पिपिएल एक महिना पछि सर्यो, मंसिर २८ गतेदेखि शुरु हुने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ४ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-यही कार्तिक २६ गतेदेखि तय गरिएको पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरिएको छ । मैदानको आन्तरिक तयारी गरिरहेको क्वीन्स इभेण्ट म्यानेजमेन्ट प्रालिले मंसिर २८ गतेदेखि पुसको १२ गतेसम्म गर्ने नयाँ मिति सार्वजनिक गरिएको हो ।

कार्तिक २६ गतेदेखि आयोजना गर्ने निर्णयसहित मैदानको आउट फिल्ड र पीच मर्मत कार्य शुरु गरिएको थियो । मिति नजिकिदैं गएपछि पीच पूर्णरुपमा तयार हुने सम्भावना कम देखिदैं गएको थियो । प्रिमियर लिग साग गेम्स अघि नै आयोजना गर्ने तय भएपनि अहिले सार्वजनिक गरिएको नयाँ मितिले पछि धकेलिएको हो ।

पोखरामा साग अन्तर्गत महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने चर्चा छ । चर्चासँगै मैदान तयार गर्नुपर्ने अवस्था थियो । त्यसै अवस्थामा प्रालिले काम पिपिएल आयोजना गर्ने निर्णयसँगै मर्मतको काम अघि बढाइएको थियो । मैदानमा पीच क्युरेटर प्रदीप राउतले काम गर्दै आएका छन् ।

चार वटा पीच तयार गरिदैं थियो । एउटा फ्ल्याट(क्ले) विकेट तयार गरिदैं छ । बाँकी ३ वटा भने ग्रिनरी(दुवो)सहितको पीच तयार पार्ने गरी काम अघि बढाइएको थियो । अब नयाँ मिति अनुसार क्रिकेट पीच निर्माण अझ प्रभावकारी हुने विश्वास गरिएको छ । आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता एक महिना सारिएको उल्लेख गरेको छ । सोही समयमा दक्षिण एसियाली खेलकुद अन्तरगत महिला क्रिकेट खेलको तयारीका लागि प्रतियोगिता सञ्चालनका साथै नोभेम्वर १ देखि १२ सम्म इंग्ल्यान्डको मेरिलोबोन क्रिकेट क्लब(एमसीसी) बाट नेपालको भ्रमण दौरान काठमाडौं र पोखरामा मैत्रीपुर्ण क्रिकेट खेल्ने कार्यक्रम रहेको छ ।

यससँगै सोही समयमा नेपाली यु–१९ टोली भारतको भ्रमणमा रहने हुँदा राष्ट्रिय खेलाडी सहित अन्य खेलाडीहरु सोही कार्यक्रमलाई व्यस्त रहने हुदा प्रतियोगिता एक महिना पछि सार्नुपरेको उल्लेख छ । पीपीएल ६ शहरका ६ फ्रेन्चाइज टोलीले खेल्नेछ । गत वर्षको पहिलो संस्करण भने पोखरा पल्टनले जितेको थियो । file pic