बीच भगिनी सम्बन्ध छ । भगिनी सम्बन्धलाई अझ प्रगाढ बनाउने अभियानमा पोखरा उद्योग वाणिज्य संघ पोखरा जुट्दै आएको छ । पोखरालाई साहसिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यसहित चीनिया पर्यटक प्रवद्र्धन गर्ने अभियानसहित आगामी असोज २९ गते(अक्टोबर १६) मा ‘पोखरा अन्तराष्ट्रिय पर्वतीय क्रस कन्ट्री रेस’ गरिदैं छ ।

पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ पोखरा र माउण्टेनरिङ्ग एक्सप्लोरेसन एशोसियन कुनमिङ(चीन को आयोजना, पोखरा र कुनमिङ महानगरपालिकाको संरक्षकत्व हुने रेस ४२.२ किलोमिटरको हुने छ । २२ किलोमिटर दौड, १९ किलोमिटर साईक्लिङ र १.२ किलोमिटर बोटिङ(डुंगा) पुरा गर्नुपर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवं पोखरा उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, एथलेक्ट सोसाईटी काठमाडौं, जिल्ला खेलकुद विकास समिति कास्की, भूतपुर्व खेलाडी मञ्च, नेपाल ट्रायथोलन संघ, पोखरा सहारा क्लब लगायत विभिन्न संघसंस्थाले सहयोगी भूमिका खेलेका छन् ।

क्रस कन्ट्रीमा ४२ किलोमिटरको दूरीमा दौड, साइक्लिङ र बोटिङ(डुंगा) समावेश गरिएको छ । एउटा समूहमा ३ जना सहभागि हुने प्रावधान छ । एकजना महिला अनिवार्य गरिएको छ । ३ जनाको समूहमा दुई जना महिला र एक जना पुरुष अथवा दुई पुरुष, एक महिला गरी बनेको टिमले प्रतिस्पर्धा गर्ने पाउने छन् । माउन्टेनरिङ एसोसियनका विज्ञहरुले झण्डै दुई वर्षको अध्ययनपछि पोखरामा क्रस कन्ट्री दौड आयोजना गर्ने निर्णय गरेपछि असोज २९ गते पोखरामा अन्तराष्ट्रिय पर्वतीय क्रसकन्ट्री रेस गरिने मिति तय गरिएको संयोजक पालिखेले बताए । रेसमा नेपाल र चीनियाँ गरी ९० जना(३० टिम)को सहभागिता रहने विश्वास गरिएको छ ।

दौड बाराही घाटबाट शुरु हुने छ । ड्यामसाईड हुदैं तिब्बतियन क्याम्प हुदैं फुस्रे खोलामा पुगेपछि साईक्लिङ शुरु हुन्छ । साईक्लिङ त्यहाँबाट केमेरे, राम्दी, मट्टीखान रिर्सोटहुदैं रामकोटमा पुग्ने छ । त्यसपछि उल्लेरी, खरिखानी, भयरथान, पैयु चौतारी, भुम्दी, कालाबाङ, स्वाँरा, लुकुनस्वाँरा, लिचिबोट हुदैं लिचिबोटबाट डुंगामा लिएर स्वीमिङपुल घाटमा आईपुग्ने छन् । स्वीमिङपुल घाटबाट पुन दौडेर बाराही घाट आएपछि दौड पुरा हुने छ । प्रतियोगिताको नारा पनि नारा नै ‘रन फर लभ’ राखिएको छ । ‘पोखराको पर्यटन प्रवद्र्धन गर्नको लागि हामीले थालेको यो सानो प्रयास हो’, पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष पालिखेले भने–‘पोखराको पर्यटन प्रवद्र्धनको लागि यो प्रतियोगिता कोषेढुंगा सावित हुनेछ ।’ उनका अनुसार प्रतियोगिताको अन्तर्राष्ट्रिय रुपले प्रवद्र्धन गरिनेछ । चिनिया मिडियाबाट हुने प्रवद्र्धनले पनि यहाँको पर्यटन उद्योगलाई ठूलो टेवा पुग्ने उनको विश्वास थियो ।

पोखरा उद्योग वाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले पोखराको पर्यटन प्रवद्र्धनको लागि यो प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । गण्डकी प्रदेशका आर्थिक विकास समितिका सभापति दिपक कोइरालाले पोखराको पर्यटन प्रवद्र्धनमा क्रसकन्ट्री रेसले नयाँ आयाम थपिने विश्वास व्यक्त गरे । ‘स्पोर्टस टुरिज्म भएपछि यो विशुद्ध पर्यटनसँगै जोडिएको छ ।’ उनले भने–‘पोखराको पर्यटनलाई अझ उचाईमा पुर्याउने यस प्रतियोगिताले महत्वपूर्ण टेवा दिन्छ भन्ने विश्वास छ ।’

नेपालमा एक वर्षमा ५४ हजार चीनिया पर्यटक आगमन भईसकेको तथ्यांक छ । फ्रि भिसाले चीनिया पर्यटकका आकर्षण बढिरहँदा पोखरामा पनि उल्लेख्य आगमन देखिएको छ । साहसिक खेल पर्यटनको लागि चीनियाँ पर्यटक पोखरा आउने गरेका छन् । पोखराको पर्यटन प्रवद्र्धन गर्न १७ वर्ष अघि द्वन्द्वकालिन समयमा जाँउ है पोखरा अभियान शुरु गरिएको बताउँदै संयोजक पालिखेले पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माणपछि चीनियाँ पर्यटक प्रवद्र्धन गर्न यस प्रतियोगिताले अझ प्रभावकारी भूमिका खेल्ने दावी गरे ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले पनि पोखरामा पर्यटकको आगमन भन्दा पनि पर्यटकको बसाई लम्ब्याउनुपर्ने खाँचो रहेको उल्लेख गर्दै स्पोर्टस टुरिज्म मार्फत पर्यटकको बसाई लम्ब्याउन सकिने विश्वास व्यक्त गरे । जिल्ला खेलकुद विकास समितिका निबर्तमान अध्यक्ष यामबहादुर गुरुङले विजेता नेपाली समूह(प्रथम, द्धितीय र तृतीय हुने टोली)लाई कुनमिङमा आयोजना हुने १०० किलोमिटरको क्रसकन्ट्री रेसमा सहभागिता जनाउन पाउने जनाए ।