धनगढी ब्लुजको ५ रनको रोमाञ्चक जित, कप्तान ऐरीको उत्कृष्ठ बलिङ 

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर ३० गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) -दिपेन्द्र सिंह ऐरीले उत्कृष्ठ बलिङ गरेपछि नमस्ते पोखरा प्रिमियर लिग(पिपिएल)को दोस्रो संस्करणको दोस्रो दिनको पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुजले विराटनगर टाईटन्सलाई ५ रनले पराजित गर्दै दुई अंक जोडेको छ ।

क्विन्स इभेण्ट म्यानेजेमन्ट प्रालिको आयोजना सोमबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस हारेर व्याटिङमा उत्रिएको धनगढीले निर्धारित २० ओभरमा ११७ रन बनाउँदै विराटनगरलाई लक्ष्यको चुनौति तेस्र्याएको थियो । सहाब आलमको बलमै गोल्डेन डक भएका ऐरीले बलिङमा भने उत्कृष्ठ प्रदर्शन गर्दै धनगढी ब्लुजलाई जितको हकदार बनाए । ऐरीले चार ओभरमा एक मेडन राख्दै १९ रन खर्चिएर ३ विकेट लिएका थिए ।

आर ए थोमसले १३ बल खेल्दै धनगढीको लागि २ छक्का हान्दै १६ रन बनाउँदै सुखद शुरुवात संकेत गरे । यदपी नोमान खानको बलमा मोहम्मद जैद आलमको हातबाट क्याच भएपछि धनगढीले दोस्रो विकेट गुमायो । पहिलो विकेटको रुपमा धनगढीले एस सुनारलाई गुमाएको थियो ।  तेस्रो विकेटको रुपमा आएका विदेशी खेलाडी एस.ए विजरान्थेलाई २५ रनमा गुमाएपछि धनगढीको इनिङ सम्हाल्न कप्तान ऐरी क्रिजमा आए । यद्यपी उनी पहिलो बलमै आउट भएपछि धनगढी दबावमा रह्यो ।

कमलसिंह ऐरीले नटआउट २६ रन बनाए । जुन धनगढीका लागि सर्वाधिक रन थियो । २१ बल खेल्ने क्रममा २ चौका र २ छक्का हिर्काए । साहब आलमले चार ओभरमा ३० रन खर्चिएर ३ विकेट लिए । नोमान खानले पनि २ विकेट आफनो नाममा राखे ।

विराटनगरले ११८ रनको लक्ष्य पछ्याउने क्रममा ९ विकेटको क्षतिमा ११२ रनमै समेटियो । मोहम्मद जैद आलम र दिलिप नाथलाई विराटनगरले शून्य रनमै पभेलियनको फर्किएको देखेपछि तनाव हुन पुग्यो । आलमलाई किशोरसिंह ऐरीले आउट गर्दा नाथ भने दिपेन्द्र सिंह ऐरीले रन आउट गरेका थिए । कप्तान प्रदीपसिंह ऐरीले २९ बल खेल्दै दोहोरो अंकको रन बनाउने क्रममा १० रनमै आउट भए । एकपछि अर्को गरी सस्तैमा आउट भएपछि दबावमा रहेको विराटनगरले सुनिल धमला १८, राजु रिजालले २५, पुनित मेहराले १५ रन बनाए । १६ रन अतिरिक्त थपियो । जितको नजिक पुगेपनि अन्तत ५ रनको हार व्यहोर्यो । धनगढी ब्लुजका कप्तन दिपेन्द्रसिंह ऐरी म्यान अफ दि म्याच घोषित भए ।