ह्याण्डबलका कप्तान बस्नेतले लिए अन्तराष्ट्रिय खेलबाट सन्यास

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर २४ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-एउटा खेलाडीको सपना पदक जित्ने । अन्तराष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण पदक भिर्ने सपना सबै खेलाडीले साँचेका हुन्छन् । त्यसमा पनि अझ घरेलु मैदानमै स्वर्ण जितेर गर्विलो अनुभूतिको महशुस गर्न पाउनु सबैको चाहना हो । तर त्यो चाहना पुरा गर्नबाट विशाल बस्नेत चुके । आफनै कप्तानीमा ह्याण्डबलमा पदक जित्ने धोको सधैको लागि अधुरो रह्यो । र अन्त्यमा सन्यासको बाटो रोजे ।

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा पुरुष ह्याण्डबलको कप्तानी सम्हाले । तर बिडम्बना केवल सहभागितामै सीमित हुन पुग्यो । पदक जितेर गर्विलो छाती लिएर विदाई लिने सपना पुरा हुन सकेन् । कप्तानी जिम्मेवारी समेत त्याग्दै उनले घरेलु कोर्टबाटै अन्तराष्ट्रिय ह्याण्डबल प्रतियोगिताबाट सन्यासको घोषणा गरे । अब उनी ह्याण्डबलको राष्ट्रिय जर्सीमा अन्तराष्ट्रिय एरिनामा देखा पर्ने छैनन् ।

३१ वर्षिय बस्नेतको ह्याण्डबलसँग जोडिएको झण्डै १३ वर्ष वित्यो । २०६३ सालबाट ह्याण्डबलमा होमिएका अग्ला कदका बस्नेत आफनै जन्म र कर्मथलोमा आयोजना भएको सागमा पदक विहीन भए । निराश बने । कप्तानी सम्हालेपछि नैतिकताको दबाव उस्तै खेप्नुपर्छ । ‘कप्तानी जिम्मेवारीमा थिएँ । नैतिकताका आधारमा कप्तानी छाडे । अनि अन्तराष्ट्रिय ह्याण्डबल करियरलाई यहीं थाँती राख्दै विश्राम लिने निर्णय गरे ।’ उनी भावुक बन्दै सुनाउँछन् ।

अबको लक्ष्य प्रशिक्षक बन्दै प्रशिक्षण गराउने हो । एक दशकभन्दा लामो समय ह्याण्डबलमा विताएका उनी थप्छन–‘अब नयाँ पुस्तालाई ह्याण्डबल खेलप्रति आकर्षित गराउनुपर्छ ।’ हुन त उनी आफनै पोखरा एकेडेमीमा स्पोर्टस संयोजक हुन् । विद्यालयलाई प्रशिक्षण गराउँदै आएका उनले पोखरामा आयोजना हुने विद्यालयस्तरीय ह्याण्डबलमा भने विद्यालयलाई च्याम्पियन बनाईसकेका छन् । विगत तीन वर्ष यतादेखि उनी विद्यालयमा ह्याण्डबल प्रशिक्षण गराउँदै आएका छन् ।
ह्याण्डबलमा उनले लामो अनुभव सगाँलेका छन् ।

विभिन्न अन्तराष्ट्रिय प्रतिस्पर्धामा उपस्थितिसँँगै पदक जितेर फर्किएको तथ्यांक उनीसँग अझै छ । बंगलादेशको ढाकामा आयोजित ११ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा चौथो हुदैं फर्किएको थियो । २०११ म बंगलादेशमै आयोजित आईएचएफ ट्रफीमा छैटौं स्थानमा रहदैं अनुभव सँगाल्ने अवसरको रुपमा लिए । श्रीलंकामा आयोजित प्रथम साउथ एशियन विच गेम्समा पनि छैटौं स्थानमा रहेर फर्किएका थिए ।

पाकिस्तानको फैसलावादमा आयोजित अन्तराष्ट्रिय मैत्रीपूर्ण ह्याण्डबल प्रतियोगितामा सन २०१२ मा तेस्रो स्थानमा रहँदै अन्तराष्ट्रिय पदक थापे । त्यस्तै भारतको पश्चिम बंगालमा समेत भएको प्रतिस्पर्धामा पनि नेपाली ह्याण्डबल टोलीले तेस्रो स्थान प्राप्त गरेको थियो । अन्तराष्ट्रिय प्रतियोगितासँगै उनले चारवटा राष्ट्रिय खेलकुद प्रतियोगिता खेले । जसमा ३ वटामा स्वर्ण पदक जिते र भने एउटामा कास्य पदकमा चित्त बुझाएका थिए । उनको नेतृत्वमा तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको टोलीले राष्ट्रिय खेलकुदमा सहभागि जनाउँदा पाँचौ, छैैटौ र आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष ह्याण्डबलमा स्वर्ण पदक जितेको थियो । आठौं नेपालगन्जमा आयोजना गरिएको प्रतिस्पर्धामा संघीयता गईसकेको अवस्थामा गण्डकी प्रदेशको नामबाट खेलिएको थियो । सातौंमा भने कास्य पदक जितेको थियो ।

अन्तराष्ट्रिय ह्याण्डबल करियरलाई टुग्याउँदा नेपाल ह्याण्डबल संघ तथा कास्की जिल्ला ह्याण्डबल संघले उनको सन्यासलाई सम्मानजनक रुपमा मात्रै नभई सहानभूतिका शब्दहरु खर्च गरेन् । राष्ट्रको लागि खेलेको खेलाडीले सन्यास लिदाँ संघले मौनतामा बसेर मजाक बनाईदिएको गुनासो ह्याण्डबल खेलाडीहरुको थियो ।

घरेलु कोर्टबाटै अन्तराष्ट्रिय खेलबाट सन्यास लिएका बस्नेतले साग अघि नै भारतको पटियालामा ह्याण्डबलको प्रशिक्षक कोर्ष लिईसकेका छन् । प्रशिक्षणको क्रममा उनी उत्कृष्ठ ठहरिएका थिए । त्यो सँगै ह्याण्डबलकै सोलिडारिटी कोर्ष समेत गरिसकेका छन् । उनले अर्को वर्ष जन्मथलोमै आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता भने खेल्ने छन् । नवौ राष्ट्रिय खेलकुद प्रतियोगितापछि उनले राष्ट्रिय प्रतियोगिताबाट समेत सन्यास लिने सोंचमा छन् ।