भारोत्तोलनमा १९ वर्षिय विष्ट र राईले जिते रजत

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २१ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-१९ वर्षिय नेपाली ठिटोले भारोत्तोलनमा रजत पदक जितेका छन् । पुरुष ९६ केजी तौल समूहमा विशालसिंह विष्टले रजत पदक दिलाउन सफल भएका हुन् । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) अन्तर्गत शनिबार नेपालले दुई रजतसहित चार कास्य पदक जितेको छ । भारोत्तोलनमा नेपालले दुई रजत पदकसँगै हालसम्म भारोत्तोलनतर्फ नेपालले २ स्वर्ण, २ रजत र १०कास्य जितेको छ ।

नेपाली खेलाडी विष्टले स्न्याचमा १०७ र क्लीन एण्ड जर्कमा १४० गरी कुल २४७ भारलाई लिफ्ट गरेका थिए १९ वर्षिय विष्ट कञ्चनपुरका हुन् । रजत दिलाउने चार वर्षदेखि भारोत्तोलन खेल्दै आएको बताउने उनले रजत दिलाउन सकेकोमा खुसी लागेको प्रतिक्रिया दिए । नेपालको तर्फबाट नेपाली सेनाकी अस्मिता राईले ८७ केजी तौल माथिको समूहको प्रतिस्पर्धामा स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ६५ गरी कुल १२५ तौल भार बहन गर्दै रजत दिलाउन सफल भएकी हुन् ।
पुरुष ९६ केजी तौल समूहमा बंगलादेशका खेलाडी जाइरुल इस्लामले स्वर्ण जिते । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४२ गरी कुल २६२ भार उठाउँदै स्वर्ण पदक जितेका हुन् । भारोत्तोलनमा पहिलो सहभागिता जनाएको भुटानले पहिलो कास्य जित्न सफल भयो । उसका लागि किन्ले ग्याल्सेनले कास्य पदक जितेका हुन् । उनले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा ९० सहित कुल १ सय ७० भार उठाउन सके ।

पुरुष १०२ केजी तौल समूहमा नेपालका तर्फबाट सन्देश गुरुङले कास्य जिते । प्रतियोगितामा पाकिस्तानी खेलाडी उस्मान अम्जाद राठोरले स्वर्ण र बंगलादेशले रजत पदक जित्यो । पाकिस्तानी खेलाडीले स्न्याचमा १५० र क्लीन एण्ड जर्कमा १८० गरी कुल ३३० तौल उठाउँदै स्वर्ण जितेका हुन् । बंगलादेशका इस्लामले स्न्याचमा १०८ र क्लीन एण्ड जर्कमा १४२ गरी कुल २५० भार बहन गरी रजत र नेपालका सन्देशले स्न्याचमा १०० र क्लीन एण्ड जर्कमा १३५ सहित कुल २३५ उठाउँदै कास्य पदक दिलाएका हुन् । चितवन निवासी सन्देश नेपाल प्रहरीमा आबद्ध छन् । उनी आठौं राष्टिय खेलकुद प्रतियोगिताका स्वर्णधारी हुन् ।

यसअघि शनिबार नै नेपालले महिलातर्फ २ कास्य पदक जितिसकेको छ । नेपालको तर्फबाट तारादेवी पुन र लक्ष्मी वनले कास्य पदक जितेका हुन् । महिलातर्फ ७६ केजी र ८१ केजी तौल समूहमा मात्र ३ देशको सहभागितामा नेपालको लागि भारत, बंगलादेश र श्रीलंका बाधक बने । नेपालकी तारादेवी पुनले ७६ केजी तौल समूह र लक्ष्मी वनले ८१ केजी तौल समूहमा कास्यमा चित्त बुझाएका हुन् ।

पहिलो इभेन्टमा बंगलादेशकी माविया अख्तरले स्न्याचमा ८० र क्लीन एण्ड जर्कमा १०५ गरी कुल १८५ तौल उठाउँदै स्वर्ण जितिन् । त्यस्तै, श्रीलंकन खेलाडी बीसी प्रियन्थीले स्न्याचमा ८३ र क्लीन एण्ज जर्कमा १०१ गरी कुल १८४ किलो तौल बहन गरी देशलाई रजत पदक दिलाइन् । १२ औं सागमा समेत कास्य जितेकी नेपालकी तारादेवीले स्न्याचमा ७५ र क्लीन एण्ड जर्कमा ९७ गरी कुल १७२ तौल उठाएकी हुन् ।

७६ केजी तौल समूहमा भारतकी सृष्टि सिंहले स्न्याचमा ८२ र क्लीन एण्ड जर्कमा १०८ गरी कुल १९० भार गरी स्वर्ण र बंगलादेशकी जुहोरा खातोन नीशाले कुल १६८ किलो तौल उठाउँदै रजत जित्न सफल भइन् । उनले स्न्याचतर्फ ७३ र क्लीन एण्ड जर्कमा ९५ तौल उठाएकी हुन् । ३ देशमात्र सहभागी सो इभेन्टमा नेपाल प्रहरीमा आबद्ध लक्ष्मी वनले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० तौल उठाउँदै कास्य दिलाउन सफल भएकी हुन् ।