तोकियो शुल्क, साधारण १ सय र सिजनलको ५ सय रुपैयाँ निर्धारण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ९ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) –पोखरा रंगशालामा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)का खेल हेर्नको लागि प्रवेश शुल्क तय गरिएको छ सागको लागि साधारण टिकटका लागि १ सय रुपैयाँ तय गरिएको छ । सिजनल टिकट भने ५ सय रुपैयाँ तोकिएको छ । स्थानीय साग व्यवस्थापनअन्तर्गत स्रोत साधन परिचालन समितिले सोमबार टिकटको शुल्क निर्धारण गरेको हो । ।

साधारण र सिजनल टिकट लिएरै पोखरा रंगशाला परिसरभित्र छिर्ने अवसर दर्शकले पाउने छन् । अन्यथा टिकट विना साग खेल हेर्नबाट सर्वसाधारण बन्चित हुने छन् । ‘साधारण १ सय रुपैयाँ र सिजनलको लागि ५ सय रुपैयाँ तोकिएको छ ।’ समितिका संयोजक सञ्जिबबहादुर कोईरालाले भने–‘साधारणले टिकट लिएका दर्शकले एकदिन मात्रै हेर्न पाउँछन् । अन्य दिनको लागि फेरी टिकट लिनुपर्छ । सिजनल टिकट लिनेले साग प्रतियोगिता अवधिसम्म हेर्न पाउने छन् ।’

पोखरा रंगशालाभित्र ६ खेल हुने छ । महिला फुटबल, महिला क्रिकेट, आर्चरी, ह्याण्डबल र व्याडमिन्टन हुने छ । भारोत्तोलन पोखरा–११ माटेपानीस्थित एसआरकेसी पार्टीप्यालेसमा, विच भलिबल र ट्रायथोलन लेकसाईडमा आयोजना हुने छ । ट्रायथोलन बाहेक अन्य सबै खेलमा दर्शकले टिकट लिएपछि मात्रै प्रवेश पाउने कडाई गरिएको छ । महिला फुटबलको फाईनलको लागि भने २ सय रुपैयाँ तोकिएको छ । ‘सुरक्षाको दृष्टिकोणले पनि टिकटको व्यवस्था गर्नुपरेको हो ।’ उनले भने–‘टिकट नलिदाँ भद्रगोल हुने सम्भावना देखियो ।’ टिकट लिएपछि दर्शकलाई अनुशासित र मर्यादित बनाउनेमा समिति विश्वस्व रहेको सुनाए । ट्रायथोलन बाहेकका ७ खेलको लागि शुल्क तय गरिएको हो ।

महिला फुटबलको लागि अहिले झण्डै ८ देखि १० हजार सिट क्षमता मात्रै जडान गरिने छ । व्याडमिन्टन हलमा झण्डै ४ सय दर्शक अटाउने क्षमताको हुने समितिका संयोजक कोईरालाले सुनाए । भारोत्तोलन आयोजनास्थल पार्टीप्यालेसमा ६ सय दर्शक अटाउने जनाइएको छ । ‘सिजनल ५ हजारप्रति र साधारण १५ हजार प्रति टिकट विक्री गर्ने योजना छ ।’ उनले भने–‘विक्री टिकटबाट प्राप्त रकम खेलकुदको पुर्वाधारमा खर्च गरिने निर्णण समेत गरिएको छ ।’ साधारण र सिजनल टिकटबाट ४० लाख रुपैयाँ उठाउने योजना समितिको छ ।

टिकटबाट संकलित रकमलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको निर्देशनमा खर्च गरिने उनको भनाई थियो । विच भलिबलको लागि ५ सय दर्शक क्षमताको प्यारापिट बनाईने कास्की जिल्ला भलिबल संघका अध्यक्ष एवं विच भलिबल निर्माण उपभोक्ता समितिका अध्यक्ष भीमप्रसाद पराजुलीले जानकारी दिए । उनका अनुसार दुईवटा कोर्टलाई लक्षित गरेर अस्थायी प्यारापिट बनाईने छ । कोर्टको पश्चिम तर्फ भने खुला नै रहने छ । पश्चिम तर्फ तालसँगै फुट ट्रयाक छ ।

अहिले पुर्वाधारको काम भईरहदाँ मन्त्रालय एवं राष्ट्रिय खेलकुद परिषदबाट बजेट निकासा भईसकेको छैन् । बजेट निकासा नहुदाँ काम गर्न कठिनाई हुदैं आएको भन्दै सम्बन्धित निकायको ध्यान नगएको गुनासो निर्माण समितिका पदाधिकारीले सुनाएका छन् । पोखरा रंगशालाभित्र पुर्वाधारसँगै व्युटिफिकेशनको काम भईरहेको छ । महानगरपालिकाले पनि व्युटिफिकेशनप्रति सम्वेदनशिल देखिएको छ । यही मंसिर १५ देखि २४ गतेसम्म विभिन्न खेलस्थलमा खेल सञ्चालन हुने छ ।