बैकल्पिक खेलाडीको गोलमा धानियो नेपालको इज्जत

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १७ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-खेल सकिन दुई मिनेट बाँकी छदाँ बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेपछि सरु लिम्बुको गोलसँगै नेपालले श्रीलंकामाथि १–० गोलले प्रतिस्पर्धात्मक जित निकालेको छ ।

पोखरा रंगशालास्थित नवनिर्मित फुटबल मैदानमा मंगलबार १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको महिला फुटबल अन्तर्गत उदघाटन खेलमा बैकल्पिक खेलाडी चम्किदा नेपालले स्पष्ट ३ अंक बटुल्दै उपाधि प्रतिस्पर्धाको होडलाई बलियो बनाएको छ । राउण्ड रोविनमा खेलाईएको प्रतिस्पर्धा अब नेपालले भारत र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने छ ।
अधिकांश समय बलमाथि नियन्त्रण राखेको नेपालले पाएका अवसरलाई सदुपयोग गर्नै सकेन् । श्रीलंकाले रक्षात्मक रणनीति अपनाउँदै नेपाललाई गोल गर्नबाट रोक्दै आएको थियो । पहिलो हाफ हुनुअघि दिपा राईको स्थानमा मैदान प्रवेश गरेकी सरुले खेलको ८८ औं मिनेटमा अनिता केसीको पासमा गोल गर्दै स्पष्ट जित निकालिन् । गोलरहित बराबरीमा टुंगिने सम्भावना रहेको खेलमा उनले लेफ्ट सट सेकेण्डबारमा च्याप्दै गोल भएपछि जितको खुशीयाली मनाउने अवसर मिल्यो ।

१२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा ४–० गोल अन्तरले पराजित गरेको नेपाली टोलीको स्तर भने १३ औं सस्करण आईपुग्दा निकै खस्केको अनुभूति प्रदर्शनले प्रष्ट पारेको छ । खेलको पहिलो १० मिनेट भित्रै सावित्री भण्डारीले ६ यार्ड बक्समा पाएको बललाई होल्ड नगरी हतारिएर हान्दा फष्टबारबाट बाहिरिएको थियो । २२ औं मिनेटमा सावित्रीकै क्रसबलमा अञ्जलीकुमारी योञ्जनले हानेको प्रहार श्रीलंकन गोलकिपरले बचाउ गरेकी थिइन् । २७ औं मिनेटमा निरु थापाले पनि गोलकिपरको हातबाट फुत्किएको बललाई व्याक भली हिर्काउन सकिनन् ।

‘डिफेन्सिभ खेलमा गोलको अवसर नै हुदैन् । उनीहरुले पुरा समय डिफेन्स खेले । हामीले पहिलो हाफमा पाएको अवसरलाई सदुपयोग गर्न सकेनौं ।’ नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले भने–‘डिफेन्सिभ फुटबलमा गोल गर्ने बढी प्रेसर हुन्छ ।’ उनले भर्खरै निर्माण गरिएको मैदानको बारेमा भने गुनासो गरेनन् । उता श्रीलंकन प्रशिक्षक रोहन थिलक अल्पन्सुले नयाँ मैदानमा खेलाडीको प्रदर्शन उत्कृष्ठ रहेको उल्लेख गरे । ‘नेपालले राम्रो प्रदर्शन गर्यो । यद्यपी हार भएपनि टोलीको प्रदर्शनप्रति खुशी र सन्तुष्ट छु ।’ उनको भनाई थियो ।