महिला क्रिकेट–नेपाल श्रीलंकासँग ४१ रनले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २० गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा श्रीलंकासँग ४१ रनले पराजित भएपछि नेपालले महिला क्रिकेटमा कास्यको लागि फेरी एकपटक माल्दिभ्ससँग अन्तिम प्रतिस्पर्धा गर्ने छ ।

टस जितेर व्याटिङमा उत्रिएको श्रीलंकाले २० ओभरमा ११८ रनको स्कोर बनायो । केही महत्वपूर्ण क्याच नेपाली खेलाडीले छोड्दा लक्ष्य सयको आकडाँबाट उकालो लागेको थियो । एल अप्सराले २७ बल खेल्ने क्रममा ५ चौकासहित ३७ रन बनाईन् । उनको इनिङ्स श्रीलंकको लागि महत्वपूर्ण सावित भयो । उनीसँगै अज अन्जलीले पनि महत्वपूर्ण योगदान दिने क्रममा ३५ रन बनाईन । ३६ बलको सामना गर्ने क्रममा १ चौका र २ छक्का हिर्काईन् । दुवैको रन रोक्न नसक्दा नेपालले लक्ष्य सोचेभन्दा केही बढी पाएको थियो ।

मध्यक्रममकी एस सन्दिपानीले पनि २२ रन बनाईन् । २९ बल खेलिन् । एच माधवीले १६ रन बनाउन १९ बल खेल्दै २ चौका आफनो स्कोरबोर्डमा लेखाउन सफल भईन् । नेपाली बलर सोनु खड्काले एकै ओभरमा महत्वपूर्ण दुई विकेट लिदैं दबावमा राखेपनि निरन्तरता दबाव सृजना भने हुन सकेन् । खड्काले ४ ओभरमा १३ रन दिई २ विकेट लिईन् । त्यस्तै एस.सी कुमारीले ४ ओभरमा २६ रन दिदैं २ विकेट आफनो नाममा राखिन् ।

काजल श्रेष्ठ व्यक्तिगत ८ रनको स्कोरमा खेलिरहदाँ श्रीलंकन खेलाडी माधवीले रन आउट बनाईन् । उनले २१ बल खेलिन् । दोस्रो र तेस्रो विकेट भने विना रन नेपालले गुमाएपछि दबावमा पर्यो । सीता रानामगर ३ बलको सामना गर्ने क्रममा सन्दिपानीको बलमा क्याच आउटहुदैं शून्य रनमा पभेलियनको बाटो लिईन् । इन्दु बर्मा भने पहिलो बलमै एलबी डब्लुको धरापमा परिन् । सन्दिपानीको बलमा एलबी डब्लुको धरापमा परेपछि चौथो विकेटको रुपमा कप्तान रुबिना क्षत्री क्रिजमा छिरिन् । कप्तान रुविना क्षत्रीले २८ बल खेल्दै १९ रन बनाउँदै क्रिज जम्ने प्रयासलाई एम रनतुङ्गाले असफल बनाईन् । क्षत्रीलाई एम.युमाशा थिमेशानीको हातबाट क्याच गराएपछि नेपालको कमजोरस्थितिमा पुग्यो । रुबिनाले दुई चौका हिकाईन् ।

कविता कुँवरले नटआउट १३ रनको स्कोर गरिन् । १३ बल नै खेलिन् । १ चौका खातामा चढ्यो । करुण भण्डारीले १८ बल खेल्दै १ चौकासहित १२ रनमा समेटिईन् । अप्सरी बेगमले पनि ११ रन बनाईन् । एकपछि अर्को व्याट्सवुमन आउट भएपछि दबावमा परेको नेपाल अन्तत ९ विकेटको क्षतिमा ७७ रनमै समेटियो । अब स्वर्ण पदकको लागि श्रीलकांले फेरी एकपटक बंगलादेशको सामना गर्दा नेपालले कास्य पदकको लागि माल्दिभ्ससँग खेल्ने छ । खेलमा प्लेयर अफ दि म्याच सचिनी निसन्सला भईन् । उनले ४ ओभरमा १६ रनमा तीन विकेट लिएकी थिईन् । pic by sudarshan ranjit