पुनर्निर्माणमा पोखरा रंगशाला,भूकम्पपछि डेढ अर्ब लगानी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाको मुलगेटबाट पसेपछि धुलोले स्वागत गर्छ । यसको अर्थ हो रंगशालाका पुर्वाधारको पुनर्निर्माण । सडक देखि पार्किङ हुदैं बगैंचासम्मको कामले धुलाम्य छ । धुलोको पर्वाह भने खासै छैन् । कामको रफ्तार चलिरहेको छ, त्यसैलेपनि धुलोलाई खासै हेक्का राखिदैन् । ४१५ रोपनी क्षेत्रफलको पोखरा रंगशालाभित्र यतिबेला अधिकांश खेलका पुर्वाधार बन्दै छन् ।

अहिले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को तयारी भईरहेको छ । यद्यपी पूर्वाधारको पुनर्निर्माण भने भूकम्प पछि नै शुरु गरिएको थियो । केही नयाँ संरचना निर्माण गरिएको छ । २०७२ बैशाख १२ र २९ गते भएको भूकम्प गयो । भूकम्पले सबैक्षेत्र थलियो । त्यसपछि खेलकुद उठ्ने प्रयासमा छ । पुर्वाधार निर्माणको चरणमा छ । रंगशालाभित्र दुईवटा फुटबल मैदान बन्दै छन् । रंगाशालाभित्र चौरतिर सडक सञ्जाल विस्तार गरिदैं छ । धुलो उडेर सताईएपनि रंगशालाको फेरिने स्वरुपले पोखरालाई खेलकुदको हब बनाउने छ ।

राष्ट्रिय खेलकुद परिषदले विनाशकारी भूकम्पपछि पोखरा रंगशालाभित्र पुर्वाधार पुनर्निर्माण र नयाँ संरचना बनाउन डेढ अर्ब रुपैयाँ खर्च गरेको छ । भूकम्पपछि केही पूर्वाधार पुनर्निर्माण गरिएको हो भने केही नयाँ संरचना नै ठडिएको छ । भूकम्प अघि शुरु गरिएको बहुउद्देश्यीय कभर्ड हल भूकम्प गएको डेढवर्षपछि मात्रै तयार भएको हो । १५ करोड ५७ लाख रुपैयाँ खर्च भएको छ । १४ करोड ३० लाखमा ठेक्का सम्झौता गरिएको थियो ।

सबैभन्दा ठूलो पुर्वाधारको रुपमा प्यारापिटसहितको फुटबल मैदान तयार गरिदैं छ । २० हजार दर्शक क्षमताको प्यारापिट तयार हुने छ । लक्ष्य सागको महिला फुटबल प्रतियोगिता आयोजना गर्ने छ । तर मैदान पूर्णरुपमा तयार भईसकेको छैन् । गत फागुन देखि निर्माण शुरु गरिएको मैदान अझै दुबोले सताईरहेको छ । लागत १ अर्ब २८ करोडको लागत हो । ‘दुबो अझै २५ हजार स्क्वायर फिट आउँदैछ’ फुटबल मैदान निर्माण कम्पनी ग्रेट स्पोर्टस(भारत) तथा एम. एक कन्ट्रक्सन प्रालि(संयुक्त)का प्रोजेक्ट मेनेजर दिपक बरालले भने–‘दुबो आईसकेपछि मैदान पूर्ण रुपमा तयार हुन्छ ।’ सडक सञ्जाल विस्तार गर्ने काम कम्पनीले गरिरहेको छ ।

पोखरा रंगशालाभित्र व्याडमिन्टनको लागि १ करोड ७० लाख रुपैयाँ परिषदले उपलब्ध गराईसकेको छ । तत्कालिन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले शिलान्यास गर्दै आधा लगानी परिषदले गर्ने बचन दिएर फर्किएका थिए । ‘चारवटा कोर्टसहितको हल निर्माण अन्तिम चरणमा छ । परिषदबाट १ करोड ७० लाख रुपैयाँ आएको छ ।’ कास्की जिल्ला व्याडमिन्टन संघका सचिव दुर्गा जोजिजूले बताए । निर्माणाधिन हलमै साग अन्तर्गतको व्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिने निर्णयसँगै काम टुग्याउने चरणमा संघ छ । ३ करोड ५० लाखको अनुमान गर्दै काम अघि बढाइएको थियो । यद्यपी समयान्तरले मूल्य बृद्धि हुदैं गएको दावी संघले गरेको छ ।

