भारोत्तोलनमा अधिकारी दम्पतीलाई कास्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २० गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-१३ औं दक्षिण एशियाली खेलुकद(साग) प्रतियोगिता अन्तर्गत भारोत्तोलन नेपालका कमलबहादुर अधिकारीले कास्य जितेको केही घण्टामै श्रीमतीले पनि कास्य पदक जितेकी छन् ।

अधिकारीले पुरुष ६७ केजी तौल समूहमा कास्य जितेका थिए । उनकी धर्मपत्नी राज्यलक्ष्मी थापाले पनि कास्य पदक नै जित्न सफल भइन् । महिला ७१ केजी तौल समूहमा राज्यलक्ष्मीले कास्य पदक जितेपछि साग भारोत्तोलनमा सम्भवतः दम्पतीर्ले कास्य जितेको पहिलो पटक हो । १० औं संस्करणका स्वर्णविजेता कमल १३ औं मा पुरुषतर्फ ६७ केजी तौल समूहमा कास्यमा सीमित भएका हुन् ।

प्रहरीकी राज्यलक्ष्मीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८३ सहित कुल १५० किलो भार उठाउँदै कास्य जितेकी हुन् । यस्तै सो स्पर्धामा भारतले स्वर्ण र बंगलादेशले रजत पदक जितेको छ । भारतकी मनप्रित कौरले स्न्याचमा ८५ र क्लीन एण्ड जर्कमा १०७ गरी कुल १९२ किलो भार बहन गरी स्वर्ण जितेकी हुन् । बंगलादेशकी रोकेया सुल्तान साठीले स्न्याचमा ७० र क्लीन एण्ड जर्क विधामा ८५ गरी कुल १५५ किलो बहन गर्दै रजतमा सीमित बनिन् ।

उता, महिला ६४ केजी तौल समूहमा नेपालकी देवी चौधरी यसपालि पनि कास्य पदकभन्दा माथि उठन् सकिनन् । नेपाल प्रहरीमा आबद्ध उनले १२ औं संस्करणमा नेपाललाई कास्य दिलाएकी थिइन् । यसपालि उनले १५३ किलो तौल उठाउँदै कास्य जितेकी हुन् । उनले स्न्याचमा ६८ र क्लीन एण्ड जर्कमा ८५ किलो तौल उठाइन् । सो तौल समूहमा भारतले नै स्वर्ण जित्न सफल भयो ।