चितवन राईनोजको पहिलो जित, पोखरा पल्टन छ विकेटले पराजित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-सर्वजित लद्दाको खराब बलिङ । बाबर हायातको अर्धशतकीय पारी । चितवन राईनोजले पहिलो जित दर्ता गर्ने क्रममा पोखरा पल्टनलाई छ विकेटले पराजित गरेको छ । दोस्रो विकेटको लागि रोहन मुस्तफासँग २४ रनको साझेदारी गरेका बाबर हायातले ललित राजबंशीको चौथो ओभरको तेस्रो बलमा चौका हिर्काउँदै अर्धशतक पुरा गरेका थिए । रोहन व्यक्तिगत ११ रनमा आउट भएका थिए ।

सर्वजित लद्दाको प्रतियोगिताकै कमजोर बलिङ रह्यो । उनले ४ ओभरमा ४८ रन दिएर २ विकेट लिए । हङकङका हायातले ४२ बल खेल्दै ६६ रन जोड्दा ६ चौका र ४ छक्का समेत सामेल रह्यो । पारस खड्का र आरिफ शेख सस्तैमा आउट भएपछि इनिङलाई बावरले सम्हाले । बावरले पाँचौ विकेटको लागि सन्नी पटेलसँग ५० रनको साझेदारी गरे । पटेलले १८ बल खेल्दै २२ रन जोडे । एक चौका दुई छक्का हिर्काए । बावर हायात म्यान अफ दि म्याचको हकदार बने । चितवनले पहिलो ओभरमै अनिल साहलाई गुमाएपछि बावर हायात क्रिज छिरेका थिए । रोहन आउटभएपछि पारस खड्का ४ रनमा क्याच हुदाँ आरिफ शेख पनि १ रनमै पभेलियन फर्किएका थिए ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा नमस्ते पोखरा प्रिमियर लिग(पिपिएल)को दोस्रो सँस्करण अन्तर्गत मंगलबार टस हारेर व्याटिङमा उत्रिएको साविक विजेता पोखरा पल्टनले कप्तान शरद भेषवाकरको ४५ रनको योगदानमा चितवन राईनोसलाई १०८ रनको लक्ष्य प्रस्तुत गर्यो । शुरुदेखि नै व्याटिङमा धर्मराएको पोखरा पल्टनको इनिङलाई कप्तान भेषवाकरले सम्हाल्ने प्रयास गर्दै स्कोर उकासे । टस हार्दै व्याटिङ गर्ने क्रममा १०७ रन बनाउँदा सवै विकेट गुमाएको पोखरा पल्टनले ओभर भने पुरै खेल्यो ।

दोस्रो ओभरमै पहिलो विकेट गुमाएको पोखरा पल्टनका लागि कप्तान भेषवाकरले इनिङ सम्हाल्ने क्रममा तेस्रो नम्बरमा व्याटिङमा आएका थिए । कुशल भुर्तेललाई ५ रनमै गुमाएको पोखराले दोस्रो विकेटको रुपमा आशिफ शेखलाई गुमाउन पुग्यो । शेखले दुई चौका हान्दै सेट हुन खोजेपनि विक्रम शोबको बलमा सन्नी पटेलको हातबाट क्याच भए । चौथो विकेटको रुपमा आएका रवि इन्दरसिंह पनि पहिलो संस्करणमा जस्तो जम्न सकेनन् । कप्तान भेषवाकरसँग महत्वपूर्ण साझेदारीको अपेक्षा गरिएको थियो । यद्यपी सिंहपनि पारस खड्काको बलमा बोल्ड भएपछि कप्तान भेषवाकरमाथि दबाव सृजना भयो । भेषवाकरले ४५ रन बनाउने क्रममा ३९ बल खेल्दै ३ चौका र ३ छक्का हिर्काए ।

विनोद भण्डारीलाई पनि पोखराले दोहोरो अंकको रनविहीन अवस्थामै पभेलियन फर्किएको देखेपछि कुशल मल्ल १३ रनै आउट भए । एकपछि अर्को गर्दै विकेट झरेपछि दबावमा रहेको पोखराका लागि तीन व्याट्सम्यान रनविहीन रहे । रोहितकुमार पौडेल रन आउटको शिकार हुन पुगे । सन्नी पटेलले चार ओभरमा एक मेडन राख्दै १५ रन खर्चिएर २ विकेट लिए । रोहन मुस्तफा र भुवन कार्कीले पनि समान दुई विकेट नै लिए ।