कमल र प्रकाशलाई भारोत्तोलनमा कास्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २० गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-नेपालका कमलबहादुर अधिकारी १३ औं संस्करण दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को भारोत्तोलनमा कास्य पदकमै चित्त बुझाउन विवश छन् । पोखरामा शुक्रबार भएको पुरुष ६७ केजी तौल समूहअन्तर्गत कमलले कुल २५२ केजी तौलमात्र उठाउन सके । उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कतर्फ १४० तौल गरी कुल २५२ तौल भार उठाएका थिए ।

प्रतियोगितामा पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १५२ गरी कुल २९२ तौल उठाउँदै स्वर्ण जिते । यस्तै श्रीलंकाका जेएसी लाक्मलले स्न्याचमा ११९ र क्लीन एण्ड जर्कमा १४४ गरी कुल २६३ तौल उठाउँदै रजत जितेका छन् । प्रतियोगितामा पहिलो सहभागिता जनाएको भुटानका तर्फबाट वीरबहादुर लिम्बु चौथो भए ।

शुक्रबार नै पुरुष ७३ केजी तौल समूहमा नेपालका प्रकाश केसीले कास्य जित्न सफल भएका हुन् । प्रतियोगितामा भारतका अचिन्ता सेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जितेका छन् । भारतीय खेलाडीले स्न्याचमा १३५ र क्लीन एण्ड जर्कमा १६५ गरी कुल ३०० केजी तौल उठाउँदै स्वर्ण जितेका हुन् । यस्तै पाकिस्तानी खेलाडीले स्न्याचमा १२८ र क्लीन एण्ड जर्कमा १५१ गरी कुल २७९ तौल उठाउँदै रजत र नेपालका प्रकाश केसीले स्न्याचतर्फ ११५ र क्लीन एण्ड जर्क विधामा १५० गरी कुल २६५ तौल उठाएका हुन् ।