तयारीको अन्तिमचरणमा फुटबल मैदान, एकसातामा प्यारापिटका सामान आउने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक १६ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-निर्माणको ८ महिनापछि पोखरा रंगशालाभित्रको फुटबल मैदानले आकार लिएको छ । चरणबद्ध रुपमा बर्मुडा दुबो(चपरी) कोलकत्ताबाट आएपछि मैदानले नयाँ रुप लिएको हो । असोज ९ गते पहिलो चरणको दुबो पोखरा रंगशाला आईपुगेको थियो । पटक पटक गरी झण्डै ८६ हजार स्क्वायर फिट दुबो मैदानमा विछ्याईसकिएको छ । अब भने केही मरेको दुबो उखेलेर नयाँ राखेर मैदानलाई १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अगावै हरियाली बनाई महिला फटुबल शुरु गरिने लक्ष्य छ ।

शनिबार मात्रै पाँचौ चरणमा दुबो आईपुगेको थियो । दुबोले मैदान भरिएको छ । नयाँ दुबो सर्न अझै समय लाग्छ । एक महिना अघि आएको दुबो हरियो भईसकेको छ । पटक पटक गरी दुबो आउँदा मैदान निर्माणको गति केही धिमे हुन पुगेको थियो । कोलकत्ताबाटै दुबोको लागि प्राविधिक टोली एकमहिनादेखि नै पोखरा रंगशाला फुटबल मैदानमा खटिदैं आएका छन् । ‘दुबो आईपुगेको छ । मैदान तयार भएको छ । केही केही ठाँउमा दुबो मरेको छ । नयाँ हाल्नुपर्छ । त्यसको लागि एकदुई दिनमै दुबो फेरी आईपुग्छ ।’ भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट म्यानेजरको रुपमा रहेको दिपक बरालले भने–‘दुबो आईसकेपछि मेशिनले काटेर रोलर प्रयोग गरेर पानी र मल छर्ने छौं ।’

उनको भनाई अनुसार एक साताभित्रमा अब दुबो विछ्याउने काम पूर्णरुपमा सकिन्छ । तीन साता मात्रै पानी र मल छर्केर मैदानलाई अन्तिम रुप दिने योजना रहेको उनले सुनाए । ‘मैदानको काम सकिदैं छ । त्यसपछि प्यारापिटको काम अघि बढ्छ ।’ उनले भने–‘प्यारापिटको केही सामान भारतको विशाखापट्नम बन्दरगाहबाट पोखराको लागि हिडिसकेको छ ।’ उनका अनुसार प्यारापिटको पहिलो चरणको सामान नोभेम्बर ७ भित्रमा आईपुग्ने सम्भावना छ । नेपाल भारत सीमा भन्सारमा अल्झिएको अवस्थामा केही दिन लम्बिन सक्ने छ ।

दुबोको लागि कम्पनीले ढुवानीसहित ६३ लाख रुपैयाँ खर्चिएको छ । प्राविधिक टोलीलाई कम्पनीले नै आफनै खर्चमा एकमहिनादेखि मैदानमा खटाईरहेको छ । प्यारापिट जडानको लागि आवश्यक फाउण्डेशनको काम पुरा भईसकेको छ । पहिलो चरणमा १० हजार सिट जडान गरिने छ ।मैदानको दुबोयुक्त चपरीको लागि भन्सारमा केही दिन थन्किदाँ दुबो पहेंलो हुदैं डढ्दै गएको छ । मैदानमा दुबो कतै हरियो देखिएको छ भने कतै डढेलो लागेर निभाएको जस्तै उजाड देखिएको छ ।

ट्रयाकको लागि अस्फाल्ट कालोपत्रे लगभग सकिएको छ । «याकमा सिन्थेटिक राख्ने काम शुरु गर्ने तयारीमा छ । हुने छ । सिन्थेटिक ट्रयाकको लागि आवश्यक सामान ग्रानुयल्स रबर दाना पोखरा रंगशालामा झरिसकेको झण्डै एक महिना वित्यो । रबर दानालाई केमिकल प्रयोग गर्दै ट्रयाकमा हालिने कम्पनीले जनाएको छ । जर्मनबाट ट्रयाकको रबर(रातो रंग)को समेत पोखरा झरिसकेको छ । त्यसपछि ट्रयाकलाई फाईनल टच दिने योजना कम्पनीले बनाएको छ ।

कम्पनीले फुटबल मैदानको निर्माण कार्य गत गत फागुन २६ गतेदेखि मैदान निर्माण शुरु गरिएको हो । कम्पनीका प्रोजेक्ट मेनेजर बरालका अनुसार १५ दिनभित्रमा सिटलाई जोडिसक्ने योजना कम्पनीको छ । १६ हजार ५ सयबाट बढेर २० हजार गरी भीआईपी र दर्शक सिट क्षमताको प्यारापिट हुने छ । १ अर्ब २८ करोडको लागतमा निर्माणाधिन फुटबल मैदानको चारैतिर प्यारापिट र भिआईपी र चेन्जिङ रुम भने पूर्णरुपमा तयार हुने सम्भावना देखिदैन् । सम्झौताको आधा संख्यामा प्यारापिट जडान हुने छ ।