१३ औं दक्षिण एशियाली खेलकुद, पर्खाई खेल सामाग्रीको

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १० गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) –१३ औं दक्षिण एशियाली खेलुकदको लागि चारदिन मात्रै बाँकी छ । चार दिनभित्रै सबै काम सकेर खेलाडीलाई एरिनामा उतार्नुपर्ने छ । एरिना उतार्न पुर्वाधार लगभग तयारी गरिएको छ । प्रतिक्षा केवल आवश्यक सामानको मात्रै छ ।

पोखरामा ८ खेल सञ्चालन हुने छन् । आठ खेलका सामान भने कुनैपनि आईपुगेको छैन् । सामानकै प्रतिक्षा छ । केही सामान नेपाल–भारत सीमा भन्सारबाट छुटेको खबर आएको छ । केही सामान काठमाडौंबाट पोखराको लागि प्रस्थान गरिसकेको छ । तर सामान भने कुनैपनि खेलको आईपुगेको अवस्था छैन् । ‘सामान कुर्दैै छौं । अधिकांश खेलका सामान बाटोमै छन्,’– राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले भने–‘केही मंगलबार साँझसम्म आउँछ । केहिको भने बुधबारसम्म आईपुग्ने छ ।’

व्याडमिन्टन हलमा बत्ती जडान हुदंै छ । बत्ती जडानसँगै आन्तरिक काम टुंगिने छ । बाँकी म्याटको प्रतिक्षाको हुने छ । म्याट आईपुगेको छैन् । र्आचरीको पनि पुर्वाधार तयारी अवस्थामा छ । आवश्यकता केवल सामानको मात्रै छ । केन्द्रीय संघले नै सामानको प्रबन्ध गरेकोले के–के सामान आउँछ जिल्ला संघलाई यकिन छैन् । ‘सामान आएपछि मात्रै थाहा हुन्छ, के– के आएको छ भनेर’ कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले भने–‘र्आचरीलाई विशेष गरी तार्गेट बोर्ड, तार्गेट हेर्ने उपकरण(दुरविन), एरो लगायतका सामान आवश्यक छ ।’

भारोत्तोलनको लागि रंगशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा प्रशिक्षण गराईने छ । प्रतियोगितास्थल भने एसआरकेसी पार्टीप्यालेस हो । भारोत्तोलनको सबै काम टुग्याईसकिएको कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन बड्गामीले सुनाए । ‘सामान मंगलबार साँझसम्म आउँछ–’ उनले भने–‘सामान ढुवानी गरेको गाडी बाटोमै बिग्रिएकोले आउन केही ढिलो भएको हो ।’ उचाल्ने तौल(वेट), रड लगायतका समान आउने उनले बताए । कभर्ड हल भित्र स्टेज समेत निर्माण गरिएको छ ।

विच भलिबलको पनि सामान आईपुगेको छैन् । कोर्ट तयारीको अन्तिम चरणमा छ । राष्ट्रिय खेलकुद परिषदबाट ५२ लाखको लागत अनुमानमा तीनवटा कोर्ट निर्माण गरिएको छ । महिला र पुरुष गरी १२ टोली हुन्छन् । कोर्टको लागि बल, नेट र एन्टिना आवश्यकता छ । बल २५ थान, ४ थान नेट र ४ थान एन्टिनासहित मार्किङको लागि फिता समेत मगाइएको छ । ‘सामान कता छ बुझ्नुपर्छ’ विच भलिबल प्रतियोगिताका संयोजकको जिम्मेवारी सम्हालेका नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङले भने–‘सामान आईपुगेको छैन् । सामानकै प्रतिक्षा छ ।’

पोखरा रंगशालाभित्र हुने ह्याण्डबल प्रतियोगिताको लागि म्याट अझै आईपुगेको छैन् । म्याट नआउँदा खेलाडी तथा अफिसियल लगायत अन्य खेलकुदप्रेमीमा तनाव बढेको छ । सबै तयारी भईसकेको छ । ‘म्याट बाटैमा आउँदै गरेको जानकारी पाएका छौ’ नेपाल ह्याण्डबल संघका अध्यक्ष एवं ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङले भने–‘म्याट आएपछि फिट गरेर प्रतियोगिता सञ्चालन गर्छौ ।’

महिला क्रिकेटको लागि क्रिकेट मैदान तयारी गरिएको छ । पिच बनाईसकिएको छ । तर अत्यावश्यक सामान नआउँदा काममा कठिनाई भएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । ‘असोजमै आवश्यक सामान लेखेर पठाएका हौं । अझैसम्म आईपुगेको छैन्’–संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले भने–‘लेखेर पठाएको सामानमा के–के आउँछ जानकारी नै छैन् ।’ संघले पिच कभर, पानी सुकाउने (सुपर सकर ), कम्पनयुक्त रोलर, हेभी रोलर, ग्रास कटर, पिच क्लथ,टर्फ कटर, ४ सय मिटर बाउण्ड्री रोप लगायतका सामान माग गरिएको उनले बताए । स्टम्प र बेल्स समेत मगाईएको छ । ‘सामान केहीपनि आएको छैन्’ उनले भने–‘कहिले आईपुग्छ केही थाहा छैन् ।’

ट्रायथोलनको लागि ताल माथि प्लाष्टिकको पुल निर्माण गरिने छ । त्यसको लागि दुई ट्रक सामान मंगलबार साँझसम्म पोखरा झरिसक्ने नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताए । ‘प्लाष्टिकको ब्लक जोडेर पुल(प्यान्थन) बनाईने छ । पुलबाटै खेलाडीले तालमा पौडिनको लागि डाईभ गर्ने छन् ।’ उनको भनाई थियो । उनका अनुसार सडकमै दौडिने र साईक्लिङ गर्ने भएकोले साईकल स्ट्याण्ड आवश्यक पर्छ ।