राष्ट्रिय किर्तिमान सुधार गर्दै सागरले भारोत्तोलनमा जिते रजत

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २२ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-भारोत्तोलनमा नेपाललाई पदक दिलाउने क्रममा आईतबार एक रजत र एक कास्य पदक जित्दै टुंगिएको छ । १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत आईतबार नेपालका लागि सागर भण्डारीले पुरुष १०९ तौल समूहमा रजत पदक जितेका हुन् । सागरले रजत पदक जित्ने क्रममा राष्ट्रिय किर्तिमान समेत बनाएका छन् । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १५५ गरी कुल २७५ तौल उठाएका हुन् । यसअघि सागको छनोट चरणमा आफ्नो नाममा तीनै विधाको किर्तिमानीलाई १३ औं सागको अन्तिम दिनको प्रतिस्पर्धामा किर्तिमानमा सुधार गरेको नेपाल भारोत्तोलन संघका प्रवक्ता रुकेश तण्डुकारले जनाए ।

पुरुष १०९ तौल समूहमा पाकिस्तानी खेलाडी हन्जाला दस्तगीर वुटले स्वर्ण जिते । उनले स्न्याचतर्फ १५० र क्लीन एण्ड जर्कमा १८१ सहित कुल ३३१ किलो भार उठाए । नेपालका लागि रजत जितेका प्रतियोगितामा बंगलादेशका खेलाडी मोहम्मद अब्दुल्लाह अई मुमिनले कास्यमा चित्त बुझाए । उनले स्न्याचतर्फ १२० र क्लीन एण्ड जर्कमा १४७ सहित कुल २६७ तौल उठाएका हुन् ।

आइतबार नै भएको १०९ प्लस तौल समूहमा पाकिस्तानकै मोहम्मद नुह दस्तगीर वुटले स्वर्ण जिते । उनले स्न्याचमा १६५ र क्लीन एण्ड जर्कमा २१५ गरी कुल ३८० तौल उठाएका हुन् । सो तौल जारी संस्करणको सर्वाधिक भार बहन हो । यस्तै, श्रीलंकन खेलाडी डब्लु पी यु चरुकाले रजत जितेका हुन् । उनले स्न्याचमा १४० र क्लीन एण्ड जर्कमा १८० गरी कुल ३२० भार बहन गर्दा नेपालका लागि पुकार गुरुंगले कुल २७५ तौल उठाए । उनले स्न्याचतर्फ १३२ र क्लीन एण्ड जर्कमा १४३ भार बहन गरेका हुन् । नेपालका लागि रजत र कास्य जित्ने दुवै खेलाडीले समान २७५ तौल उठाएका हुन् । पुकारको लागि स्न्याच विधामा राष्टिय रेकर्ड हो । सो स्पर्धामा बंगलादेशका खेलाडी चौथो भए ।

२० स्वर्ण सहित कुल ६० पदकको लागि महिला तथा पुरुषतर्फ दश दश तौल समूहको प्रतिस्पर्धा भएको खेलमा नेपालले कुल १६ क्याटागोरीमा भाग लिएको थियो । सबै इभेन्टमा नेपालले पदकविहीन हुनुपरेन । यसरी साग भारोत्तोलनमा नेपालले २ स्वर्ण, ३ रजत र ११ कास्य पदक जित्दै यात्राको सुखद अन्त्य गरेको छ ।