विच भलिबल कोर्टको लागि बालुवा पखाल्दै चाल्न व्यस्त

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ५ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) -चिसो मौसममा चिसै पानीले खाली हातले बालुवा पखाल्दै चाल्न व्यस्त छन् । बिहानैदेखि साँझसम्म उनीहरु बालुवा छान्ने काम गर्छन् । बालुवाबाट माटोको परिणाम हटाउन पानीले छानिएको हो । छानिएको बालुवालाई कोर्टमा हाल्ने तयारी छ ।

नेपालमै पहिलो पटक अन्तराष्ट्रियस्तरको विच भलिबल प्रतियोगिता हुदैै छ । सन्दर्भ हो १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) । सागमा विच भलिबललाई समेटिएपछि पोखरामा कोर्ट निर्माण शुरु गरिएको छ । फेवाताल किनारमा चारवटा कोर्ट तयार गरिदैं छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार बालुवा शरीरमा टाँसिनु हुदैन् । तर पोखरामा उपलब्ध बालुवा भने शरीरमा टाँसिन्छ । शरीरमा नटाँसिनको लागि पानीले धोएर बालुवाको कण मात्रै बाँकी राखिएको छ ।

‘एक हप्ताभित्रमा कोर्ट तयार गर्ने छौं’– कोर्ट निर्माणको जिम्मेवारी निभाएका कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीमप्रसाद पराजुलीले भने –‘प्राविधिक ज्ञान नहुदाँ हचुवाकै भरमा काम गर्दा समस्या हुन पुग्यो ।’ उनका अनुसार राष्ट्रियस्तरको विच भलिबल प्रतियोगिता आयोजना गर्दा धमाधम बालुवा भरेर प्रतियोगिता अम्काईएको थियो । अन्तराष्ट्रियस्तरको मापदण्ड अनुसार बनाउनुपर्दा बालुवा छान्नुको विकल्प हामीसँग नभएको उनको भनाई थियो ।

बाराही खेल मैदानमा ५२ लाखको लागतमा एक महिनाअघिदेखि विच भलिबल निर्माणको काम शुरु गरिएको हो । निकासा ३० लाख रुपैयाँ भईसकेको छ । फेवातालबाटै माटो निकालेर बाराही खेल मैदान पुरिएको थियो । ‘झण्डै १५ लाख भन्दा (टिपर ढुवानी खर्च) बढी खर्चिएर माटो भरियो’ उनले भने–‘भरिएको माटोमाथि बालुवा हालेर सम्याईएको थियो ।’ सम्याइएको बालुवा समेत अयोग्य ठहर भएपछि फेरी पानीले बालुवा छान्ने काम शुरु गरिएको उनले बताए । ‘दुई ठाँउमा बालुवा छान्ने काम गरिरहेका छौ–उनले भने–‘एकहप्ताभित्रमा बालुवा कोर्टमा विछ्याईसक्छौं ।’ संघले बालुवाको लागि मात्रै ४० लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरेको छ । कोर्ट किनारमै १० जना कामदारले वालुवा छान्ने काम गरिरहेका छन् ।

छानिएको बालुवा चिसो भएकोले तत्कालै कोर्टमा फिजाँएर सुकाउनुपर्छ । १६ मिटर लम्बाई र ८ मिटर चौडाईको कोर्ट तयार गरिदैंं । कोर्ट तीन वटा बन्ने छन् । एउटा कोर्ट भने मर्मत सम्भार गरेर प्रशिक्षणको लागि प्रयोग गरिने संघका सदस्य बुद्ध सिंहले बताए । ‘कोर्ट भन्दा बाहिर ६ मिटरसम्म स्पेशमा पनि छानिएको बालुवा राखेर तयार गर्छौ ।’ उनको भनाई थियो । कोर्टको अहिले पोल गाड्ने काम भईरहेको छ । प्राविधिकको रुपमा संघले राजन पौडेललाई खटाइएको छ । पौडेलकै निर्देशनमा इन्जिनियर अनिल अधिकारीसहितको टोलीले नापजाँच गरेर पोल गाडेका थिए । पौडेल भलिबलका राष्ट्रिय रेफ्री समेत हुन् ।

संघले कोर्ट नजिकै रहेको चेन्जिङ रुम र शौचालयलाई व्यवस्थित बनाईसकेको छ । नयाँ तीनवटा र पुरानो एउटा कोर्ट तयार पार्दा झण्डै ६० लाख रुपैयाँमा अम्किने उनको भनाई थियो । ‘छुट्टाइएको बजेटले पुग्ने सम्भावना छैन्’उनले भने–‘प्रदेश सरकारसँग समेत आर्थिक सहयोगको अपेक्षा छ ।’ विच भलिबल कोर्टको बिहीबार गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित सामाजिक विकास एवं १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागि स्थानीय व्यवस्थापन तथा सहजीकरण समिति संयोजक मन्त्री नरदेवी पुन, गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मी, राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङ लगायतको टोलीले निरिक्षण गरेको थियो । निरिक्षणको क्रममा मुख्यमन्त्री गुरुङले प्राविधिक ज्ञानको अभाव हुदाँ केही समस्या सृजनाभएको उल्लेख गरे । ‘पुर्वाधारको लागि प्रदेश सरकारले हेर्छ ।’ उनको भनाई थियो ।