सातै देशले प्रतिस्पर्धा गर्ने एकमात्र खेल– ‘व्याडमिन्टन’

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १० गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-व्याडमिन्टन, सातै देशका खेलाडीले १३ औं दक्षिण एशियाली खेलकुद(साग)मा प्रतिस्पर्धा गर्ने एउटा मात्रै खेल हो । सातै देशका खेलाडीले व्याडमिन्टनमा प्रतिस्पर्धा गर्ने छन् । ७ स्वर्ण, ७ रजत र १४ कास्य पदकका लागि सातै देशका ९४ जना महिला तथा पुरुष खेलाडी पोखरा रंगशालास्थित व्याडमिन्टन कभर्ड हलमा उत्रिने छन् । नेपाल र भारतका(महिला र पुरुष)१०÷१० जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

व्याडमिन्टनको लागि आयोजक राष्ट्र नेपालको तर्फबाट २५ जना खेलाडी तथा प्रशिक्षक उपस्थिति रहने छ । पुरुष १०, महिला १० खेलाडीले पदकको लागि प्रतिस्पर्धा गर्दा ५ जना भने प्रशिक्षक भूमिका रहने छन् । भारतले पनि ब्याडमिन्टनमा निर्धारित कोटा अनुसार नै खेलाडीलाई सहभागिता गराउने छ । भारतबाट १० पुरुष तथा १० महिला खेलाडीले सहभागिता रहने निश्चित छ ।
पाकिस्तानबाट खेलाडी तथा प्रशिक्षक गरी १३ जना सदस्यीय टोली पोखरा आउने छ । ५ पुरुष, ५ महिला खेलाडीसहित ३ प्रशिक्षक सहभागिताको लागि आउँदै छन् । बंगलादेशबाट १६ सदस्यीय टोली पोखरा आउने छन । ६ पुरुष, ६ महिला खेलाडी र ४ प्रशिक्षकको रुपमा रहने गरी आउँदै छन् । श्रीलंकाबाट १७ सदस्यीय ब्याडमिन्टन टोली पोखरा आउँदैछन । ७ पुरुष, ७ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ३ जना प्रशिक्षक रहेका छन ।

भुटानको तर्फबाट भने ७ सदस्यीय ब्याडमिन्टन टोली प्रतियोगितमा सहभागी हुने छ । सबैभन्दा कम खेलाडीलाई कोर्टमा उतार्ने छ । ४ पुरुष, २ महिला खेलडीले पदकको लागि प्रतिस्पर्धा गर्दा प्रशिक्षक एकजना मात्रै आईपुग्ने छन् । माल्दिभस्बाट भने १७ सदस्यीय ब्याडमिन्टन टोलीले आउने तय भएको छ । ६ पुरुष, ६ महिला खेलाडी तथा ५ प्रशिक्षक सहभागी हुने छन ।

पोखरामा हुने ब्याडमिन्टन मंसीर १५ गते देखि २० गते सम्म सञ्चालन हुने छ । टिम इभेन्ट तर्फ मंसिर १५ गते महिला तथा पुरुष क्वाटरफाइनलका खेल हुनेछन भने मंसीर १६ गते सेमिफाइनल तथा फाइनल खेल हुने तालिका छ । व्यक्तिगत इभेन्ट तर्फ मंसिंर १७ गते महिला एकल तथा डबल्स, पुरुष एकल र डबल्स , मिक्स्ड तर्फको प्रारम्भिक खेल हुने छन । १८ गते महिला तथा पुरुष सिङ्गल र डबल्सको क्वाटरफाईनल खेल हुने तालिका रहेको छ ।

१९ गते सबै इभेन्टकाा सेमिफाइनल खेल हुने छ भने २० गते फाइनल खेल हुने प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिए । उनका अनुसार भारोत्तोलन, र्आचरी र ह्याण्डबलका ६ देशले प्रतिस्पर्धा गर्ने छन् । ह्याण्डबलमा भुटान र भारोत्तोलन तथा आर्चरीमा माल्दिभ्सको सहभागिता छैन् ।

ब्याडमिन्टन हलको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । “ब्याडमिन्टनको लागि हल बनाउने काम सकिएको छ, अब म्याट विछ्याउने र सरसफाई गर्ने काम मात्र बाँकी छ” कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्वरसिहं गुरुङले भने–‘हलभित्र बत्ती जडान भईसकेको छ । हलभित्र र बाहिर सिसी क्यामेरा समेत जडान गरिएको छ । ब्याडमिन्टन हलमा अफिस, सुचना कक्ष, प्राविधिक कक्ष, स्टोर रुम, वार्मअप साथै ४ वटा कोर्ट बनाईएको छ । कोर्टको मार्किङ गर्न भने बाँकी छ । प्रतियोगिताको लागि भने ३ वटा कोर्ट मात्र प्रयोग गरिने संघले जनाएको छ ।