पोखरा म्याराथन च्याम्पियनलाई तीनलाख पुरस्कार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ७ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) -आगामी फागुनको पहिलो साता आयोजना हुने सफल पोखरा अन्तराष्ट्रिय म्याराथन विजेताले ३ लाख रुपैयाँ नगद पाउने छन् । त्यसको लागि पोखरेली मञ्च युकेले सहयोग गर्ने छ । युकेले पुरस्कार राशी बृद्धि गर्न विशेष कार्यक्रम नै सञ्चालन गर्ने योजना मञ्च युकेले जनाएको छ ।

१४ औं सस्करणको म्याराथनको लागि पुरस्कार बृद्धि गरी अझै प्रतिस्पर्धात्मक बनाउने योजना नेपाल भुतपुर्व खेलाडी मञ्चले गरेको छ । भ्रमण वर्षको शुरुवातसँगै पोखरामा आयोजना हुने अन्तर्राष्ट्रियस्तरको म्याराथनले पोखरालाई स्पोर्टस हबको रुपमा विकास गर्ने छ । मञ्चका अध्यक्ष मनप्रसाद गुरुङले पोखरामा हुने उक्त प्रतियोगिता पोखरेलीहरुको मात्र नभई सिंगो नेपालसंग समेत जोडिएकोले प्रतियोगितालाई सफल पार्न आफ्नो क्षेत्रबाट आर्थिक सहितको अन्य सहयोग गर्ने बताएका हुन् ।

‘पोखरालाई स्पोर्टस टुरिज्म सिटीको रुपमा विकास गर्ने अभियानमा हाम्रो पनि भूमिका हुनुपर्छ भन्ने मानसिकतासहित सहयोग गर्न तत्पर छौं ।’ अध्यक्ष गुरुङले भने–‘म्याराथनलाई अझ उचाईमा पुर्याउने हामी सबैको कर्तव्य र दायित्व समेत हो ।’ उनले बेलायतमा लण्डन म्याराथनमा विश्वका धेरै धावकहरु सहभागि हुने गरेको प्रशंग उठाउदै पोखरामा हुने दौडलाई पनि लण्डन म्याराथन स्तरमै चर्चा गर्दै विश्वका धेरै धावकहरुलाई समेट्न सक्नुपर्नेमा जोड दिए ।

“ हिमाल हेर्दै म्याराथन दौडन पाउने विश्वका कम मुलुकमा हुने यो अवसर पोखरा म्याराथनबाट मात्रै प्राप्त हुनेछ ।’ उनले भने –‘प्रतियोगितालाई हामीले खेल पर्यटन र विदेशमा गएका नेपालीहरुलाई स्वदेश फिर्ता हुने समयको रुपमा स्थापित गर्न सक्नुपर्छ ।” नेपालमा हुने खेलमा स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्ने उनको जोड थियो । नेपालमा धेरै सौन्दर्यता भएकोले हरेक बर्ष जसो भ्रमण वर्ष नेपालको रुपमा मनाउनु् पर्ने मञ्चका अध्यक्ष गुरुङले बताए ।

भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेजबहादुर गुरुङले स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले पोखरा म्याराथनलाई निरन्तरता दिदै आएको उल्लेख गरे । जेतालाई एक लाख पुरस्कार राशी राखिएकोमा यस बर्ष राम्रो सहयोग जुटेमा विजेतालाई तीन लाखसम्मको पुरस्कार राख्ने योजना भएको उनले जनाए । खेललाई विश्वमा शान्तिसगँ जोड्न लागिएको अध्यक्ष गुरुङले जनाए । उक्त खेलले पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धन हुदा नेपाल भ्रमण वर्ष २०२० लाई समेत सफल पार्न सहयोग पुग्ने उनले जनाए । मंचका सल्लाहकार महेश गुरुङले पोखरामा हुने उक्त इभेण्टलाई धेरै आप्रवासी नेपालीले सहकार्य गर्ने प्रतिबद्धता जनाए ।