१३ औं दक्षिण एशियाली खेलकुद, प्याराग्लाईडिङ अझै अनिश्चित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १८ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-प्याराग्लाईडिङका २७ जना खेलाडी नियमित प्रशिक्षणमा छन् । नियमित प्रशिक्षणमा रहेका खेलाडीबाट ८ जना छनोट भईसकेका छैनन् । उनीहरुलाई बन्द प्रशिक्षणमा राख्ने तारताम्य नै छैन् । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउने लक्ष्य र उद्देश्य खेलाडीको छ । घरेलु भूमीमा स्वर्ण पदक दिलाउने अपेक्षा र विश्वास छ । तर सागमा प्याराग्लाईडिङ नै हुने र नहुने चिन्ता र पीरलो खेलाडीलाई थपिएको छ ।

प्याराग्लाईडिङको लागि नेपाल अहिलेसम्म एक्लो प्रतिस्पर्धी छ । अन्य देशको सहभागिता अन्यौलता छ । अन्यौलताले नै २७ जनाबाट ८ खेलाडी छनोट गरिएको छैन् । ‘निकै अन्यौलताको अवस्थामा छौै ।’ नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघका महासचिव शैलेन्द्र रावतले भने–‘अन्यौलताले नै खेलाडी छनोट गरिएको छैन् ।’ अन्तिम छनोटपछि मात्रै खेलाडीले राष्ट्रिय खेलकुद परिषदबाट प्राप्त सुविधा पाउने छन् ।

सागमा चार देशको अनिवार्य सहभागिता हुनुपर्छ । सहभागिता नभए प्रतियोगिता आयोजना हुदैन् । प्याराग्लाईडिङका खेलाडीहरु भारत, पाकिस्तान, भुटान, श्रींलका र बंगलादेशमा छन् । तर उनीहरुको सहभागितामा देखिएको अन्यौलताले नेपाली पाईलटले प्रतिस्पर्धा गर्न पाउने सम्भावना कमजोर छ । ‘प्याराग्लाईडिङका खेलाडी छन् । तर त्यहाँ राष्ट्रिय संघ छैनन्’ उनले भने–‘राष्ट्रिय संघ नभएपछि त्यहाँको ओलम्पिक कमिटिले पनि खासै रेसपोन्ज गरेको पाईएन् ।’ उनका अनुसार सम्बन्धीत ती देशका ओलम्पिक कमिटिले समेत चासो नदिदाँ सागमा प्याराग्लाईडिङ हुने र नहुने अझै निश्चित भईसकेको छैन् ।

महासचिव रावतले नेपाल ओलम्पिक कमिटिले प्याराग्लाईडिङमा खेलाडी सहभागिता गराउन सम्बन्धीत देशका ओलम्पिक कमिटिलाई पत्राचार गर्ने तयारी गरेको छ । ‘हामीले नेपाल ओलम्पिक कमिटिको नयाँ कार्यसमितिलाई नै भारतसहित अन्य देशका ओलम्पिक कमिटिलाई सहभागिताको लागि पत्रचार गर्ने आग्रह गरेका छौं’ उनले भने–‘ओलम्पिक कमिटि मार्फत सहभागिता जनाउन सके सागमा प्याराग्लाईडिङ प्रतिस्पर्धा हुने थियो ।’

अन्यौलताकै कारण प्याराग्लाईडिङको पूर्ण तयारी गरिएको छैन् । खेलाडी आफनौ तौरतरिकाले उडान भर्दै आएका छन् । राष्ट्रिय खेलकुद परिषद पनि अन्य देशलाई सहभागिताको लागि आग्रह गरेको संघले दावी गरेको छ । राष्ट्रिय खेलकुद परिषदले प्याराग्लाईडिङको लागि आवश्यक तयारी गरिरहेको समेत उनले सुनाए । खेलाडीलाई आवश्यक पर्ने ८ सेट ग्लाईडर उपलब्ध गराउने तयारीमा छ । ‘एक्युरेसी र क्रसकन्ट्रीको प्रतिस्पर्धाको लागि छुट्टाछुट्टै सेट चाहिन्छ । त्यसैले ८ सेट ग्लाईडर परिषदले उपलब्ध गराईदिने छ ।’ उनको भनाई थियो ।

प्याराग्लाईडिङको लागि आवश्यक उडान र अवतराण गर्ने स्थलको पहिचान खासै गरिएको छैन् । यद्यपी पोखरामा प्याराग्लाईडिङ व्यवसाय सञ्चालन गर्दै आएको व्यवसायीकै उडानस्थल प्रयोग गरिने छ । खास गरी कास्कीकोटको तोरीपानीको उडानस्थल प्रयोग गरिने सम्भावना छ । ‘महानगरपालिकाले जग्गा उपलब्ध गराउन नसक्दा तोरीपानीलाई उडानस्थलको रुपमा प्रयोग गर्छौ ।’ उनले भने–‘एक हजार स्क्वायरफिटको कार्पेट विछ्याएर प्रतिस्पर्धा गराउने छौं ।’ परिषदले प्रतियोगिताको लागि आवश्यक पर्ने ५० थान जिपिएस र ५० थान रेडियो सेट समेत उपलब्ध गराउने छ ।

नेपालले गतवर्ष इण्डोनेशियामा आयोजित एशियन गेम्समा प्यारालाईडिङको क्रसकन्ट्री टिम इभेण्टमा पुरुषले ऐतिहासिक रजत पदक जितेर फर्किएको थियो । जुन पदक २० वर्षपछि नेपाली खेलकुदले जितेको थियो । संयोग नै मान्नुपर्छ पोखरामा प्याराग्लाईडिङ शुरुभएको पनि ठ्याक्कै २० वर्ष पुगेको थियो । सागमा प्याराग्लाईडिङ एक्युरेसी तथा क्रस कन्ट्रीमा महिला र पुरुषले एकल र टिम इभेण्टमा स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्ने छन् । file pic