पोखरा पल्टनले दियो चितवन राईनोजलाई १०८ रनको लक्ष्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-व्याटिङमा शुरुदेखि नै धर्मराएको साविक विजेता पोखरा पल्टनले कप्तान शरद भेषवाकरको ४५ रनको योगदानमा चितवन राईनोसलाई १०८ रनको लक्ष्य प्रस्तुत गरेको छ । क्विन्स इभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालित नमस्ते पोखरा प्रिमियर लिगको मंगलबार खेलमा पोखरा पल्टनले टस हार्दै व्याटिङ गर्ने क्रममा १०७ रन बनाउँदा सवै विकेट गुमाउन पुग्यो ।

दोस्रो ओभरमै पहिलो विकेट गुमाएको पोखरा पल्टनका लागि कप्तान भेषवाकरले इनिङ सम्हाल्ने क्रममा तेस्रो नम्बरमा व्याटिङमा आएका थिए । कुशल भुर्तेललाई ५ रनमै गुमाएको पोखराले दोस्रो विकेटको रुपमा आशिफ शेखलाई गुमाउन पुग्यो । शेखले दुई चौका हान्दै सेट हुन खोजेपनि विक्रम शोबको बलमा सन्नी पटेलको हातबाट क्याच भए । चौथो विकेटको रुपमा आएका रवि इन्दरसिंह पनि पहिलो संस्करणमा जस्तो जम्न सकेनन् । कप्तान भेषवाकरसँग महत्वपूर्ण साझेदारीको अपेक्षा गरिएको थियो । यद्यपी सिंहपनि पारस खड्काको बलमा बोल्ड भएपछि कप्तान भेषवाकरमाथि दबाव सृजना भयो । भेषवाकरले ४५ रन बनाउने क्रममा ३९ बल खेल्दै ३ चौका र ३ छक्का हिर्काए ।

विनोद भण्डारीलाई पनि पोखराले दोहोरो अंकको रनविहीन अवस्थामै पभेलियन फर्किएको देखेपछि कुशल मल्ल १३ रनै आउट भए । एकपछि अर्को गर्दै विकेट झरेपछि दबावमा रहेको पोखराका लागि तीन व्याट्सम्यान रनविहीन रहे । रोहितकुमार पौडेल रन आउटको शिकार हुन पुगे । सन्नी पटेलले चार ओभरमा एक मेडन राख्दै १५ रन खर्चिएर २ विकेट लिए । रोहन मुस्तफा र भुवन कार्कीले पनि समान दुई विकेट नै लिए । १०८ रनको जवाफी व्याटिङमा चितवन राईनोज उत्रिएको छ ।