सागमा सवारी व्यवस्थापनमा सकस

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १३ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-यत्र तत्र लठपत्रै छ । जत हेर्यौ उतै धुलो उडेको छ । काम धमाधम छ । पूर्ण रुपमा काम फत्ते भईसकेको छैन् । काम फत्ते नभएपनि १३ औं दक्षिण एशियाली खेलकुद(साग) आयोजनासँगै टुग्याउने चटारो छ । पोखरा रंगशालाभित्र मंसिर १५ गतेदेखि साग खेल मेला हुदैै छ । अधुरो र अपुरो रंगशालामा उदघाटनसँगै महिला फुटबल खेलाईने छ । पुर्वाधारले पूर्णता पाईसकेको छैन् । फुटबल मैदान मार्किङ शुरु गरिएको छ । सागपछि मात्रै फुटबल मैदान निर्माणको कामलाई पुरा गरिने छ । फुटबल अवधिसम्म काम भने थाँती रहने सम्भावना छ ।

एकातिर पुर्वाधारको बनाउने हतारो छ । अर्कोतिर ट्राफिक व्यवस्थापनको जिम्मेवारी । पृथ्वीराजमार्गसँगै जोडिएको छ पोखरा रंगशालाको मुलप्रवेशद्वार । साँझ र विहानको समय राजमार्गमा बढी सवारी साधनको लर्को लाग्छ । राजमार्गमा रहेको सेती नदीको पुल दुईलेनको छ । सवारी साधनको बढ्दो चापले ट्राफिक व्यवस्थापन चुनौति बन्दै गएको छ । त्यसमा पनि अझ १३ औं दक्षिण एशियाली खेलकुदको समयमा ट्राफिक व्यवस्थापन गर्नुपर्ने दायित्व र जिम्मेवारी छ । दिनहुँ जसो हुने सवारी जामले भिआईपी र अफिसियलको सवारी साधन व्यवस्थापनमा गम्भीर बन्नुपर्ने अवस्था छ ।

चुनौतिपूर्ण बन्दै गएको ट्राफिक व्यवस्थापनलाई साग अवधिसम्म सवारी साधनलाई अन्यत्र बाटो प्रयोग गराउने परिपत्र गर्ने महानगरपालिकाको योजना छ । ‘सवारीलाई बाईपास र कतै वान वे मात्रै प्रयोग गर्ने गरी ट्राफिक व्यवस्थापन मिलाउँछौ’–पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले भने–‘अतिथि एवं अफिसियलको सवारीलाई सहज आवतजावतको लागि सहजीकरण गरिने छ ।’ उनका अनुसार ट्राफिक व्यवस्थापनको लागि सुरक्षा निकाय तथा ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी टुग्याईने छ ।

साग अवधिमा दर्शकको समेत उपस्थिति रहने छ । दर्शकको सवारी साधनलाई समेत पार्किङको व्यवस्थापन गर्नुपर्ने अर्को समस्याको रुपमा रहेको छ । साग अवधिमा ८ खेलका खेलाडी तथा अफिसियलको लागि ६२ वटा सवारी साधन प्रयोग हुने छन् । ‘१७ गतेखि २२ गतेसम्म ६२ वटा ठुला र साना सवारी साधन प्रयोग हुन्छन’ यातायात व्यवस्थापन समितिका संयोजक तोरण बानियाले भने–‘त्यस भन्दा अघि र पछि ४० वटाको हाराहारीमा सवारी साधन प्रयोग गरिने छ ।’ विषयगत समितिलाई समेत सवारी साधन उपलब्ध गराईएको छ ।

रंगशाला परिसरभित्र भिआईपी र आगन्तुकको सवारी पार्किङ गर्ने अझै अन्यौल छ । भलिबल प्रशिक्षण केन्द्र भन्दा माथिको खाली जमिन रंगशाला गेट नं २ बाट प्रवेश गराई पार्किङ गर्ने सम्भावना छ । यद्यपी टुंगो छैन् । फुटबल, ह्याण्डबल, व्याडमिन्टन, महिला क्रिकेट र आर्चरीका खेलहरु पोखरा रंगशालाभित्रै हुने छन् । ती खेलमा आउने अतिथि एवं अफिसियलको सवारी व्यवस्थापनमा चुनौति छ ।

सुरक्षा तथा ट्राफिक व्यवस्थापनलाई सहजीकरण गर्ने प्रहरीले दावी गरेको छ । ‘सार्वजनिक सवारी साधनलाई महेन्द्रपुल र चोरसाँघुबाट डाईभर्ट गर्छौ’ गण्डकी प्रदेशका प्रहरी प्रमुख डिआईजी विनोद घिमिरेले भने–‘राजमार्गमा खेलाडी तथा अफिसियलको गाडीलाई मात्रै स्टर्किङ गरेर मुख्य प्रवेशद्वारबाट छिराउँछौं ।’ रंगशालाभित्र दर्शकको लागि भने मुख्य प्रवेशद्वार बाहेक अन्य दक्षिण तथा पूर्व तर्फका गेटहरु प्रयोग गराउने उनले बताए । सुरक्षाको लागि पोखरा रंगशालाभित्र ५ सय सुरक्षाकर्मी परिचालन गरिने छ । ५खेल पोखरा रंगशालभित्र र तीन खेल रंगशाला बाहिर हुदाँ त्यसैग अनुसार पोखरामा झण्डै १ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको डिआईजी घिमिरेले सुनाए । ट्राफिक व्यवस्थापनको लागि २ सय ट्राफिक प्रहरी परिचालित हुने छन् । १३० जना जिल्ला ट्राफिककै र बाँकी ८० जना अन्य जिल्लाबाट पोखरा झिकाईएको बताए ।