दोस्रो जितसँगै काठमाडौंको प्ले अफ सम्भावना

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ५ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-विराटनगर टाईटन्सलाई ३६ रनले पराजित गर्दै नमस्ने पोखरा प्रिमियर लिगमा काठमाडौंले दोस्रो जित निकाल्दै प्ले अफ सम्भावनालाई बलियो बनाएको छ । पोखरा पल्टनसँग पहिलो दिनै पराजित भएको काठमाडौंले पछिल्लो दुई खेल जित्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिदै प्ले अफ सम्भावना जिवितै राखेको हो ।

टस जितेर व्याटिंग गर्न उत्रिएको काठमाडौंले पाँच विकेटको क्षतिमा १५९ रन बनायो । जयकृष्ण कोल्सावालको महत्वपूर्ण अर्धशतकीय पारीको इनिंग्स खेले । उनले कप्तान ज्ञानेन्द्र मल्लसँग ६६ रनको महत्वपूर्ण साझेदारी गरे । दुई पटक जीवनदान पाएका कोल्सावालले ४३ बलमा ५५ रन बनाउँदै ५ चौका र २ छक्का हिर्काए । कप्तान मल्लले पनि कप्तानी पारी खेल्ने क्रममा ४५ रन जोडे । ३३ बलमा ३ चौका र २ छक्का हिर्काए । अमित श्रेष्ठ १७, सुबोध भाटी १४ रनमा आउट हुदाँ अदिल खान १३ रनमा अविजिति रहे । पुनित मेहराले दुई विकेट लिए ।

१६० रनको लक्ष्य पछ्याएको विराटनगर १९.४ ओभर खेल्दै सबै विकेट गुमाउँदै १२३ रनमा समेटियो । सातौं नम्बरमा आएको पुनित मेहराले ५३ रन बनाउँदै जितको आशा जगाएपनि अन्य व्याट्सम्यानको फितलो प्रदर्शनले सम्भावना देखिएन् । महोमम्मद जैद आलम र सुनिल धमला समान १ रनमा आउट भएपछि कप्तान प्रदीप ऐरीले विकेट जोगाउँदै धैर्यतापूर्ण व्याटिंग गरे । उनले २९ रन बनाउने क्रममा २७ बल खेल्दै ४ चौका र १ छक्का हिर्काए । नोमन खानले २५ रनको योगदान गरे । सुबोध भाटीले ३ विकेट लिए । म्यान अफ दि म्याच भने जयकृष्ण कोल्सावाल घोषित भए । file pic