भ्रमणकारी टोली एमसिसीसँग पोखरा ११ पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     कार्तिक २६ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नेपाल भ्रमणमा रहेको बेलायती मेरिलिबोन क्रिकेट क्लब(एमसिसी) चारवर्षपछि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मैत्रीपूर्ण खेलमा उत्रिएको छ । चार वर्ष अघि पोखरामा पराजित हुदैं फर्किएको टोलीले पोखरा–११ लाई सोमबार ४२ रनले पराजित गर्यो ।

भ्रमणकारी टोलीले पहिले व्याटिङ गर्दै १६१ रन बनाउँदै लक्ष्य प्रस्तुत गर्दा ९ विकेट गुमाएको थियो । यासिर अराफातको उत्कृष्ठ इनिङ देखिएको खेलमा अर्धशतक भने कुनैपनि खेलाडीले पुरा गर्न भने सकेनन् । यद्यपी अराफातको ३९ रनको महत्वपूर्ण योगदान देखियो । त्यसपछि जे. एडम्सले पनि २९ रन हिर्काउँदै पोखरा ११ का खेलाडीले सस्तैमा पवेलियनको बाटो सोझ्याए । रिचर्ड ग्रेटोरेक्सले २१ रन हिर्काउँदा एम.ज्याक्सनले १३ रनमै समेटिए ।

गोविन्द प्रधानको प्रदर्शन भने हेर्न र सम्झन लायक देखियो । ३ ओभरमा २२ रन दिएर ३ विकेट लिए । उनी पछि कसिलो बलिङ गर्ने क्रममा ४ ओभर ३९ रन दिदैं अमृत गुरुङले ३ विकेट लिए । सुवास भण्डारीले ४ ओभरमै २६ रन दिदाँ दुई विकेट आफनो नाममा लेखाए । दिपेश खत्रीको नाममा एकविकेट रहदाँ स्पीनर विपिन खत्री भने विकेट विहीन हुन पुगे ।

१६२ को लक्ष्य भेट्टाउन पोखरा ११ ले भने भरप्रयास गर्यो, तर सकेन् । अनुभवीको रुपमा परिचित खेलाडी सस्तैमा आउट हुदैं गएपछि सम्भावित लक्ष्य भन्दा धेरै पर नै पोखरा रोकियो । दिपेश खत्रीले अविजित ४५ रन बनाउँदै अर्धशतक तर्फ लम्किए । यद्यपी ओभर टुंगिदाँ उनी अर्धशतक पुरागर्नबाट चुके । उनकै योगदानमा पोखरा ११ ले ८ विकेटको ११९ रन बनाउँदै भ्रमणकारी टोलीसँग ४२ रनको हार स्वीकार्यो ।

गोविन्द प्रधानले २९ रनको योगदान नै पोखरा ११ को लागि सबैभन्दा महत्वपूर्ण इनिङ्सको रन बन्न पुग्यो । गतिलो शुरुवात गर्न नसकेको पोखरा ११ को सम्पूर्ण जिम्मेवारी खत्रीकै काँधमा पर्यो । प्रधानको योगदान बाहेक अन्यको उल्लेख्य र ठोस इनिङ्स भने देखिएन् । खत्रीले ३ छक्का र २ चौका ठोके । प्रधानले पनि २ छक्का र ३ चौका व्याटबाट निस्कियो । अनिल गुरुङले १६ रन हिर्काए । विल रोडिस, इजियोङले २ र एम हेमोण्ड्सले २ विकेट लिए । खेलमा अराफात म्यान अफ दि म्याच घोषित भए । भ्रमणकारी टोलीले मंगलबार प्रदेश ११ सित खेल्ने छ । भ्रमणकारी टोलीको स्वागत कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले गरेका थिए ।