चितवनले दियो बुटवल ब्लाष्टर्सलाई २०४ रनको लक्ष्य

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ३ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-पहिलो विकेटको लागि ११७ रन र तेस्रो विकेटको लागि ६९ रनको साझेदारी निभाएपछि चितवन राईनोजसले नमस्ते पोखरा प्रिमियर लिग फ्रेन्चाईज टी–२० क्रिकेटमा बुटवल ब्लाष्टर्ससलाई २०४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

चितवन राईनोजका ओपनिङको रुपमा आएका कप्तान पारस खड्का र रोहन मुस्तफाले पिपिएलमै पहिलो विकेटको लागि शतकीय साझेदारी गरे । खड्का र मुस्तफाले पहिलो विकेटको लागि गरेको शतकीय साझेदारी पिपिएलमै पहिलो हो । खड्काले ६३ र मुस्तफाले ३७ रन बनाउँदै ११७ रनको साझेदारी गरेका हुन् । पहिलो विकेट लिन बुटवलले ११.३ ओभर खर्चिएको थियो । महत्वपूर्ण साझेदारी गर्ने क्रममा खड्का अफ्ताबुद्धिन अहेमदको बलमा सोमपाल कामीको हातबाट क्याच भए । उनले ४० बल खेल्दै ६ चौका र २ छक्का हिर्काए । पारसपछि क्रिज सम्हाल्न आएका बावर हायात १ रनमै पभेलियन तर्फ फर्किए । रोहनले आरिफ शेखसँगको साझेदारीमै आफनो अर्धशतक पुरा गरे ।

तेस्रो विकेटको लागि १४ रनको साझेदारी गर्दै रोहनले पोखरा प्रिमियर लिग(पिपिएल)मा आफनो पहिलो अर्धशतक पुरा गरे । यद्यपी उनीहरुको जोडीले टुट्दा ६९ रनको साझेदारी निभाए । रोहनले अविजित रहने क्रममा ५६ बलको सामना गर्दै ७ चौका र दुई छक्का सामेल गराउँदै ७० रन बनाए । आरिफले १९ बलमा ४० रन जोड्ने क्रममा १ चौका र ३ छक्का हिर्काए । सोमपाल कामीको हातबाट अभिनाश बोहोराले आरिफलाई क्याच आउट गराउँदै साझेदारी टुटाई छाडे । रोहन र सन्नी पटेल अविजित रहे । सन्नीले दुई बलमा ४ रन बनाए । एक चौका हिर्काए ।

बुटवलका हरिबहादुर चौहानले एकै ओभरमा १६ रन खर्चिएर महंगा सावित भए । त्यही ओभरमा ६ रन अतिरिक्त थियो । हर्श टंकले पनि एकै ओभरमा १५ रन खर्चिएका थिए । पोखरेली बलर विपिन खत्रीले पनि दुई ओभरमा २४ रन दिएका थिए । अविनाश बोहोराले वाईडमा चौका दिएपछि ४ ओभरमा ४० रन दिएर १ विकेट लेखाए । शेर मल्लले पनि ४ ओभरमै विना विकेट ४० रन खर्चिए । file pic