धनगढीको औपचारिक जित, साविक विजेता पोखरा पिपिएलबाट बाहिरियो

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष ७ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-सर्वजित लद्दाको बलमा अमित यादवले छक्का प्रहार गर्दै एक्सपर्ट धनगढीले पोखरा पल्टनलाई सोमबार ५ विकेटले पराजित गर्यो । नमस्ते पोखरा प्रिमियर लिग फ्रेन्चाईज टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत औपचारिकतामा सीमित खेल जित्ने क्रममा पोखरा पल्टनले दिएको ८० रनको लक्ष्य पछ्याएको धनगढीले ५ विकेट गुमाउँदै ९.१ अ‍ोभरमा पुरा गर्यो । चार अंक जोडेपनि प्ले अफ खेल्ने सम्भावना भने रहेन् । नेट रनरेटको आधारमा समान ४ अंक भएपनि काठमाडौं गोल्डेन्स वारियर्स रनरेटको आधारमा धनगढी भन्दा माथि छ ।

टस जितेर व्याटिङ रोजेको पोखरा पल्टनले आशिफ शेखको ३२ रनको योगदानमा ७९ रन बनाउँदा सबै विकेट गुमायो । १६.३ ओभर खेल्ने क्रममा पोखरा पल्टनका ९ व्याट्सम्यानको रन दोहोरो अंकमा छुन सकेनन् । विनोद भण्डारीले १२ रन बनाए । पहिलो संस्करणको पोखरा प्रिमियर लिगमा उत्कृष्ठ प्रदर्शन गरेको रविइन्दर सिंह दोस्रो संस्करणमा चल्नै सकेनन् ।

कप्तान शरद भेषवाकर ४, कुशल भुर्तेल ६, कुशल मल्ल २, कृष्ण कार्की १, रोहितकुमार पौडेल शून्य, पार्थमेश डाके २ र ललितनाथ राजवंश भने १ रनमै पवेलियनको बाटो समाएका थिए । अनिल खरेलले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिदाँ दिपक पुनिया, कमलसिंह ऐरी र सागर ढकालले समान २ विकेट लिए ।

रोड्रिगो थोमस र दिपक पुनियाले पहिलो विकेटको लागि महत्वपूर्ण साझेदारी गर्दै विना विकेटको क्षतिमा जित निकाल्ने सम्भावना देखिएपनि धनगढीले पाँच विकेट गुमाउन पुग्यो । थोमसले १५ रन बनाए । पुनियाले २५ रन हिर्काए । दिपेन्द्रसिंह ऐरीले पनि १३ रन बनाउदाँ सुभेन्दु पाण्डेले ११ रन जोडे । सर्वजित लद्दाले एकै ओभरमा दुई विकेट लिए । उनले २.१ ऋोभरमा २२ रन खर्चिएर २ विकेट लिएका थिए । पार्थमेश डाकेले पनि २ विकेट लिए । दिपक पुनिया म्यान अफ दि म्याच घोषित भए ।