सागका केही खेलमा टिकेटिङको व्यवस्था राख्नोस–सदस्य सचिव

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक ७ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले १३ औं दक्षिण एशियाली खेलुकद प्रतियोगिता(साग)मा केही खेलमा टिकेटिङ गर्नुपर्ने बताएका छन् । उनले पोखरामा बिहीबार विभिन्न समितिका संयोजकसँगको छलफलमा केही खेलमा टिकटको व्यवस्था गरेर सम्बन्धीत खेल पुर्वाधारमै खर्च गर्ने गरी उठाउनुपर्ने स्पष्ट पारे ।

‘तपाईहरुले टिकटको व्यवस्था गर्नुस । जुन खेलमा टिकटको व्यवस्था गरिन्छ । त्यही खेलको विकास र विस्तार एवं पुर्वाधारमा खर्च गर्नुहोस ।’ सदस्य सचिव सिलवालले भने–‘दर्शकको चाप हुने खेलमा टिकटको व्यवस्था राख्दा हुन्छ ।’ उनका अनुसार कुन खेलमा टिकट राख्ने भन्ने बारे स्थानीयस्तरमै छलफल गरेर निर्णय गर्नुपर्छ । सदस्य सचिव सिलवालले गठित विभिन्न समितिको लागि परिषदले निश्चित बजेट रहेको उल्लेख गर्दै त्यसमा रहेर खर्च गर्न आग्रह समेत गरे । फुटबल र विच भलिबलमा दर्शकको उपस्थिति अन्यको भन्दा बढी हुन्छ ।

‘बजेट कति हुन्छ समितिले अनुमान गरेर पठाउनुपर्छ ।’ उनले भने–‘त्यसै अनुसार परिषदले समितिलाई बजेट उपलब्ध गराउने छ ।’ सुरक्षादेखि स्वयंसेवक परिचालन, यातायातदेखि बसोबास लगायत दर्जनौं समिति गठन गरिएको छ । सागलाई भव्य सभ्य मात्रै नभई पोखरामा सम्झन लायक बनाउने तर्फ ध्यान दिन सम्बन्धीत समितिका संयोजकलाई निर्देश समेत गरे । ‘कल्चर र हस्पिटालिटीमा बढी ध्यान दिनुपर्छ ।’ उनको भनाई थियो ।

पोखरामा महिला फुटबलसहित ८ खेल आयोजना गर्ने जिम्मेवारी छ । महिला फुटबलको लागि पोखरा रंगशाला फुटबल मैदान निर्माण कार्य भईरहेको छ । अझै दुबो आईपुग्न बाँकी छ । प्यारापिटको लागि सिटको सामान आउने चरणमै छ । ट्रयाक निर्माण कार्यलाई पनि तिब्रता दिईएको छ । अन्य पुर्वाधारको लागि भने बजेट आईसकेको छैन् । बजेट नआउँदा सर्वसाधारण समेत साग हुनेमा विश्वस्त बन्न सकिरहेका छैनन् ।

आर्चरी, भारोत्तोलन, प्याराग्लाईडिङ, ट्रायथोलन, ह्याण्डबल र विच भलिबल पोखरामा आयोजना गरिने छ । ती खेलसँगै महिला क्रिकेट पोखरामा आयोजना गर्ने सम्भावना पनि छलफलकै चरणमा छ । प्याराग्लाईडिङको लागि सहभागि देश नहुदाँ आयोजना हुने सम्भावना क्षीण छ । ट्रायथोलन, आर्चरी, ह्याण्डबल र भारोत्तोलनको पुर्वाधार तयार पारिएको छैन् । ‘बजेट आएपछि पुर्वाधारको काम अघि बढ्ने थियो । तर नआउँदाँ समस्या बढेको छ ।’ ती खेलका सम्बन्धीत पदाधिकारीहरु बताउँछन् ।

बजेट निकासा नहुदाँ पुर्वाधार निर्माणमा देखिएको ढिलाईले १३ औं दक्षिण एशियाली खेलुकद प्रतियोगिता(साग) नहुने हो कि भन्ने चिन्ता स्थानीयस्तरमा परिरहँदा राष्ट्रिय खेलकुद परिषदले भने सागको लागि कुनै कन्फ्युजन नहुने आग्रह गरेको छ । पोखरा रंगशालामा बिहीबार विभिन्न समितिसँगको छलफलमा परिषदका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले बजेट सम्बन्धित समितिलाई नुमानित गरेर पठाउन निर्देश गरे ।

‘छलफलमा सबैमा कन्फ्युजन देखियो ।’ उनले भने–‘कन्फ्युजन देखिन र हुन जरुरी छैन् ।’ उनले साग राष्ट्रले भन्दा पनि शहरले आयोजना गर्ने हुदाँ पोखराको गरिमालाई जोगाउने र बचाउने काम यहींका सम्बन्धीत स्टोकहोल्डरले गर्नुपर्ने ध्यानाकर्षण गराए । ‘सागको लागि गरिएको तयारी हाम्रो लागि महंगो घर हो ।’ उनले भने–‘महंगो घरमा हिड्न जानिएन भने लडिन्छ । त्यसैले विशेष ध्यान दिनुपर्छ ।’

खेलाडीको लागि विशेष सुरक्षा व्यवस्था गर्नुपर्नेमा जोड दिदैं हवाई मार्फत आउने खेलाडीलाई एयरपोर्टदेखि खेलस्थल र बासस्थल पुर्याउनुपर्ने चुनौति हुने उल्लेख गरे । स्थलमार्ग हुदैं आउने खेलाडीलाई स्कर्टिङ गरेर ल्याउने र पुर्याउने तर्फ पनि विशेष ध्यान दिनुपर्ने खाँचो औंल्याए । भारतीय र पाकिस्तानी खेलाडीको सुरक्षामा अझ बढी जोडदिनुपर्ने प्रमुख थापाले सुरक्षाकर्मीसँग आग्रह गरे ।