सागको अर्को खेल आर्चरीपनि पोखरा रंगशालाभित्रै आयोजना गरिने छ । परिषदले आर्चरीको मैदानसहितको पुर्वाधार बनाउन २ करोड १६ लाख रुपैयाँ खर्च गरिसकेको छ । मैदान, भवन, तार्केट हान्नको लागि बनाइएको ट्रस लगायत बनाउन विभिन्न समयमा गरी उक्त रकम उपलब्ध गराईसकेको छ । ‘मैले अध्यक्ष सम्हालेयता चार चरणमा पैसा आयो । एक पटक २० लाख, अर्को पटक ३० लाख, त्यसपछि ५० लाख र अन्तिममा १० लाख रुपैयाँ आयो ।’ कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेचरनले भने–‘पहिलो बजेटले कम्पाउण्ड वाल लगाए । त्यसपछि तारजाली हालियो । जमिन सम्याउने काम भयो र अन्तिमको बजेटले नाली निर्माण गरिएको हो ।’ उनले अध्यक्ष सम्हाल्नुअघि आर्चरीको भवन र तार्केट हान्ने ट्रस निर्माण भईसकेको जानकारी दिए ।

परिषदकै लगानीमा पोखरा रंगशालाभित्रै टेनिसको चेन्जिङ रुम, शौचालय, फिडव्याक कक्ष लगायतका पुर्वाधार तयार गरिएको छ । एउटा हार्ड कोर्ट र क्ले कोर्ट समेत बनाईएको छ । २ करोड ४० लाख रुपैयाँमा टेण्डर आह्वान गरी गत आर्थिक वर्षदेखि काम शुरु गरिएको हो । निर्माणको अन्तिम चरणमा छ । परिषदकै लगानी तयार गरिएको ह्याण्डबल कोर्ट पुनर्निर्माणको चरणमा छ । ९० लाखमा बनाइएको संरचनालाई फेरी मर्मत सम्भार गर्दै आउटडोर म्याट राखेर निर्माणको चरणमा छ । त्यसको लागि ५० लाख रुपैयाँ अहिले खर्च गरिदैं छ । चारवटा कोर्टसहितको भलिबल टे«निङ सेन्टर निर्माणको दायित्व राष्ट्रिय खेलकुद परिषदकै हो । परिषदले विभिन्न चरणमा गरी ९७ लाख रुपैयाँ निर्माणमा खर्च गरेको छ । प्यारापिट समेत बनाइएको छ । भलिबल खेल पोखरामा आयोजना नहुने भएपनि प्यारापिट भने थपिएको छ । कास्की जिल्ला भलिबल संघले उपभोक्ता समिति बनाई काम गरिरहेको छ ।

पोखरा रगशालाभित्रैको क्रिकेट मैदान पनि सागको अर्को भेन्यु हो । महिला क्रिकेट आयोजना गर्ने जिम्मेवारी छ । जिम्मेवारीसँगै क्रिकेट मैदानको लागि राष्ट्रिय खेलकुद परिषदले चरणबद्ध रुपमा १३ लाखले माटो भर्ने काम र पछिल्लो समयको १० लाखले पानीको पाईप विछ्याउने काम गरिएको थियो । मैदानको लागि यो आर्थिक वर्षमा ३ करोड संघीय मन्त्रालय र दुई करोड रुपैयाँ गण्डकी प्रदेश सरकारबाट छुट्टाइएको छ । यद्यपी निकासा भने भईसकेको छैन् । खानेपानीको लागि बोरिङ समेत खनिएको छ । १७ लाख रुपैयाँ खर्चिएको छ । ४५ लाख रुपैयाँ फुटबल मैदान तथा ट्रयाक मर्मतको लागि खर्च गरिएको तथ्यांक जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिसँग छ । मुल गेट मर्मत सम्भार तथा रंगरोगनको लागि १५ लाख रुपैयाँ खर्च गरिएको थियो । २०४० सालमा निर्माण गरिएको फुटबल मैदानको पुर्व र पश्चिम रहेको दर्शक र भिआईपी प्यारापिट भत्काउन समेत परिषदले बजेट उपलब्ध गराएको थियो ।